चिह्न र राजसंस्थामा विवाद

काठमाडौं । तीन खेममा विभाजन रहेका पूर्व–पञ्चहरूको पार्टी एकता तत्कालका लागि टरेको छ । राष्ट्रिय सभा गृहमा सोमबार दिउँसो पार्टी एकताका लागि भन्दै हल बुक गरे पनि अन्तिम समयमा चुनाव चिह्न र राजसंस्थाका विषयमा कुरा नमिलेपछि एकता टरेको हो ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपती शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच चुनाव चिह्नको विषयमा कुरा नमिल्दा पूर्वपञ्चहरूको एकता तत्कालका लागि भाँडिएको छ ।

आइतबार अपरान्ह राजधानीको एक होटलमा भएको छलफलमा राप्रपाले हिन्दू राष्ट्र, राजसंस्था र गाई चुनाव चिह्न बटम लाइन भएको बताएपछि वार्ता भाँडिएको हो ।

हिन्दू राष्ट्र, राजसंस्था र गाई चुनाव चिह्न बटम लाइन भएको राप्रपाको अडान, राप्रपा प्रजातान्त्रिकले भने चुनाव चिह्न हलो हुनुपर्ने अडान राखेपछि तत्काल एकता प्रक्रिया अवरुद्ध

राप्रपा प्रजातान्त्रिकले भने चुनाव चिह्न हलो हुनुपर्ने र राजसंस्थालाई तटस्थ बनाएर लैजानुपर्ने बताएको थियो । तीनै दलका शिर्ष नेता करिब एक घण्टा वार्तामा बसेपनि आ आफ्ना अडान नछाड्दा सहमति जुट्न नसकेको हो । वार्ताले परिणाम दिन नसकेपछि थापाले केन्द्रीय समिति बैठकमा एकता भाँडिएको जानकारी गराएका थिए ।

पार्टी एकीकरणपछि नेतृत्व र नीति तथा कार्यक्रममा सहमति भएको भएपनि चुनाव चिह्नलाई लिएर विवाद भएपछि एकीकरण पर सरेको एक नेताले बताए । एकीकृत पार्टीमा तीन अध्यक्ष रहने र नेता लोकेन्द्र बहादुर चन्दलाई पार्टीको संरक्षक नेता बनाइने सहमति गरी एकताको मिति औपचारिक रूपमा घोषणा गर्ने दिन नै एकता भाँडिएको छ ।

राप्रपाका अध्यक्ष थापाले समान विचारधारा भएका दलसँग एकताको ढोका खुला भए पनि हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र, चुनाव चिह्न गाई बटमलाइन भएको बताएका छन् । भेटवार्तापछि उनले एकता महधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिह्न बटमलाइन भएको बताएका हुन् ।

‘समान विचारधारा भएका दलसँग एकताको ढोका खुला राख्दै सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको जगमा सबल र सम्बृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढिरहने छ’, थापाले भने, ‘एकता महाधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिह्न हाम्रो बटमलाइन हो ।’

यसअघि तीन पार्टीमा विभाजित भएका नेताहरूलाई ७१ सालमा महाधिवेशनपछि दिएको जिम्मेवारीमा यथावत फर्काइनेसमेत समति भएको थियो । पार्टी विधानबमोजिम केन्द्रीय समितिमा थापाले ५० प्रतिशत, राणाले ५० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने र राप्रपा राष्ट्रवादीतर्फका नेतालाई पनि उचित स्थान दिइने सहमति भइसकेको थियो ।

यसअघि पनि एक भएर पुनः विभाजित भएका थिए । तत्कालका लागि पार्टी एकता रोकिए पनि पूर्ण रूपमा ढोका बन्द भने नभएको सबै नेताहरूले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया