ट्रेकिङ गाइड कि नाइके !

नेपालस्थित विदेशी राजदूतावासमा कार्यरत, विभिन्न दातृ निकायमा कार्यरत, आइएनजिओ÷एनजिओमा कार्यरतहरू पर्यटकहरू । यिनीहरू पनि आफूखुसी पर्यटक भएर घुम्न जाने त छँदै छन्

केही समयअघि ट्रेकिङ, ट्राभल, र्याफ्टिङलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुरहरूका सम्बन्धमा तलब बढेको भन्ने समाचार प्रकाशित भएको थियो । उक्त समाचारअनुसार हाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङलगायत क्षेत्रमा कार्यरत मजदुरहरूले खाइपाइ आएको तलब–भत्तामा सरकारले राजपत्र प्रकाशित गरेरै ६ गुणासम्म वृद्वि गरेको छ ।

स्मरण रहोस्, यस सम्बन्धमा नेपाल सरकारले ०७४ को माघ महिनामा राजपत्र प्रकाशित गरिसकेको छ । यसका लागि तालुकवाला मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गरेको थियो । स्मरणीय छ, विगत एक दशकभन्दा अघिदेखि सरकारले आधिकारिक रूपमा ट्रेकिङ, ट्राभल, र्याफ्टिङलगायत क्षेत्रमा कार्यरत मजदुरहरूको तलब-भत्ता बढाएको थिएन । तर, अझै पनि कतिपय ट्रेकिङ तथा भरियाहरूले सरकारले तोकेको दररेटभन्दा कम तलब भत्तामै सम्झौता गरेको देखिन्छ ।

तर, यो पंक्तिकारको प्रश्न भनेको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरूले किन अझै पनि ट्रेकिङ, ट्राभल, र्याफ्टिङलगायत क्षेत्रमा कार्यरत मजदुरहरूलाई उनीहरूको कामको प्रकृति र पदअनुसार किन सम्बोधन गर्दैनन्-गर्न चाहँदैनन् ? अथवा को बाट यस्तो गल्ती भइरहेको छ ? ताज्जुब यहाँनेर छ ।

किनभने, गत माघमा आएको साविकको ट्राभल तथा ट्रेकिङ नियमावलीको छैटौँ संशोधनले पनि कामदार र नाइके शब्द मात्रै राखेर सम्बोधन गरेको छ । ट्रेकिङ गाइडलाई गाइड भनी सम्बोधन गर्न कन्जुस्याइँ गरिएको छ । जस्तो ः ट्राभल तथा ट्रेकिङ नियमावली छैटौँ संशोधनको एक ठाउँमा भनिएको छ, ‘३ हजार ७ सय मिटरसम्मको उचाइमा जाने नाइकेले विगतमा दैनिक ३ सय रुपैयाँ पाउँदै आएकोमा अब दैनिक १ हजार ५ सय पाउनेछन् ।’

यो पंक्तिकारले माथिको प्रसंग किन उठाएको हो भने, स्वयं पंक्तिकार पनि ट्रेकिङ हो भने, ट्रेकिङ गाइड लाइसेन्स नम्बर–४२४२ ‘ग्रेड ए’ हो । त्यसैले, नेपालको विभिन्न क्षेत्रमा ट्रेकिङ जाने क्रममा यो लेखको लेखकले नेपालमा मुख्यतया तीन-चार प्रकारले विदेशी पर्यटकहरू नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न आउने गरेको देखेको अनुभव गरेको छ ।

१. व्यक्तिगत रूपमा आफै घुम्न जानेः
यस्ता पर्यटकहरू स्वयंले आआफ्नो आवश्यकताका सरसमान, खानेकुरो, लत्ताकपडा, आवश्यक अन्य सरसामानहरू जोहो गर्छन् । यस्ता पर्यटकहरूले आफ्नो सरसामान पनि सकेसम्म आपैmँ बोक्छन् । धेरै कम संख्याले कतैकतै भरिया लिएर जान्छन् ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको धेरै संख्या पनि यस्तै खालका विदेशी पर्यटकहरूको रहेको छ । यिनीहरूलाई ठेट नेपालीमा ‘झोले पर्यटक’ भन्ने गरिएको छ । होटल र लज सजिलै पाइने पदयात्रा क्षेत्रमा यस्ता पर्यटकहरू धेरै जाने गरेका छन् ।

