लक्ष्मी खुसी बनाउन कालोधनको प्रदर्शन

बदमासी गरेर सम्पत्ति कमाउने र लक्ष्मीलाई खुसी पार्ने भन्दै अन्धाधुन्ध खर्च गर्ने विकृतिको अन्त्य हुनु जरुरी छ । कालोधन थुपोर्नु आफैँमा पाप हो भने कालो धनको प्रदर्शन गर्नु महापाप हो । कालो धन मात्रै होइन सेतो धन समेत अनावश्यक रूपमा प्रदर्शन गर्नु पाप हो । धनको प्रदर्शन तथा घमण्डले ईश्वर खुसी हुँदैनन् बरु यस्ता व्यक्तिलाई ईश्वरले दण्डित गर्छन् भन्ने कुरा धार्मिक ग्रन्थमा पनि उल्लेख छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्मका पाँच दिनलाई तिहार पर्वका रूपमा मनाउने नेपाली परम्परा छ । यी पाँच दिनलाई यम पञ्चक पनि भनिन्छ । यस वर्षको तिहार सोमबारदेखि सुरु भएको छ । तिहारको पहिलो दिन त्रयोदशीलाई कागतिहार, दोस्रो दिन चर्तुदर्शीलाई कुकुर तिहार, तेस्रो दिन औंसीलाई गाई तिहार, चौथो दिन परेवालाई गोरु तिहार र पाँचौ दिन द्वितीयालाई भाइ तिहारका रूपमा मनाउने नेपालको मौलिक परम्परा छ । यम पञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन गोवत्स द्वादशी पर्दछ । यो तिथिमा बाच्छो सहितको गाईको पूजा गर्ने धार्मिक विधान छ तर यो विधान प्रचलनमा भने छैन ।

तिहार पर्वलाई खस आर्य समुदायले दोस्रो ठूलो चाडका रूपमा र काठमाडौं उपत्यकाको नेवार समुदायले मुख्य चाडका रूपमा मनाउँदै आएको देखिन्छ । तिहार पर्वलाई हिन्दू धर्मालम्बीहरूको चाडका रूपमा पनि लिने गरिन्छ । तर नेपाली बाहेक अन्य हिन्दूहरूले तिहार पर्वलाई खासै महत्व दिएको पाइन्न । भारतीय हिन्दूहरूले तिहारको तेस्रो दिनलाई दिपावलीका रूपमा मनाउँछन् । अरू चार दिनलाई उनीहरूले खासै महत्व दिएको पाइन्न ।

नेपालका सन्दर्भमा नेवार समुदायले तिहारको चौथो र पाँचौ दिनलाई विशेष रूपमा मनाउँछन् । तिहारको चौथो दिन अर्थात् गोवर्धन पूजाको दिन नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । नेपाल सम्वतको नयाँ वर्ष गोर्वधन पूजाकै दिन सुरु हुन्छ । यस दिन नेवार समुदायले म्ह पुजा अर्थात आफ्नो शरीरको पूजा गर्छन् । भाइ टिकाको परम्परा अन्य जनजाति समुदायमा पनि छ ।

बौद्धधर्म मान्ने नेवारहरूको समेत मुख्य चाड तिहार हो भन्ने यर्थाथता हुँदा हुँदै सरकारी स्तरबाट शुभकामना दिँदा ‘हिन्दूहरूको महान चाड दिपावली’ भन्ने गरिएका कारण पनि केही भ्रमहरू छन् । पहिलो कुरा तिहार हिन्दूहरूको नभएर नेपालीहरूको महान चाड हो । दोस्रो कुरा दीपावली भनेको तिहारका पाँच दिनमध्येको एउटा दिन हो । तिहार शब्दले पाँचै दिनको प्रतिनिधित्व गर्छ भने दिपाली शब्दले एक दिनको मात्रै प्रतिनिधित्व गर्छ । हिन्दूको महान चाड दिपावली भन्नु नेपालीको मौलिक चाड तिहारमाथिको अतिक्रमण हो ।

