अलैँचीको मूल्य घट्दा किसान चिन्तित

ताप्लेजुङ । नेपालको प्रमुख निकासीजन्य नगदेबाली अलैँचीको मूल्य ह्वात्तै घटेको छ । पूर्वी पहाडी जिल्लामा राम्रो उत्पादन हुँदै आएको अलैँचीको मूल्य अहिले प्रतिकिलो ६ सय रुपैयाँमा झरेको छ ।

विगतमा २ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य घटेपछि किसान चिन्तित बन्न थालेका छन् । महिनौँसम्म गरेको मिहिनेत बिक्री गर्ने बेलामा मूल्य घटेपछि चिन्ता थपिएको अलैँची किसान हर्क गुरुङले बताए ।

३ वर्ष अघिसम्म प्रतिकिलो २ हजार बढी मूल्यमा बिक्री भएको अलैँची अहिले प्रतिकिलो ६ सयमा झरेपछि यसमा संलग्न कृषक र व्यापारी दुवै चिन्तित बनेका हुन् । कृषकले अलैँचीको बजार प्रवद्र्धनमा सरकारले छुट्टै नीति बनाउन माग गर्दै मूल्य प्रवद्र्धनका लागि सरकारी पक्ष नै अग्रसर हुनुपर्ने बताएका छन् ।

अलैँचीको भाउ वृद्धिका लागि सरकारीस्तर तथा व्यापारी र कृषकले समेत विशेष ध्यान दिनुपर्ने किसानको माग छ । ‘अलैँचीको भाउ बढाउनको लागि सरकारीस्तरबाट ध्यान दिनुपर्यो ।’ कृषक गरुङ भन्छन्, ‘साथमा कृषक तथा व्यापारीले पनि यसको वैकल्पिक वस्तु उत्पादनमा ध्यान दिनुपर्छ ।’

नेपालमा उत्पादन हुने अलैँचीमध्ये करिब ९८ प्रतिशत भारतलगायत तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । निर्यात हुने अलैँचीमा भारतले ५ प्रतिशत वस्तु सेवा कर (जिएसटी) र बंगलादेशले ३५ प्रतिशत कर लगाउँदै आएको छ । जसका कारण किसानलाई कम दाम दिएर व्यापारीले फाइदा उठाउने गरेका छन् ।

अलैँची व्यावसायी महासंघका महासचिव ओम बिमलीले अलैँचीलाई प्रशोधन गरी मुलुकमै विभिन्न वस्तु उत्पादन गर्न र तेस्रो मुलुक निर्यातका लागि सरकारले पहल गर्नुपर्ने बताए । ‘हामीले विशेष त दुईवटा कुरामा ध्यान दिनुपर्छ ।’

महासचिव विमलीले भने, ‘पहिलो हो तेस्रो देशमा निर्यातको प्रक्रिया र दोस्रो हो नेपालमै अलैँचीको विभिन्न सामग्री बनाएर नयाँ प्रोडक्ट बनाउनुपर्छ ।’ अलैँचीको खाली दाना मात्रै निर्यात हुनुले पनि अलँैची किसानलाई भाउ घट्दा निराश बनाएको विमलीको भनाइ थियो ।

आर्थिक वर्ष ०७४÷७५ मा पाँच अर्ब ५५ करोड रुपैयाँको ५४ लाख दुई हजार किलो अलैँची निर्यात भएको थियो । मुलुकका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैँची खेती हुँदै आएको छ । अलैँची निर्यातजन्य बहुमूल्य मसला बाली हो ।

१४ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । एकपटक रोपेपछि १५–२० वर्षसम्म यसले उत्पादन दिन्छ । नेपालमा पाँच प्रजातिको अलैँची खेती हुन्छ । अलैँची समुद्र सतहबाट ६ सयदेखि २१ सय मिटरसम्मको तुसारो, असिना नपर्ने, बढी ओसिलो छहारी भएको, उत्तर पूर्वी मोहडा भएको भिरालो, पानी नजम्ने, बढी पानी पर्ने पूर्वदेखि पश्चिमसम्मका सबै मध्यपहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिन्छ ।

नेपाल व्यापार एकीकृत रणनीतिले निर्यातको उच्च सम्भावना भएका प्रवद्र्धनका लागि छनोट गरेको वस्तुमा अलैँची समावेश छ । मुलुकभर १३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ भने करिब एक लाखभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् ।

प्रतिक्रिया