२. ट्रेकिङ-ट्राभल कम्पनीमा दर्ता हुने तर, बाटोमा खाने बस्ने पैसा आफैँ तिर्नेः
यस्ता खालका पर्यटकहरू आफ्नो साथमा एजेन्सीबाट एकजना भरिया वा गाइड पनि लिएर जाने गर्छन् । नेपालमा यसरी पदयात्रामा जाने विदेशी पर्यटकको संख्या पनि धेरै छ ।

यस्ता खालका विदेशी पर्यटकहरू पनि नेपालमा सजिलै होटल, लज, होमस्टे आदि भएको ठाउँमा जाने गरेका छन् । यस्ता खालका पर्यटक पनि नेपालमा ठूलै संख्यामा आउने गरेका छन् भने यिनीहरू आफूखुसी घुम्न जाने ‘झोले पर्यटक’ हरूभन्दा केही गुणस्तरीय मानिन्छन् ।

३.अर्को परम्परागत रूपमा नेपालमा विदेशीहरूलाई खुला गरेदेखि नै गरिँदै आएको क्यापिम्ङ ट्रेकः
यसरी क्याम्पिङ ट्रेकिङ गर्ने विदेशी पर्यटकहरूले नै सुरुसुरुमा नेपालबारे विश्वलाई चिनाएका हुन् भन्न सकिन्छ । जे होस्, यस्तो ट्रेक गर्नका लागि जनशक्ति पनि धेरै नै चाहिन्छ । किनभने, कहाँसम्म पदयात्रा गरेर फर्कने हो ? कति दिन लाग्छ ? सोहीअनुसार हिसाब गरेर त्यति दिनसम्मका लागि खाने खाद्यान्न पुग्दो रूपमा लिएर जानुपर्ने हुन्छ ।

साथमा पर्यटक सुत्ने पाल (मिडिम टेन्ट), खाना पकाउने पाल (किचेन टेन्ट), पर्यटकलाई खुवाउने ठूलो पाल (डाइनिङ टेन्ट), पर्यटकलाई दिसापिसाब गराउने सानो र अग्लो पाल (ट्वाइलेट टेन्ट), सरदार, कुक र शेर्पाहरू सुत्ने पाल, पकाउन-तुल्याउन चाहिने मट्टीतेल वा ग्यास (पहिलेपहिले दाउराले नै पकाइन्थ्यो), भाँडाकुँडा (किचेन गियर) लगायत आवश्यक सरसामान पनि साथमै लानुपर्छ ।

यसो गर्दा एकजना पर्यटक बराबर ३, ४ वा ५ जनासम्म भरिया चाहिन्छ-चाहिन्थ्यो । अझैँ पनि माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, नुमला–बगाला पास, गोरखा जिल्लाको चुम उपत्यका, धादिङ, नुवाकोट, रसुवा वा गोरखा हुँदै गरिने रुवी भ्याली ट्रेक, गणेश हिमाल, गान्जाला पास, टाशीलाप्चा, हुम्ला, दार्चुला, मनाङको नार र फू क्षेत्र, खुम्बु क्षेत्रको कतिपय रुट, कञ्चनजंघा, मकालु, मिङमाला पास, शेर्पेनीकोल, अरुण भ्याली ट्रेक, नेपालको पूरै पूर्व–पश्चिम भएर गरिने ‘ग्रेट हिमालय ट्रेल’ ट्रेक, ट्रेकिङ पिकहरू चढ्न र ठूला हिमालहरू आरोहण गर्न जाने पर्वतारोहीहरूलगायत पदयात्रा गर्न चाहने पर्यटकहरूले क्याम्पिङ ट्रेक नै गर्नुपर्ने बाध्यता छँदै छ । हुन त माथि उल्लिखित केही क्षेत्रमा हाल कच्ची सडक र मौसमी रूपमा यातायातको पहुँच पनि पुगिसकेको छ ।

जे होस् यस्तो खालको पर्यटनले स्थानीय बासिन्दाहरूलाई आर्थिक रूपमा सुको फाइदा नभए तापनि (स्थानीय उत्पादनहरू जस्तै ः सागसब्जी, खोर्सानी, स्याउ, आलु, कुखुरा, सुँघुर, भेडा, बाख्रा, जाँड-रक्सी मातृभाषीहरूले ऐला, आराक, हाङ्मुवा, सेजङ्वा भन्ने गरेको बाहेक) रोजगारको हिसाबले भने यस्तो खालको पर्यटनबाट फाइदा नै भएको मानिन्थ्यो ।