यमपञ्चकको पाँचाँै दिन आफ्ना दिदी बहिनीले दाजुभाइको र्दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र शिरमा नयाँ टोपी लगाई दिने र दाजु भाइले आफ्नो गच्छेअनुसारको दक्षिणा दिने परम्परा मधेसी बाहेक के हिन्दू, के बौद्धमार्गी, नेपालका सबै जाति तथा समुदायमा छ । हिजो आज दाजुभाइको शिरमा नयाँ टोपी लगाइदिने प्रचलन घट्दै गएको छ ।

टोपीको सट्टा दाजु भाइलाई आफ्नो गच्छेअनुसार नयाँ लुगा उपाहर दिने प्रचलन पनि सुरु भएको छ । समयक्रममा यस्ता प्रचलन परिवर्तन हुँदै जानु स्वभाविक हो । तिहार पर्वको अर्को रमाइलो सांस्कृतिक पर्व भनेको देउसी भैलो र जुवा तास पनि हो । विशुद्ध मनोरञ्जनका लागि खेलिने देउसी भैलो तथा जुवातासको परम्परामा विकृति बढ्दै गएको छ । यस्ता विकृतिलाई निरुत्साहित बनाउँदै लैजानु पर्छ ।

चाड पर्वका नाममा आफ्नो आर्थिक दम्भ प्रदर्शन गर्ने विकृति पछिल्ला समयमा बढेर गएको छ । खासगरी, तिहार पर्वमा आर्थिक दम्भ प्रदर्शन गर्ने क्रम धेरै नै देखिएको छ । सर्वसाधारणलाई एक वर्ष बाल्न पुग्ने बिजुलीको खपत नव धनाढ्यहरूले एक रातमै खर्च गर्ने गरेका छन् । एउटै घरमा लाखौँका पटका पड्काएर ध्वनी प्रदुषण गरिन्छ । सबैभन्दा बढी पटका प्रहरी तथा उनीहरूका आफन्तको घरमा पढ्काइन्छ ।

घर झिलीमिली पार्नका लागि करोडौँ रूपैयाँका विद्युतीय उपकरणहरू खरिद गर्नेहरूको पनि कमी छैन । यस वर्षको तिहारमा मात्रै ५२ करोड रूपैयाँको झिलिमिली बत्ती आयात भएको रेकर्ड छ । पटाका आयातमा त्यति नै खर्च हुने गर्छ । बद्मासी गरेर सम्पत्ति कमाउने र लक्ष्मीलाई खुसी पार्ने भन्दै अन्धाधुन्ध खर्च गर्ने विकृतिको अन्त्य हुनु जरुरी छ ।

कालोधन थुपोर्नु आफँैमा पाप हो भने कालो धनको प्रदर्शन गर्नु महापाप हो । कालो धन मात्रै होइन सेतो धनसमेत अनावश्यक रूपमा प्रदर्शन गर्नु पाप हो । धनको प्रदर्शन तथा घमण्डले ईश्वर खुसी हुँदैनन् बरु यस्ता व्यक्तिलाई ईश्वरले दण्डित गर्छन् भन्ने कुरा धार्मिक गन्थमा पनि उल्लेख छ । महाभारतको एउटा प्रसंग यहाँनेर सान्दर्भिक हुन्छ ।

पाण्डवहरूले युधिष्ठिर राजा हुनासाथ सर्वोत्तम यज्ञ ‘राजसूय यज्ञ’ गरेका थिए । यज्ञ सकिएपछि अति धेरै दक्षिणा बाँडिएको थियो । यज्ञमा साक्षात् भगवान् श्रीकृष्ण उपस्थित हुनु हुन्थ्यो । भारद्वाज लगायतका असंख्य विद्वान् ऋषिमुनिहरूको पूरै समाज नै उपस्थित थियो । एक महिनासम्म यज्ञ गरेर त्यो यज्ञलाई विधिपूर्वक समापन गरिएको थियो ।

