भारतीय खाने तेल आयातमा रोक

दार्चुला । नेपाली धेरैजसो उपभोग्य समानदेखि लत्ताकपडामा भारतकै भरपर्ने गरेका छन् । मुख्यगरी सीमावर्ती बजार क्षेत्रका स्थानीयहरूको मुख्य बजार भनेकै भारत हो । साँझ चाहिने दैनिक उपभोग्य समानहरू खरिदका लागि नेपाली भारतीय बजार जाने गरेका छन् ।

पछिल्लोसयम नेपाली प्रशासनले भारतबाट खानेतेल आयातमा प्रतिबन्ध लगाएको छ । तीन-चार दिनदेखि सीमानाकाहरूमा भारतबाट खानेतेल ल्याउन नदिने गरेको स्थानीयहरूको भनाइ छ ।

सधाैँ ल्याउँदै गरेको खानेतेल तिहारका वेला भने अन्य दिनहरूमो तुलनामा बढी आयात हुने भारतीय खानेतेल यो वर्ष भने आयातमा रोक लगाइएको छ । तिहारका बेला भारतमा काम गरी घर फर्किनेहरू पनि विभिन्न तिहारका सामग्रीहरू तथा खानेतेला ल्याएर सीमानाका भएर आउने गरेका छन् तर सीमानाकाहरूमा सुरक्षाकर्मीले खानेतेल ल्याउन नदिने मार्मा गाउँपालिका–६ का जग्दीश कोट्टारीले बताए ।

अघिल्लो हप्तासम्म ल्याउन दिइरहेको भारतीय खाने तेल अहिले भने सीमानाकाहरूमा ल्याउन नदिने अर्का स्थानीय जयसिंह धामीको भनाइ छ ।

भारतीय खानेतेलमा अखाद्य बस्तु मिसावट अर्थात् स्वास्थ्यका लागि हानिकारक पुष्टि भएपछि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । भारतीय खानेतेल उपभोग गर्न लायकको नभएकाले मन्त्रालयको निर्देशन अनुसार दार्चुलामा पनि भारतीय खानेतेल आयातमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

भारतीय खानेतेल परीक्षण गर्दा प्रयोग गर्न स्वास्थ्यका लागि हानिकारक भेटिएकाले मन्त्रालयले भारतीय तेलमा प्रतिबन्ध लगाउन निर्देशन गरे बमोजिम सीमानाकाहरूबाट भारतीय खानेतेल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । कहिलेसम्म प्रतिबन्ध लगाइने तथा कहिले खोलिने भन्ने बारेमा पनि मन्त्रालयबाट परिपत्र आएपछि मात्रै निर्णय हुनेछ ।

मन्त्रालयकै निर्देशनअनुसार भारतीय खानेतेलमा रोक लगाइएकोले मन्त्रालयले नै निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मन्त्रालयको निर्देशपश्चात् प्रतिबन्ध लगाइएको भारतीय खानेतेल हालसम्म केही मात्रामा बरामदसमेत गरिएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरसिंह बडालले जानकारी दिए ।

दैनिक रूपमा भारतबाटै आयात गरिँदै आएको खानेतेलमा प्रतिबन्ध लगाएसँगै नेपाली उपभोक्ताहरूलाई केही समस्या भएको छ । उद्योग वाणिज्य संघका अनुसार नेपालमै भारतको तुलनामा सस्तोमा उपलब्ध भइरहेकाले स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने बताएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले विदेशी समानभन्दा स्वदेशी समान प्रयोगमा जोड दिए देशको अर्थतन्त्रसमेत बलियो हुने बताए । स्वदेशी समान विदेशी समानभन्दा गुणस्तरीय हुने भएकाले स्वदेशी समानको प्रयोग गर्नुपर्ने अध्यक्ष ठगुन्नाको धारणा छ ।

दार्चुलाका स्थानीयहरू प्रायजसो भारतीय समानहरूमै भरपर्ने गरेकाले सीमानाकाहरूमा विभिन्न समस्या झेल्नुपरेको अन्य स्थानीयहरूको भनाइ छ । दार्चुला बजार क्षेत्रका स्थानीय तरकारीदेखि दाल चामल खरिद गर्नसमेत भारत धाउने गरेका छन् । भारतबाट सामग्री ल्याउँदा भारतीय सुरक्षाकर्मी तथा भारतीय कस्टमले दुःख दिने गरेको छ ।

तैपनि नेपाली नागरिकहरू भारतबाटै समान ल्याउन रुचाउने गरेका छन् । स्वदेशी तरकारी ताजा र गुणस्तरीय हुने भए पनि तरकारी ल्याउन भारतीय बजार धाउने नेपालीको बानीका कारण पनि भारतीय सुरक्षाकर्मीले दिने दुःख सहनुपरेको नेपाली व्यापारीहरूको भनाइ छ ।

प्रतिक्रिया