सिंहदरबारमा एक दिन

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा बनाउन लगाएका थिए । अहिले गाउँ–गाउँमा भएको सिंहदरबार पनि केही मात्रामा निजी निवासका रूपमा देखा पर्न थालेका छन् । गाउँमा खोजेको भाडाको सिंहदरबारको छाँटकाट र नेताको चहल पहलले काठमाडाैं भन्दा कम देखिएन ।

गाउँ-गाउँमा सिंहदरबार आएपछि म भने आफू जन्मेको जिल्ला बझाङ पहिलोपटक पुगेको थिए । सिंहदरबार गाउँमा सरेको लगभग सत्र महिना पछि दशै विदा मनाउन जाँदा सिंहदरबारको दर्शन गर्ने मौका पाएको हुँ । मेरो गाउँको सिंहदरबारमा मेरा आफन्तकै हालिमुहाली छ । गाउँको सिंहदरबारमा आफ्ना आफन्त भेट्दा काठमाडौंको सिंहदरबारमा नेता भेटेको छनक पाए । गाउँमा खोजेको भाडाको सिंहदरबारको छाँटकाट र नेताको चहल पहलले काठमाडांै भन्दा कम देखिएन ।

काठमाडाैं बस्दा राणाहरूले बनाएको सिंहदरबार हेरेको गाउँ गएपछि गणतन्त्रवादी राजाहरूले भाडामा खोजेको सिहंहरबार हेर्न पाउदा अलिकति खुसी त भएकै हुँ । पहिलो चरणको निर्वाचन ०७४ वैसाख ३१ गते सम्पन्न भएपछि सिंहदरबार गाउँमा सरेको घोषणा गरीएको थियो तर सिंहदरबार भने काठमाडाैंमै उभिरहेको छ ।

निर्वाचनका वेला गरेका यहि राष्ट्रवादी नाराको मौका छोपेर मेरा आफन्त पनि गाउँको सिंहदरबारमा पसेका हुन् । हुन त सिंहदरबार तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा बनाउन लगाएका थिए । अहिले गाउँ-गाउँमा भएको सिंहदरबार पनि केही मात्रामा निजी निवासका रूपमा देखा पर्न थालेका छन् ।

उ वेला सिंहदरबार निर्माण कार्य सुरु भएको एक वर्ष भित्र नै पूरा भएको थियो अहिले गाउँमा सिचाइँको लागि ल्याइएको कुलोसमेत पञ्चवर्षे योजनामा पर्छ । उवेलाको सिंहदरबार र यो वेलाको सिंहदरबारमा फरक छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबारमा १ हजार ७ सय वटा कोठाहरू थिए जुन त्यस वेला एसियाभरिको सबैभन्दा ठूलो दरबार थियो ।

यसको निर्माणमा त्यस वेलाको २५ लाख रूपैयाँ खर्च भएको थियो । यो कुरा हामीले सिंहदरबारको विषयमा पढ्दा उ वेला बनाएको सिंहदरबार यो वेलाको आँखाले हेर्ने गरेका छाँै । उवेलाको सिंहदरबारलाई यो वेलाको आँखाले हेर्दा केही भिन्नता देखिन्छ नै ।

सिंहदरबार निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३ सय ५० रोपनी जमिन खरिद गरे । पछि चन्द्रशम्शेरले नेपाल सरकारलाई सिंहदरबार बेचिदिए । चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके । जंगबहादुर राणाले आपत–विपदमा काम लाग्छ यसलाई जोगाइराख्नु यो नेपालको ढुकुटी हो भनेर जम्मा गरेको ढुकुटीबाट चन्द्र शमशेरले २ करोड झिके । अहिले त्यसैगरी औषधि उपचारको नाममा सञ्चित गरेको ढुकुटी बाट करोडाँै झिकिँदै छ ।

यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो । चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो । नेपालका १३औँ प्रधानमन्त्री चन्द्र शमशेरले गणतान्त्रिक देशका प्रचण्ड, माधव नेपाल, झलनाथ, बाबुराम अनि सुशील कोइराला र अहिलेका प्रधानमन्त्री केपी ओलीसम्मलाई बस्ने महल सिंहदरबारको निर्माण गरिदिए ।

