हदबन्दीले बैठक प्रभावित

काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थप गर्ने वा तदर्थ समिति बनाउने विषयमा कांग्रेसमा सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन । पार्टीका नेतृत्व तहमै विवाद भएपछि निर्धारित समयभन्दा पाँच घण्टा ढिलो भएको बैठक पाँच मिनेट बस्दै
नेविसंघको कार्यकाल आइतबार मध्य रातमा सकिने भएकाले यस विषयमा पार्टी सभापति शेरबहादुर देउवाले विषय प्रवेश गराएका थिए ।

उनले म्याद थप गर्ने वा तदर्थ समिति बनाउने भन्ने विषयमा जानकारी गराएपछि बैठक स्थगित गरेका हुन् । देउवा पक्षले फागुन महिनासम्म म्याद थप गर्ने वा तदर्थ समिति बनाउने बारेमा जे सहमति हुन्छ त्यही निर्णय गर्ने भएका छन् ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने यो विषयमा विवादमा फसेको छ । जसका कारण शनिबारको बैठकमा दिनभर छलफल भए पनि सहमति जुट्न सकेको छैन । विशेष गरी ३२ वर्षे उमेर लागू गर्ने वा नगर्ने भन्नेमा पौडेल पक्षमा विवाद देखिएको छ । नेविसंघका विषयमा प्रवेश गरेलगत्तै बैठक स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शनिबारको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै आइतबार पुनः २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने गरी स्थगित भएको उनले बताए । ‘मिटिङ सौहार्द रूपमा सकियो । भोलिको बैठकले नेविसंघका दुईवटा विकल्पका बारेमा निचोड निकाल्नेछ ।

तदर्थ समिति गठन गरेर जाने वा विधानमा रहेको धारा खारेज गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय हुन्छ’, उनले भने । महासमिति बैठकका विषयमा राजनीतिक प्रतिवेदन बनाउन बनेको समितिको पोखराको कार्यक्रममा सभापति देउवा र जनकपुरको कार्यक्रममा वरिष्ठ नेता पौडेल जाने कार्यक्रम पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताए ।

शनिबार दिनभर भएको छलफल विवाद समाधान उन्मुख भने देखिएको नेताहरूले बताएका छन् । नेताहरूका अनुसार अघिल्लो बैठकमा नोट अफ डिसेन्ट लेखेका रामचन्द्र पौडेल सहितका चार नेताले उठाएको विषय सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएको छ । नेविसंघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेपछि प्रक्रिया नमिलेको भन्दै पौडेलसँगै प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीले फरक मत राखेका थिए ।

नेविसंघको वर्तमान कार्यसमितिले विधानको ३२ वर्षे उमेरहद हटाउन माउ पार्टीमा सिफारिस गरेको थियो । तर, कांग्रेसको अघिल्लो बैठकमा पूर्ण विधान पेस नगरी बहुमतका आधारमा ३२ वर्षे उमेर हदसम्बन्धी एउटा धारा मात्र पेस गरेर त्यसलाई लागू गर्ने निर्णय गरिएको थियो ।

नेविसंघले सिफारिस गरेको विधानमाथि छलफल गरेर पार्टीले निर्देशन दिनुपर्नेमा विधानको एउटा धाराबारे मात्र निर्णय गरेको भन्दै चार नेताले फरक मत राखे । तर, शनिबार भएको छलफलमा नेविसंघले पठाएको विधान आइतबारको बैठकमा पेस गर्ने र त्यसमा के के संशोधन गर्नुपर्ने हो, त्यसको निर्देशन दिने सहमति भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया