एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड रकम बराबरको साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । चालु आवको हालसम्म २५ वटा संगठित संस्थाले साधारण सेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन । साधारण सेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० संगठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन । दुई संस्थालाई थप कागजात पेस गर्न सूचित गरिएको छ ।

यस्तै, प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण सेयर निष्कासन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए ।

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात संगठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेस गरेका छन् । त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेस गर्न भनिएको बोर्डले जनाएको छ ।

आवेदन दिएकामध्ये साधारण सेयर बिक्रीका लागि आवेदन दिएका गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन । चालु आवको पहिलो त्रैमासमा ११ संगठित संस्थाले साधारण सेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन् ।

गत आवको सोही अवधिमा १९ संगठित संस्थाको निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए । सोही अवधिमा दुई संगठित संस्थाले हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका छन् । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ संगठित संस्थाको हकप्रद सेयर निष्कासन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको देखिएकाले हकप्रद सेयर निष्कासनमा कमी आएको छ ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा तीन लघुवित्त वित्तीय संस्थालाई १६ करोड ९० लाख रकम बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ । त्यस्तै हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको छ संस्थाको हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ ।

हकप्रद निष्कासनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेस नगरेको बोर्डको भनाइ छ । गत आवमा सोही अवधिमा जम्मा १४ कम्पनीलाई पाँच अर्ब ९८ करोड बराबरको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको थियो । बोर्डले चालु आवको तीन महीनामा दुई संगठित संस्थालाई तीन अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ । गत आवको सोही अवधिमा ऋणपत्र निष्कासन गर्न कुनै पनि संगठित संस्थाले निवेदन पेस गरेका थिएनन् ।

त्यसैगरी, बोर्डले १७ संगठित संस्थालाई पाँच अर्ब ७६ करोड रकम बराबरको बोनस सेयर दर्ता गर्न स्वीकृति दिएको छ । सार्वजनिक निष्कासन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटो छरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली ०७३’ तथा ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको पाँच दिनभित्र अनुमति दिने गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रतिक्रिया