शौच गर्न निस्कँदा सामूहिक बलात्कार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक दलित महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । महानगर–१८ भवानीपुर टोल सौराहाकी ४० वर्षीया दलित महिलालाई गाउँकै चारजना युवाको समूहले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

घटना ५ कात्तिकको भए पनि प्रहरीले अभियुक्त पक्राउ नगरेको भन्दै पीडितले दुखेसो पोखेका छन् । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दोषीहरूलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । राति १० बजेतिर शौच गर्न घरबाट निस्केकी महिलालाई स्थानीय ३५ वर्षीय मनोज साह तेली, ३० वर्षीय कृष्णा साह, २४ वर्षीय दिलीप सहनीले बलात्कार गरेको पीडितले भनिन् ।

अर्का ३५ वर्षीय आकाश साहले भने बलात्कारको भिडियो रेकर्ड गरेका थिए । पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुवरीमा लागेको मेलामा गएर फर्किएका उनीहरूले एक्लो देखेर आपूmलाई बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

शौच गर्न घरबाट निस्कँदा चारजना युवाद्वारा सामूहिक बलात्कार, घटनाको भिडियो बनाएर रकम मागेपछि मुद्दा दायर, घटनाको एक महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेन

घटना भएको २ दिनपछि भिडियो बनाएका आकाशले पीडित महिलालाई नगद २५ हजार रकम दिन माग गर्दै नदिए घटना सार्वजनिक गरिदिने धम्की दिएका थिए । पीडितले रकम नदिएपछि उनले सो भिडियो गाउँका केहीलाई देखाएपछि घटना सार्वजनिक भएको हो ।

घटनाको एकसातापछि गाउँका अगुवा महिलाको सहयोगमा पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइन् । नाम किटान गरेर उजुरी दिए पनि घटना भएको ३ साताभन्दा बढी बितिसक्दासमेत प्रहरीले आरोपीहरूलाई पक्राउ गर्ने नसकेको उनले दुखेसो पोखिन् ।

प्रहरीमा उजुरी दिएपछि आरोपीका परिवारले गाउँमै मिलाउन पीडितलाई दबाब दिन थालेका छन् । स्थानीय दलित अगुवा जयमंगल हाजराले घटना मिलाउन आरोपीका परिवारले आर्थिक प्रलोभन दिएको बताए । ‘घटनालाई मिलाउनका लागि आरोपीका आफन्तहरूले पीडित महिलालाई ५ लाख नगद र ५ कठ्ठा जग्गा दिने भन्दै मिलाउन दबाब दिँदै आएका छन्’, उनले भने ।

वडाका वडाध्यक्षले समेत आरोपीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी कार्यालयमा दबाब दिएका छन् । वडाअध्यक्ष कुर्मीले भने, ‘घटना भएको करिब एक महिना पुग्दा पनि प्रहरीले आरोपीलाई कारबाही गर्न नसक्नु निकै दुखद हो ।’

यस्तै, गाउँकी अगुवा महिला रूपा पाण्डेले पनि समुदायमा शिक्षाको हिसाबले पहुँच नभएको समुदायमा यस्तो जघन्य अपराध गर्नेलाई कारबाही हुनुको साटो अहिलेसम्म आरोपी नै नसमातिनु दुखद भएको बताइन् ।

यता, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जबरजस्तीकरणी गर्ने व्यतिmहरूमाथि मुद्दा दर्ता भईसकेको बताए । उनका अनुसार दोषीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको जानकारी दिए । पीडित महिलाको श्रीमान् ३ वर्षदेखि वैदैशिक रोजगारीमा कतारमा छन् ।

प्रतिक्रिया