भैलोको रकम असहायलाई

प्युठान । प्युठान नगरपालिका–४ विजुवार टारीका बालबालिकाहरूले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकम गरिब बालबालिका र एकल महिलालाई दिएका छन् ।

टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समूहले भैलोबाट संकलित रकम ४८ हजार रूपैयाँमध्ये ८० प्रतिशत रकम सामाजिक गतिविधिमा खर्च गर्ने र बाँकी २० प्रतिशत रकम आन्तरिक खेलकुद, भैलो, समीक्षा तथा चियापान कार्यक्रममा खर्च गरिने बालसमूहकी अध्यक्ष स्वीकृती सुवेदीले बताइन् ।

प्युठान टारीस्थित विपन्न परिवारकी बालिका ६ वर्षीया समीक्षा सुनारलाई ८ हजार बराबरको न्यानो कपडा, स्टेसनरी सामाग्री, प्रदान गरिएको छ । गरिब परिवारकी बालिकाको आर्थिक अवस्था कमजोर देखेर बाल समूहले सहयोग गरेको समूहकी अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

उनले भनिन्, ‘हाम्रो सानो सहयोगले बालिकाको पढाइमा थप हौसला मिल्नेछ ।’ त्यस्तै, नगरपालिकाभित्र पर्ने खानिखोला निवासी एकल महिला पिमा सुनारको हाल बसिरहेको घर जीर्ण भएकाले घर मर्मतको लागि भनेर समूहले नगद ५ हजार प्रदान गरेको छ ।

जीर्ण कच्ची घरमा बस्न नमिल्ने गरी भत्किएको र कुनै आर्थिक उपाए नभएकी एकल महिला सुनारलाई थोरै भए पनि सहयोग होस् भनेर सहयोग गरेको समूहकी अध्यक्ष सुवेदी बताइन् ।

बालसमूहले टारी क्षेत्रलाई सफा राख्न फोहोर व्यवस्थापनका लागि फोहर संकलन गर्ने स्ट्यान्ड बनाउने र विभिन्न समाजिक नारा लेखिएका बोर्डहरू ठाउँ–ठाउँमा राख्ने निर्णय गरेको छ । नयाँ र न्यानो कपडा, स्टेसनरी सामाग्री पाउँदा बालिका समिक्षा सुनार खुसी भएकी थिइन् । उनको परिवारले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया