४० कित्ताको दरले सेयर पर्नसक्ने

दोलखा । सर्वसाधारणले ४० कित्ताका दरले सेयर प्राप्त गर्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले जनाएको छ । आयोजनाले दोसो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको सेयर ४० कित्ताका दरले प्राप्त गर्ने अनुमान गरिएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर बिक्री खुल्ला गरेकामा ६ गुणा बढी आवेदन परेको जानकारी दिए ।

देशभरका ३ लाख ४६ हजार १ सय ६६ आवेदकले सेयर खरिदका लागि आवेदन दिएका थिए । १ अर्ब ५० करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागिएको थियो । तर, आवेदन भने ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको परेको थियो ।

प्राप्त आवेदन दोहोरिएको अनुमान गरिएकाले अहिले आवेदन उपर प्रमाणीकरण गर्ने कार्य भइरहेको छ । प्रमाणीकरणपश्चात् सेयर बाँडफाँड सुरु गरिने प्रवक्ता न्यौपानेले बताए । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

पहिलो चरणमा दोलखा जिल्लावासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको थियो । दोलखावासीले आवेदन गरेको सेयर भने बाँडफाँड भइसकेको छ । जसअनुसार दोलखावासीले न्यूनतम ३० देखि अधिकतम १ सय ३ कित्तासम्म सेयर पाएका छन् ।

प्रतिक्रिया