४. अर्को खाले पर्यटकहरूः
नेपालस्थित विदेशी राजदूतावासमा कार्यरत, विभिन्न दातृ निकायमा कार्यरत, आइएनजिओ÷एनजिओमा कार्यरतहरू पर्यटकहरू । यिनीहरू पनि आफूखुसी पर्यटक भएर घुम्न जाने त छँदै छन् । साथमा आफ्नो देशका आफन्त, आफन्तका साथीभाइलगायतलाई पनि नेपाल घुम्न बोलाएर आफैँ गाइड भएर घुमाएर ल्याउँछन् ।

यसरी उनीहरू नेपालमा बसेर दोहोरो रूपमा पैसा कमाउँछन्, फाइदा लिन्छन् र यिनीहरूले नै नेपालमा रहेको बेरोजगारी, नेपालको कुनै पर्यटकीय क्षेत्रमा घुम्न गएका पर्यटकहरू उतै हराउने, त्यसरी हराएका पर्यटक सधैँका लागि बेपत्तासमेत हुने अनि नेपालमा हराएका पर्यटकका आफन्तहरू आफ्ना हराएका आमाबाबु, पतिपत्नी, छोराछोरी, दाजुभाइ जिउँदै वा मरेको (लास), त्यत्ति पनि नभए हराएको पर्यटकले लगाएको लुगा वा धरोसम्म मात्रै भेट्टाए पनि हजारौँ डलर वा लाखौँ नेपाली रुपैयाँ पुरस्कार दिने भनी रुँदै, कराउँदै र बिलौना गर्दै नेपाल आउने अवस्थाको अन्त्य गर्न सकिन्छ कि ? भनेर ‘एक पर्यटक एक नेपाली’ को नीति पो लागू गर्ने हो कि ? भनी बहस र छलफल चलाउँदै गर्दा पर्यटकको मानवअधिकार हनन् हुने कुरो जोडदार रूपमा उठाउने गर्छन् ।

फेरि, पनि माथिका बुँदागत टिप्पणीपछि यो पंक्तिकार के प्रस्ट पार्न चाहन्छ भने, नेपाल सरकारले ऐन, कानुन, नियम, विनियम, नियमावली आदि जारी गर्दा अबका दिनमा नेपाल सरकारको आधिकारिक निकायमा तालिम गरेर लाइसेन्स लिएका पथ प्रदर्शक वा गाइडलाई पथ प्रदर्शक वा गाइड भनी सम्बोधन गरून्, नाइकेहरू ! किनभने, विश्वव्यापी मान्यता र भनाइ के छ भने, पर्यटकलाई गाइड गर्ने जुनसुकै देशका गाइडहरू पनि फगत गाइड मात्रै नभएर उनीहरू आफ्नो देशका लागि अवैतनिक राजदूतसमेत हुन् । हुुन पनि जुनसुकै देशका पर्यटक गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशबारे जति धेरै र तथ्यमा आधारित भएर बताउन सक्यो, उति नै देशलाई फाइदा पुग्छ ।

त्यसैले, ट्राभल तथा ट्रेकिङ नियमावलीमा तुरुन्तै सातौँ संशोधन गरेर पर्यटकका गाइडहरूलाई अहिलेसम्म फगत नाइके भनेको÷सम्झेकोमा क्षमा याचना गर्दै नाइके होइन, गाइड हुन्, त्यति मात्रै होइन, उनीहरू नेपालका सद्भावना र अवैतनिक राजदूतसमेत हुन् भनी सम्बोधन गरौँ ! किनभने, नाथमले दिने ट्रेकिङ गाइड ट्रेनिङमा त्यही भनी पढाइएको थियो भने ट्रेकिङ गाइडको हैसियत नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) सरह हुन्छ । भनी सम्झाइने गरिन्छ, तालिमेहरूलाई । भनेपछि नेपाल सरकार र सरकारी कर्मचारीहरूलाई ट्रेकिङहरूलाई ट्रेकिङ गाइड भन्न किन गाह्रो भएको हो ?

प्रतिक्रिया