तिहारका पाँच दिन

दसैँको विशेषता पहेँलो जमरा भएझैँ तिहारको विशेषता फूलैफूल, झिलिमिली बत्ती अनि सेलरोटी एवं मिठाइहरूको परिकार खाने पर्व पनि हो । मानिसको पशुपक्षी एवं दाजुभाइको दिदीबहिनीसँग मिलन गराउने पर्वको रूपमा पनि तिहारलाई लिन सकिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी दिनहरूलाई यमपञ्चक भनिएको हो ।

यम सूर्यपुत्र हुन् । खासगरी, बहुल देवतामा कुकुरतिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले यो चाड मनाइन्छ । दीपमालिका तिहारको अर्को विशेष पक्ष हो । तिहार फूलैफूलको पर्व हो, झिलिमिली बत्तीको उज्यालो पर्व हो । तिहार देउसी, भैली अनि फलफूल मिठाइ र सेलरोटी खाने पर्व पनि हो ।

दसैँको विशेषतामध्ये पहेँलो जमरा भएझैँ तिहारको विशेषता फूलैफूल, झिलिमिली बत्ती अनि सेलरोटी एवं मिठाइहरूको परिकार खाने पर्व पनि हो । मानिसको पशुपक्षी एवं दाजुभाइको दिदीबहिनीसँग मिलन गराउने पर्वको रूपमा पनि तिहारलाई लिन सकिन्छ ।

काग तिहार

यमपञ्चकको पहिलो दिन बिहान घर लिपपोत गरी शुद्ध बनाइ आँगनमा वैदिक विधि विधानअनुसार यमदूतका रूपमा कागको पूजा गरिन्छ र कागलाई मीठो लाग्ने खाना दिइन्छ । कागलाई यमराजको दूत, सत्यवादी, भविष्य द्रष्टा र सन्देशवाहक पक्षी मानिन्छ । कागले पौराणिक रूपमा मात्र नभएर सामाजिक रूपमा पनि घर गाउँमा रहेका कतिपय फोहोरमैला खाएर वातावरण सफा गर्ने गर्छ ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकर तिहार भनिन्छ । यस दिन बिहानै तेल लगाएर दतिउन गरी स्नान गर्नुपर्दछ । आफ्ना पितृहरूलाई सम्झेर नदी तलाउमा दीप प्रवाह गरिन्छ । त्यसपछि कुकुर पूजा गरिन्छ । कुकुरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिने जनविश्वास छ ।

गाई तिहार र लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन अमावश्यालाई लक्ष्मी पूजा वा गाई तिहारे औँशी पनि भनिन्छ । यस दिन बिहानै घर लिपपोत गरी सफा भई लक्ष्मीलाई समन्त्र पूजन गरिन्छ । घरमा धनधान्य लक्ष्मीको प्रतिमूर्ति गाईको सिङ, खुरमा तेल, घाँटीमा माला लगाइन्छ र फलफूल, रोटी (बाबर) लगायत मीठामीठा खाद्य सामग्रीसमेत खुवाइ पूजा गरिन्छ ।

यसैदिन धनकी देवी लक्ष्मीको पूजा पनि हुन्छ । यस रात्रिलाई सुखरात्रि पनि भनिन्छ । यस दिन देउसीभैलो पनि खेलिन्छ । साँझ पख महिला, पुरुष, बालबालिका समूह बनाइ भैली राम भन्दै घरघर डुल्छन् र लक्ष्मीवास गर्ने आशीर्वाद दिन्छन् । यशकीर्ति, ऐश्वर्य, उन्नतिका लागि सन्ध्याकालमा कोठा, प्रांगण, गौशाला जलाशय आदिमा दियो बाल्ने गरिन्छ ।

यसैदिन धनकी देवी लक्ष्मीको पूजा पनि हुन्छ । घरबाहिरदेखि गोबरले लिपेर लक्ष्मीको पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ । समृद्धिको चाहना, खुशी, ऐश्वर्य, शान्ति चाहनेले लक्ष्मी पूजाका दिन विशेष धनको पूजा, कुवेरको पूजा गर्ने गर्छन् । पसल, प्रतिष्ठान, ढुकुटी र अन्न आदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्रसहित पूजा गर्ने चलन छ ।