यत्रो यज्ञ गर्दागर्दै पनि पाण्डवहरूले अति धेरै कष्ट भोगे । वनवास जानुप¥यो । द्रौपदीले दुःखमा रहनुप¥यो । जुवामा सर्वस्व हार्नुप¥यो । सबैले विराट राजाका घरमा नोकरी गर्नु पर्यो । किचकले द्रौपदीलाई दिनु दुःख दियो । भरिभराउ राजसभामा द्रौपदीलाई नंग्याउन खोजियो, कसैले यसको विरोधमा एकशब्द मुखबाट निकालेनन् । त्यत्रो यज्ञको फल खोई कता गयो त ?

युधिष्ठिर आफैँ महान् सत्यवादी थिए । सबै पाण्डव देवताको अंश लिएर जन्मेका थिए । श्रीकृष्ण साथमा थिए । तैपनि किन तिनले त्यतिविघ्न कष्ट झेल्नुप¥यो त ? किनकि, त्यो राजसूय यज्ञमा खर्च गरिएको धन अन्यायपूर्वक कमाइएको धन नभए पनि हामीले सबैलाई वशमा पा¥यौँ, को छ र अब हामीसँग बराबरी हुन खोज्ने भनी अभिमानपूर्वक गरिएको यज्ञ थियो । यसरी युद्धमा लुटिएको वा जबरजस्ती बटुलिएको धन खर्च गरिएको हुनाले त्यो यज्ञमा द्रव्यशुद्धि पनि भएन अनि घमण्ड गरी गरिएको हुनाले आत्मा शुद्धि पनि भएन । फलतः पाण्डवहरूले उल्टो फल पाए ।

यसैले कुनै धार्मिक कार्य गरेर पनि उल्टो वा नराम्रो फल पाइन्छ भने विशिष्ट ज्ञानी विद्वानले ‘गरिएको कर्ममा कुनै न कुनै त्रुटि भएको छ’ भनी सोच्नुपर्दछ ।
देवी भागवतको तृतीय स्कन्ध, अध्याय १२ मा भनिएको छ

अन्यायोपार्जितेनैव कर्तव्यं सुकृतं कृतम् ।
न कीर्तिहि लोके च परलोेके न तत्फलम् ।।

भावार्थः अन्यायपूर्वक कमाइएको धनले जे–जस्ता पुण्यकर्म गरिन्छन्, त्यस्तो कर्मले न यो लोकमा कुनै कीर्ति दिन सक्छ न त परलोकमा नै उसलाई कुनै फल प्राप्त हुन्छ ।

तस्मान्न्यायार्जितेनैव कर्तव्यं सुकृतं सदा ।
यशसे परलोकाय भवत्येव सुखाय च ।।

भावार्थः अतः यस लोकमा यश र परलोकमा सुख पाउनका लागि न्यायपूर्वक कमाइएको धनले नै पुण्यकर्महरू गर्नु पर्दछ ।
संस्कृतिमा हामी नेपाली जति धनी छौँ, विकृति पनि त्यति नै धेरै बोकेका छौँ । संस्कृतिका राम्रा पक्षलाई त्याग्दै जाने र विकृत पक्षलाई बढावा दिँदै जाने प्रचलन बढेको छ । अझै पनि सुत्केरी हुँदासमेत पेटभरी खान नपाउने महिलाहरूको संख्या मुलुकमा उल्लेख्य छ ।

नवजात शिशुले पेटभरी दूध खान नपाउने अवस्था छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर तिहारका अवसरमा मनोरञ्जन भन्दै अर्बाैं रूपैयाँका पटाका आयात गरिन्छन् । झिलिमिली बत्तीका लागि पनि अर्बौं रूपैयाँ विदेसिने गरेको छ । भ्रष्टहरूले लक्ष्मी खुसी पार्न गरेको यो देखासिखी अरूले पनि गरेको देखिन्छ ।

प्रतिक्रिया