चन्द्रशमशेरसँगै केही वर्षपछि राणशासनको समेत इहलिला समाप्त भयो । त्यही दरबारलाई ‘राष्ट्रवादी’ ओलीले चुनावी नारामा समेत गाउँगाउँमा सिंहदरबार भन्न भ्याएका थिए । चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्यो र सबै ध्वस्त भयो । नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो । त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए ।

राती १० पछि एकाएक ’विद्युत् सर्ट’ भएर आगलागी भएको बताइयो । बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए । नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो । त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो । गाउँगाउँको सिंहदरबारमा अहिले राजनीतिको आगलागी दैनिक रूपमा भइरहेको छ ।

हाल सिंहदरबार प्रधानमन्त्री र मन्त्री निर्माण गर्ने कारखाना भएको छ । गाउँ–गाउँमा सिंहदरबार भने भुरे टाकुरे नेताहरूको गरिखाने भाँडोको रूपमा देखापरेको छ । जनताका सबै हक अधिकार र विकास पालीका स्तरबाटै प्राप्त हुने भनिए पनि कतिपय महत्वपूर्ण काम कुराहरू गर्न सदरमुकाम धाउनुपर्ने बाध्यताहरू ज्युका त्युरहँदा भनेजस्तो सिहदरबार घरघरमै पुगेको देखिँदैन । सिंहदरबारबाट टाढा रहेको सुदुरपश्चिम र मेरो जिल्लामा झन् सिहदरबारको प्रत्याभूति हुने कुरै आएन ।

म सिंहदरबारबाट फर्किंदै थिएँ एकजना मेरै गाउँका जेठा बा पर्नेले सोध्दै भने (हामिलाई खानाकि पानि आच्छी यईको सरकारल जाहाज ल्याउन्या भन्दो काठमाण्डौ गईकन भनिदे पन लाटा ठालुखि ) । गाउँमा पिउने पानि छैन सरकारले पानिजहाजको सपना देखाउँछ भन्दै जेठा बा ले आक्रोश पोखेका थिए ।

विकास चरणबद्धरूपमा हुने भएकाले केहिसमय लाग्ने आश्वासन जनप्रतिनिधिहरूले पनि दिन छोडेका छैनन् । सुदुरपश्चिम देशको राजधानीबाट कोषांैकोष टाढा मात्रै होइन विकास र समृद्धिको सम्भावना हुँदा हुँदै पनि पटक–पटक विभिन्न चुनौतीहरू सामना गर्दै आइरहेको छ । जसले गर्दा गणतन्त्र प्राप्तिपछि समेत जनतामा निराशा छाएको छ । निर्वाचनका वेला गरेका वाचा अहिलेसम्म पूरा गर्नु त परै जावस् सुरुआतसम्म हुन सकेका छैनन् ।

२० वर्षपछि जनताको मत पाएर निर्वाचित भएका जनप्रतिनिधि हरूले जनताहरूसँग धेरै वाचा बाँडेका थिए । गाउँमा हुने आधारभूत विकासका काम चाँडो गर्ने बाचा नै स्थानीय सरकारको पहिलो बाचा थियो । गाउँमा खानेपानीको व्यवस्था गर्ने, स्तरीय शिक्षाको लागि पहल गर्ने, कृषिमा आधुनिक कृषि प्रविधि नेपाल भित्र्याई सामूहिक व्यवसायी कृषि प्रणाली सुरु गर्ने, गाउँ–गाउँमा सडक सञ्जाल पुर्याउने, स्वास्थ्य चौकी गाउँमै राख्ने जस्ता थुप्रै बाचा गरेका थिए ।

