मुलुकको आर्थिक विकासमा सुदूरपश्चिम

प्रदेश–७ को राजधानीको रूपमा सुदूरपश्चिम क्षेत्रको गोदावरी नगरपालिका अन्तर्गतको तेघरी क्षेत्रलाई वर्तमान प्रदेशसभाले राजधानीको रूपमा अनुमोदन गरिसकेको वर्तमान अवस्था भए तापनि त्यस क्षेत्रका केही राजनीतिक दल लगायतका समूहले आफ्नो विमति प्रकट गरेका छन्

आर्थिक विकास एवं समृद्धिको दृष्टिकोणबाट तुलनात्मक रूपमा मुलुकका अन्य क्षेत्रको दाँजोमा हालसम्म पछाडि परेको संघात्मक ढाँचामा अवस्थित प्रदेश–७ को सुदूर पश्चिमाञ्चल क्षेत्रलाई वास्तवमै आत्मनिर्भर बनाइ समृद्धिको मार्गमा सहभागी गराउनु अत्यन्त जरुरी भइसकेको छ ।

तर, यस महान कार्यका लागि सम्बद्ध क्षेत्रका स्थानीय बासिन्दा एवं राजनीतिक सहकर्मीहरूले द्वन्द्वगत मानसिकतालाई त्यागी आर्थिक विकास एवं समृद्धिप्रेमी अवधारणमा समाहित हुँदै कार्य गर्ने प्रयत्नसहितको प्रतिबद्धता जाहेर गर्न सक्नुपर्दछ । यस प्रकारका सकारात्मक कार्यलाई असल शुभसूचकको रूपमा लिन सकिन्छ ।

जसको प्रत्यक्ष प्रभाव स्वरूप राज्यले हासिल गर्ने भनिएको समृद्धिको लक्ष्यमा सुदूरपश्चिमाञ्चल तथा सम्बद्ध क्षेत्रका जनमानसलाई २१औँ शताब्दीको मुलुकको समृद्धिको यात्रामा काँधमा काँध मिलाइ क्रमबद्ध रूपमा अगाडि बढ्न सक्ने क्षमताको अभिवृद्धिले नै सम्बद्ध क्षेत्रले पनि संघीय गणतन्त्रात्मक नेपालको आर्थिक विकासका लागि समृद्धि भन्ने मूल मन्त्रलाई यथार्थमा नै परिणत गर्न आआफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्न सक्ने छन् भन्ने विश्वास यस क्षेत्रलगायत अन्य क्षेत्रलाई दिलाउनु आवश्यक देखिन्छ ।

आर्थिक विकासको नाममा केन्द्रिकृत अवस्थामा समेत केही हदसम्म भए पनि अन्य निरकुंश शासकको दाजोमा न्यून रूपमा भए पनि प्रजातन्त्रप्रेमी राजा वीरेन्द्र शाहबाट विकेन्द्रित अवधारणालाई अगाडि सार्दै क्षेत्रीय भेदको नाममा नेपाल राज्यलाई पाँच विकास क्षेत्रमा विभक्त गर्दै सेती तथा महाकाली अञ्चललाई सुदूरपश्चिमको नामाकरण गर्दै विभक्त गरिएको हो ।

अधिकांश सुदूरपश्चिमेलीहरूले केही अपवादबाहेक अन्य अवस्थामा प्रस्तुत सुदूरपश्चिमको नामलाई नै हालको परिवर्तित परिवेशमा समेत अत्यन्त प्रेमपूर्वक आत्मसात् गर्दै धेरै हदसम्म सम्बद्ध प्रदेशको विकासको खाका कोर्ने महत्वपूर्ण कार्यमा आफ्नो अमूल्य समय खर्चिइ आर्थिक विकास एवं समृद्धिका लागि लालयित हुनु आफँैमा सकारात्मक पक्ष मान्न सकिन्छ ।

किनकि, जुन नामले हालसम्म उक्त क्षेत्र परिचित रहेको छ त्यसलाई नै निरन्तरता प्रदान गर्दा उक्त क्षेत्रको महत्व अझ बढी चुलिने

सम्भावना रहन्छ । यस प्रदेशको जस्तै अन्य प्रदेशहरूले पनि आफ्नो विकास क्षेत्र अनुकूलको नामाकरणलाई यथास्थानमा राख्ने प्रयत्न गर्ने हो भने धेरै हदसम्म सम्बद्ध प्रदेशहरूको चिनारीका लागि कुनै पनि प्रकारको द्विविधा उत्पन्न हुने छैनभन्दा त्यति फरक नपर्ला ।

