अस्ट्रेलियामा ३५ लाखमा ‘जात्रै जात्रा’

काठमाडौं । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’ को अस्ट्रेलियामा बिक्री सम्झौता भएको छ । चलचित्रको छायांकन भइरहेका वेला विदेश प्रदर्शन गर्ने गरी अस्ट्रेलियाबाट पहिलो खाता खोलेको हो । पप अप इन्टरटेन्मेन्ट र ‘हो र होइन होला’ इभेन्टले यो चलचित्रको अस्ट्रेलियामा ३५ लाखमा प्रदर्शन गर्ने गरी सम्झौता भएको निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

बेलायत, अमेरिका, हङकङ, कोरिया र जापान लगायतका देशमा समेत चलचित्र प्रदर्शनका लागि सम्झौता गर्ने गरी कुरा चलिरहेको निर्देशक भट्टराईले बताए । उनले भने, ‘चलचित्रको पहिलो प्रचार सामग्री सार्वजनिक भएसँगै विदेश प्रदर्शन अधिकार लिन धेरैजना उत्साहित भएको पाएका छौँ ।’ निर्माण पक्षका अनुसार विभिन्न कर्पोरेट कम्पनीसँगको सहकार्य र विदेश राइटको बिक्रीलाई आँकलन गर्दा चलचित्रको छायांकन नसकिँदै नाफामा जाने देखिन्छ ।

यस भट्टराईले नै निर्देशन गरेको चलचित्र ‘जात्रा’ ले अस्ट्रेलियामा राम्रो व्यापार गरेको थियो । अस्ट्रेलियामा बसोवास गरिरहेका नेपाली दर्शकले यो चलचित्रलाई औधी माया गरेको निर्माता बानियाँले बताए । त्यस्तै भट्टराईले निर्देशन गरेको अर्को चलचित्र ‘शत्रुगते’ ले सिड्नीमा मात्र १७ सो र अस्ट्रेलियाभर ४० भन्दा बढी हाउसफुल सोहरू गर्न सफल भएको थियो ।

आगामी १७ फागुनदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्र षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्माण भएको हो । यसै मितिमा अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ प्रदर्शनमा आउने तयारी रहेको छ । ‘जात्रै जात्रा’ मा बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।

प्रतिक्रिया