हालसम्म कुनै वाचासमेत पूरा भएका छैनन् । जनप्रतिनिधि गाउँमा जाँदा आसाभन्दा आक्रोस पोख्नेको जमात बढी देखिएको छ । नेपालको विकास भनेकै गाउँको विकास हो । गाउँगाउँमा सिंहदरबार भनिएको छ तर मेरो गाउँगाउँका युवाहरू सबै खाडी मुलुक नगए पनि भारतका विभिन्न ठाउँमा चौकिदारी, होटल, गाडी सफा गर्ने काम गर्न भारत पलायन हुनेक्रम रोकिएको छैन । यो मेरो गाउँको मात्र नभएर सुदूरपश्चिमको ठूलो समस्या हो ।

गाउँको विकास नै आजको आवश्यकता हो । हाम्रा गाउँ अझै पनि अशिक्षा, अभाव र असुविधाले ग्रस्त छन् । गाउँगाउँमा सिंहदरबार गएपछि अहिले मुलुकमा ७ सय ५३ वटा सरकार छन्् भने गणतान्त्रिक सरकारले ७५ जिल्लालाई अलग गरेर ७७ जिल्ला बनाएका छन् । गाउँमा युवा जनशक्तिको अभाव छ । खेतीयोग्य जमिन बाँझै छ । यसतर्फ कसैको ध्यान जान सकेको छैन । गाउँमा गरिब र धनी बीच दूरी बढ्दै गएको छ । यसको कारण भनेकै गाउँको शिक्षाको दूरावस्था हो ।

हुने खाने, सरकारी विद्यालयका शिक्षक, जनप्रतिनिधिका बालबालिकासमेत गाउँको त्यो पुरानो विद्यालयमा पढ्दैनन् । पढाउँदैनन् । जसले गर्दा गाउँका विद्यालयको अवस्था झन् दयनीय बन्दै गएको छ । शिक्षामा आएको विकृति रोक्न यो स्थानीय सरकारबाट गाउँका जनताले कुनै किसिमको आसा राखेको पाइँदैन । स्थानीय जनप्रतिनिधिहरूले गाउँको विकास भनेको मन्दिर सुधारलाई भनेर एक गाउँमा एक मन्दिर बनाएको देखियो एक जना पर्यटकसम्म भित्र्याउन नसक्ने मन्दिरको स्तर उन्नति गर्नुको कुनै अर्थ देखिँदैन ।

मैले मेरै वडापालिकामा गएर मेरै दाैँतरीलाई सोध्दा ३० प्रतिशत शिक्षामा लगानी गरेको २० प्रतिशत स्वास्थ्यमा, २० प्रतिशत सडक सञ्जालमा १० प्रतिशत मन्दिर र अन्यमा खर्च गरी गाउँको विकास गरेको दाबी गरेका छन् । तर, उनले भनेजस्तो र विकासको मुहार फेरेजस्तो काम भएको कतै देखिएन ।

यो मेरो जिल्लाको मात्र नभएर देशभरीकै गाउँपालिका र स्थानीय स्तरको अवस्था हो । दक्ष जनशक्तिविना पनि विकास र समृद्धिको कल्पना गर्न सकिँदैन । गाउँमा युवा जनशक्ति नै छैन । यो विडम्बना हो । राज्यले युवाका बारेमा सोच्नुपर्छ । युवाका बारेमा गाउँमा केही आयआर्जनका अवसर सिर्जना गर्ने खालको कार्यक्रम राज्यले निर्माण गर्नुपर्छ । देशमा भ्रष्टाचार व्याप्त छ । गाउँपालिकादेखि केन्द्र सरकारसम्म हुने भ्रष्टाचार रोक्ने काममा सरकार लाग्नुपर्छ ।

भ्रष्टाचार नरोकिएसम्म सुशासनका कुरा व्यर्थ हुनेछन्् । वडा, पालिकाबाट जन्म दर्ता मृत्यु दर्ता र बसाइसराइको सिफारिस गराएर मात्रै सिंहदरबार गाउमा गएको मानिँदैन । पानीजहाजको सपना दूरदराजका गाउँमा बाँड्नु भन्दा गाउँको आधारभूत समस्या समाधान गरे मात्र सिंहदरबारको सपना साकार भएको मानिन्छ कि ?

प्रतिक्रिया