घर पसल रंग्याउने फूलले सजाउने, नरिवल मसला चढाउने, रंगोली बनाउने गरिन्छ । मिठाइ, सेलरोटी, अनरसा आदि चढाइन्छ र बाँडिन्छ । ओखर, कटुस, बिमिरोसहित लक्ष्मीको प्रतिमाको पूजा गरिन्छ । आयुलक्ष्मी, कीर्तिलक्ष्मी, भोगलक्ष्मी र स्थिर लक्ष्मीको पूजा गरिन्छ । यस रात्रिलाई सुख रात्रि पनि भनिन्छ ।

गोवर्धन पूजा, गोरु तिहार एवं म्हः पूजा

यमपञ्चकको चौथो दिनलाई गोवद्र्धन पूजा र गोरु तिहार भनिन्छ । गोरुको पूजा गर्नु अघि गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी विधि विधानअनुसार पूजा गर्नुपर्दछ । आर्य जातिले गाईलाई विशेष महत्व दिएर माताका रूपमा सम्मान गर्ने हुनाले तिनीहरूको चरन, घाँसपात प्रदान गर्ने क्षेत्रलाई नै गोवद्र्धनका रूपमा पूजा गरिएको भन्ने गरिन्छ ।

यमद्वितीयाको दिन दाजुभाइ मिलेर देउसी खेल्ने प्रचलन छ । कृषि कार्यमा पशुहरू निकै सहयोगी छन् । तिनको सम्मान गर्ने उद्देश्यले यस पर्वमा विशेषगरी, गोरुको पूजा गर्ने चलन छ ।

यम पञ्चकका पाँचदिन मध्येको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको दिन नेपाल संवत् सुरु हुन्छ । नेपालको इतिहासमा अभिलेखको आधारमा प्रामाणिक ढंगमा भन्न सकिने लिच्छवी काल हो ।

म्हः पूजा अर्थात् आत्म पूजा गर्ने प्रचलनबाट मानिस स्वयं पूर्ण छ र आफू पूर्ण भएपछि लोकको कल्याण गर्न सकिन्छ भन्ने देखाइएको छ । भ्रातृ पूजाको रूपमा तेल हाल्ने चलनबाट दाजुभाइ र दिदीबहिनीमा रहेको सम्बन्धलाई अझ गाढा बनाउने पद्धति देखाइएको छ । दिदीभाइ र दाजुबहिनीको पर्व हो तिहार । यो पर्वमा चेलीले आफ्ना दाजुभाइको पूजा गरी उनीहरूको दीर्घायुको कामना गर्छन् ।

भाइतिहार

यमपञ्चकको पाँचौँ दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यसदिन शास्त्रीय विधि विधानअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट केही दिनका लागि विदा लिएर आउन निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजा अर्चना गरेझैँ दिदीबहिनीहरूले यो दिन दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य र कीर्ति आदिको प्राप्तिका लागि सप्तरंगी टीका लगाइदिने र मिष्ठान्न तथा विभिन्न परिकार खुवाउने प्रचलने रहेको छ ।

सयपत्री र मखमलीको माला लगाई तेलको धाराले परिक्रमा गरी यमुना, नवग्रह, विष्णु, गणेश, ब्रह्माजी आदिको पूजा पनि यसै दिन गरिन्छ । यमराजका रूपमा रहेको कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा ओखर फुटाउने चलन पनि छ । टीका लगाइ सकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा, उपहार दिन्छन् ।

तिहार मुख्यतः धनधान्य र सुख समृद्धिको पर्व हो । दसैँमा शक्तिको आराधना गरेपछि धनधान्यको वृद्धि, सुख समृद्धिको कामना यस पर्वमा जोडिन आउँछ । यम पञ्चकका पाँचै दिन बत्ती बाल्ने प्रचलनले यसलाई प्रकाशसँग जोड्न पुगेको छ । काग पूजा, कुकुर पूजा आदिबाट पशुपक्षीलाई पनि आफ्नो जीवनको अभिन्न अंगको रूपमा लिने पद्धति यसमा देखाइएको छ ।

प्रतिक्रिया