हालको परिवर्तित परिवेशमा नामाकरणको चिनारीमा अल्झिएर बस्नुभन्दा केन्द्रिकृत अवस्थामा रहेका सिंहदरबारका अधिकारलाई क्रमशः विकेन्द्रित गर्दै नेपाल राज्यको गाउँ–गाउँसम्म प्रत्यायोजन गर्न सकियो भने मात्र वास्तविक रूपमा मुलुकमा संघात्मक गणतन्त्र आएको अनुभूति आमनेपाली जनसमुदायले गर्न सक्नेछन् । तत्पश्चात्ः सम्बद्ध प्रदेशहरूका हरेक जातजाति, धर्म सम्प्रदायलाई मुलुकको आर्थिक विकासमा समाहित गर्दै समृद्धि खोज्नुलाई मूल चुरोको रूपमा लिन सकिन्छ ।

तर, त्यसो भन्दैमा मुलुकका सबै प्रदेशहरूले पूरातन् नामावलीलाई यथास्थितिमा नै राख्नुपर्छ भन्ने ध्येय पक्कै पनि होइन । वर्तमान अवस्थामा पनि नामाकरणको विषयलाई प्रमुख मुद्दाको विषय बनाइ एकआपसमा नौलो द्वन्द्व सिर्जना गर्नुभन्दा सम्बद्ध प्रदेशको प्राथमिकताको आधारमा रहनेगरी प्रदेशको राजधानी एवं चिनारी गर्नाले उक्त क्षेत्रको प्रमुख धार्मिक स्थल, पौराणिक महत्वका धरोहरलाई आधार मानी नामाकरण गर्ने प्रयत्न गर्ने हो भने अझ बढी वैज्ञानिक भई आन्तरिक द्वन्द्वलाई धेरै हदसम्म न्यूनीकरण गर्न कोशेढुंगा सावित हुने देखिन्छ ।

यसै क्रममा सुदूरपश्चिमको राजधानीको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार प्रदेश–७ को प्रदेश सभामा नै निहित रहेको छ । यो तथ्य प्रदेश–७ मा मात्र लागू नभई नेपाल राज्यको अन्य ६ प्रदेशको हकमा समेत यही व्यवहार लागू हुनेछ । यसै तथ्यगत विषयवस्तुलार्ई आधार मानी आपसी सहमतीय व्यवहारको पूर्णताले नै सम्बन्धित प्रदेशहरूमा शान्ति, स्थायित्व एवं समृद्धि सम्भव देखिन्छ ।

प्रदेश–७ को राजधानीको रूपमा सुदूरपश्चिम क्षेत्रको गोदावरी नगरपालिका अन्तर्गतको तेघरी क्षेत्रलाई वर्तमान प्रदेशसभाले राजधानीको रूपमा अनुमोदन गरिसकेको वर्तमान अवस्था भए तापनि त्यस क्षेत्रका केही राजनीतिक दल लगायतका समूहले आफ्नो विमति प्रकट गरेका छन् ।

किनकि, उक्त क्षेत्रमा बस्ती विकासको साथसाथै अत्यधिक प्राकृतिक सम्पदाको दोहनका कारण पर्नसक्ने सम्भावित नकारात्मक प्रभावको दुष्प्रभावलाई समेत औँल्याएको पाइन्छ । यदि, वास्तविकरूपमा नै नकारात्मक प्रभाव पर्ने भए सम्बद्ध क्षेत्रका राजनीतिक दललगायत अन्य पक्षहरूसँगको रचनात्मक सल्लाह एवं सुझाव पश्चात् मात्रै भावी रणनीति तय गर्नु युक्ति संगत कार्य मान्न सकिन्छ ।

हालसम्म कायम रहेको कैलाली जिल्लाको सदरमुकाम धनगढी उप–महानगरपालिका विकसित सहरको रूपमा त्यस प्रदेशमा विकास भइसकेको वर्तमान अवस्थामा वैकल्पिक सहर एवं मानव बस्ती विकासका हिसाबमा गोदावरी नगरपालिका अन्तर्गतका गेटा क्षेत्र पनि कतिपय अवस्थामा सम्भाव्यता बोकेको क्षेत्र हो ।

