सम्झिए महाकवि देवकोटा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रवचन, कविता वाचन तथा पुस्तक परिचर्चा गरिएको छ ।

‘म रंगीचंगी छु वसन्त छोरो
म जन्मिएँ कोकिलले कराई ।
झुसिल्किराको सपना सिंगारी
दिए पखेटा प्रभुले मलाई’

कविता वाचन गरेर कार्यक्रममा सुरु गरिएको थियो । विसं २०१७ सालमा प्रकाशित महाकवि देवकोटाको ‘बाल–कविता, संग्रह भाग २’ मा समावेश ‘पुतली’ शीर्षकको यो कविता कवि प्रभा भट्टराईले वाचन गरेकी थिइन् । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा देवकोटालाई सम्ँझिदै कवि मातृका पोखरेलले ‘नक्कली हावा’ शीर्षकको कविता सुनाए ।

कार्यक्रममा कविहरू मित्रलाल पंगेनी ‘जिउँदो छँदै खान देऊ,’ सुलोचना मानन्धर ‘मेरो कविता’, र अनिता लामाले ‘गुलाब’ कविता वाचन गर्दै महाकवि देवकोटालाई सम्झिए । महाकवि देवकोटा नेपाली साहित्यका विराट व्यक्तित्व भएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

उनले भने, ‘महाकवि देवकोटा एकेडेमीको परिकल्पनाकार पनि हुनुहुन्थ्यो, यसको स्थापनासँग जोडिएकाले पनि हामी उहाँलाई विभिन्न सन्दर्भमा सम्झिन्छौँ ।’

देवकोटाले साहित्यबाट नेपालको गौरवगान गाएको बताउँदै प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले भने, ‘देवकोटाका कृतिलाई अन्य भाषामा अनुवाद गर्दै अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुपर्दछ ।’

त्यस्तै, कार्यक्रममा डा। अमर गिरीले महाकवि देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘देवकोटा नेपाली साहित्यका विराट् व्यक्तित्व हुन् । उनले नेपाली साहित्यमा जे जति योगदान दिएका छन्, त्यो धेरै महत्वपूर्ण छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा। कृष्णप्रसाद ओलीले नेपाली साहित्यलाई उचाइमा लैजान महाकवि देवकोटाको भूमिका अतुलनीय रहेको भनाई व्यक्त राखे ।

देवकोटाबाट साहित्य क्षेत्रमा आउन चाहने नयाँ पुस्ताले धेरै विषय सिक्नुपर्ने प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले बताए ।

उक्त कार्यक्रमको सन्दर्भ पारेर सिक्किमका साहित्यकार शङ्करदेव ढकालले लेखेको भुटानी शरणार्थीसम्बन्धी उपन्यास ‘किरायको कोख’ सार्वजनिक गरियो ।

कृतिको कुलपति उप्रेती र पूर्वकुलपति बैरागी लगायतले संयुक्त रूपमा विमोचन गरे । उक्त कृतिमाथि टिप्पणी गर्दै डा। हेमनाथ पौडेलले नेपाली उपन्यासको क्षेत्रमा ‘किरायको कोख’ नयाँ विषयवस्तुमा आधारित रहेको जिकिर गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिक्किम शाखाले प्रकाशित गरेको उक्त कृतिमा भुटानी शरणार्थीका कथा, व्यथा र सामाजिक जीवनलाई उधिनिएको छ ।

प्रतिक्रिया