गोलभेँडाले पूरा गर्यो भुसालको सपना

पर्वत । जिल्लाको दक्षिणमा पर्ने बिहादी गाउँपालिका–१ वहाकीका ऋषिराम भुसाल पैसा कमाउने र घरपरिवारलाई सुख दिने मनसायका साथ ०६८ सालमा बिदेसिएका थिए । सोचेजस्तो नभएपछि जसोतसो गरी करिब चार वर्ष उनले विदेशमा बिताए । भनेजस्तो कमाई, हावापानी र सहिनसक्नु गर्मीका कारण उनी अन्ततः स्वदेशमै फर्किन बाध्य भए ।

अर्काको देशमा गुुलामी गर्नुभन्दा आफ्नै देशमा केही गर्ने मनसायका साथ फर्केका भुसालले सात रोपनी जग्गामा गोलभेँडा खेती गर्न सुरु गरे । सोही गोलभेँडाबाट पहिलो वर्षमा नै लगानी उठाउन सफल भए ।

‘विदेशमा चार वर्ष बसेँ तर गएको ऋणसमेत तिर्न सकिनँ’, भुसाल भन्छन्, ‘पहिलो वर्षमा नै केही विदेश जाँदा लागेको ऋण र गोलभेँडा खेती सुरु गर्दा लागेको एक लाख रुपैयाँ तिरेर केही पैसा बचत गर्न पनि सफल भएँ । हो, विदेशमा नै साहुको काम गरेर बसेको भए अहिलेसम्म आपैmँलाई खाने बस्नेबाहेक केही प्रगति हुने थिएन होला, वेलैमा आफूनै देश फर्केर यो पेसा अँगालेको हुनाले अहिले म मात्र होइन मेरो परिवारमा समेत खुसी छाएको छ ।’

गोलभेँडा बिक्री गरेर गत वर्ष मात्रै भुसालले १० लाखभन्दा बढी रुपैयाँ कमाउन सफल भएकोमा पाँच लाख खर्च भए पनि वर्षको पाँच लाख रुपैयाँ नाफा हुने उनले बताए । खाद्यबालीभन्दा तरकारीमा बढी फाइदा हुँदा आफू मौसमी र बेमौसमी अर्गानिक गोलभेँडा खेती तथा अन्य तरकारी खेतीप्रति आकर्षित भएको उनले बताएका छन् ।

भुसालले उत्पादन गर्ने गोलभेँडा सबै गाउँपालिकाभित्र नै खरिद हुँदै आएको छ । त्यति मात्र नभएर पछिल्लो केही वर्ष यता आफूले उत्पादन गरेको गोलभेँडा मागअनुसार गाउँपालिकाभित्र नै पुर्याउन मुस्किल परिरेहको भुसालको भनाइ रहेको छ ।

कृषकहरूले लगाएको गोलभेँडा बिक्री भएन, उचित अनुसारको बजार पाइएन भन्ने कृषकको गुनासो कहीँ कतै आए पनि आपूmले उत्पादन गरेको तरकारीमा भने कहिल्यै धोका खान नपरेको बताउने भुसालले सिँचाइको समस्या रहेको दुःखेसो सुनाए । यसरी हामीजस्ता गाउँमा नै केही गर्ने अभिप्रायःका साथमा बसेका युवाहरूलाई सरोकारवालाहरूले समन्वय गर्नसके केही नेपालीको विदेशी सपना त्यागेर स्वदेशमा नै रमाउने प्रेरणा मिल्ने भुसालको भनाइ रहेको छ ।

गाउँपालिका भित्रकै सबैभन्दा ठूलो कृषि फर्म भएका भुसालको सात रोपनी क्षेत्रफलमा रहेको सबै टनेलहरू हरिया तरकारीले भरिभराउ रहेका छन् । देशकै नमुना कृषक बन्ने उनको अठोट रहेको छ । निकै रहरलाग्दो र फराकिलो जमिनमा आकर्षक किसिमले व्यावसायिक तरकारी खेती गर्दै आएका भुसालले बिदेसिएका युवाहरूलाई विदेशी भूमिमा तातो घामपानी सहेर चर्को व्याजमा ऋण लिई विदेश जानुभन्दा आफ्नै स्वदेशमा कृषि पेसा अँगाल्दा राम्रो हुने अनुभवसमेत उनको छ ।

भुसालजस्तै प्रेम न्यौपाने, डण्डपाणि भुसाल र रुक्मांगत भुसाल लगायतका युवा वयस्क अहिले तरकारी खेतीमा व्यस्त रहेका छन् । त्यहाँका अहिले २० जनाभन्दा बढी कृषक व्यावसायिक कृषिमा लागेका छन् ।

प्रतिक्रिया