किनकि, पूर्व–पश्चिम राजमार्गमै अवस्थित गेटा क्षेत्रलाई यदि विकसित सहरको रूपमा विकास गराउन सम्भव भए सम्पूर्ण सुदूरपश्चिमेली जनताको भावनाको प्रतिनिधित्व बोध हुनसक्ने अवस्था कायम रहनसक्छ । क्षेत्राधिकारका हिसाबमा हेर्दा पनि तेघरी एवं गेटा गोदावरी नगरपालिका अन्तर्गतका क्षेत्रहरू नै हुन् ।

यसमा कसैको पनि द्विविधा उत्पन्न हुन सक्दैन । तराई क्षेत्रमा बर्सेनि पहाडी क्षेत्रबाट बसाइँसराइका कारण बढ्दै गएको उच्च जनसंख्याको चापलाई मध्यनजरमा राखी कार्य गर्ने हो भने आगामी निकट भविष्यमा नै तेघरी, गेटा आसपासका सम्पूर्ण क्षेत्रलगायत धनगढी उप–महानगरपालिका सम्पूर्ण क्षेत्रलाई समेटी संख्यात्मक आधारमा महानगरीय जनसंख्याको आँकडाअनुसार महानगरपालिकाको अवधारणामा समेत परिणत हुन सक्ने प्रशस्त आधारभूमिहरू खडा गर्न सम्बद्ध प्रदेशका सम्बद्ध क्षेत्रहरू सक्षम रहेका छन् ।

किनकि, नेपाल सरकारले पनि सम्भावित नगरोन्मुख गाउँपालिकालाई क्रमबद्ध रूपमा नगरपालिकामा रूपान्तरित गर्दै मुलुकलाई गाउँपालिका विहीन बनाउने योजना अगाडि सार्दै आएको छ ।

सुदूरपश्चिमका स्थानीय बासिन्दाहरूले अखण्ड सुदूरपश्चिमको नारालाई यथार्थमा परिणत गर्न गरेको समूहगत भावनाको प्रतिनिधित्वको रक्षा गरेको ज्वलन्त उदाहरणका रूपमा नामाकरणको ऐक्यबद्धतालाई लिन सकिन्छ । वर्तमान अवस्थासम्म पनि मुलुकको अन्य प्रदेशको तुलनामा आर्थिक विकास, जनचेतनाको अभाव, शान्त, शुशील एवं सरल प्रवृत्तिका समूहको अत्यधिक बाहुल्यता रहेको समाजको रूपमा यस क्षेत्रलाई लिन सकिन्छ ।

सुदूरका समाजमा केही अपवादबाहेक अन्य अवस्थामा गम्भीर प्रकृतिका असामाजिक घटनाहरूसमेत नघट्ने तथा अत्यधिक संख्यामा धार्मिक प्रवृत्तिमा रमाउने समूहको बाहुल्यता रहेको सुदूरपश्चिमेली सौम्य समाजको प्रतिनिधिमूलक प्रदेशको रूपमा प्रदेश–७ रहेको छ ।

मुलुकको विकासका निम्ति अख्तियारी गरेको संघीय अवधारणामा अवस्थित रहँदै औद्योगिक नगरीको रूपमा समेत औद्योगिक विकासको हब बन्नसक्ने प्रशस्त आधार भूमि भएको समस्त गेटा क्षेत्रको विकास एवं तेघरी र धनगढीको बीचमा राजधानीका लागि भएको द्वन्द्वात्मक मतभेदको अन्त्यको मिलन बिन्दुको प्रशस्त सम्भावनाहरू बोकेको गेटा क्षेत्रलाई सम्भावित सुदूरपश्चिमको राजधानीका लागि प्रदेश सभामा पुनः पेस गर्ने हो भने मिलनबिन्दु पहिल्याउन सकिने सम्भावनाहरू अझै जीवन्त रहेको छ ।

किनकि, यसै क्षेत्रमा क्षेत्रीय विमानस्थल लगायतका विकासका संरचनाहरूसमेत रहेको हँुदा समृद्धि हासिल गर्न लालयित भएका सुदूरका समाजलाई कुनै पनि हालतमा पृथक राख्नु भनेको नौलो द्वन्द्वको सूत्रपात गर्नु हो भन्न सकिन्छ ।

प्रतिक्रिया