गाउँपालिकाले बनायो सार्वजनिक शौचालय

पाँचथर । याङवरक गाउँपालिकाले आफ्नै बजेटमा सार्वजनिक शौचालय निर्माण गरेको छ । गाउँपालिका–६ नागिस्थित गणेशचोकमा ६ लाख ७५ हजारको लागतमा उक्त शौचालय निर्माण गरिएको पालिका उपाध्यक्ष कमला योङहाङले बताएकी छन् ।

जिल्ला सदरमुकाम फिदिम बजारमा समेत सार्वजनिक शौचालय नभएको अवस्थामा पालिकाले शौचालय निर्माण गरेर राम्रो कामको सुरुआत गरेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग र मेची राजमार्गको ताप्लेजुङ जाने संगमस्थलमा दैनिक दर्जनौँ सवारी रोकिने सो स्थानमा सार्वजनिक शौचालय नहुँदा यात्रुले समस्या भोग्दै आएका थिए ।

पालिकाले यात्रुको समस्या समाधानका लागि गत आवको बजेटबाट सार्वजनिक शौचालय निर्माण गरेको हो । यात्रुहरूको सुविधाका लागि चार कोठे पक्की शौचालय निर्माण गरिनुका साथै हात धुने धाराको व्यवस्थासमेत गरिएको छ । उक्त स्थानमा सार्वजनिक शौचालयको जरुरी देखिएकाले गाउँपालिकाको बजेटबाट शौचालय निर्माण गरिएको पालिका उपाध्यक्ष कमला योङहाङले बताएकी छन् ।

यातायात चल्ने पालिका क्षेका थर्पु, ओयाम, फलैचा, च्याङथापु, बजारहरूमा सार्वजनिक शौचालय बनाउने योजना रहेको र बजेटसमेत विनियोजन गरिएको बजेट तथा योजना तर्जुमा समितिका संयोजक कमला योङहाङले जनाएकी छन् ।

पालिकामा शौचालयको व्यवस्था भए पनि जिल्ला सदरमुकाम फिदिमसहित विभिन्न बजारी क्षेत्रमा अझै पनि सार्वजनिक शौचालय निर्माण हुन नसक्दा यात्रुहरूले समस्या भोग्नुपरिरहेको छ । चार वर्षअघि घोषणा भएको खुला दिसामुक्त जिल्लामा सार्वजनिक शौचालय नहुँदा कार्यान्वयनमा समेत समस्या देखिएको छ ।

याङवरक गाउँपालिकाले मेची राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणाको प्रभावकारिताका लागि निर्माण गरेको सार्वजनिक शौचालयमा दैनिक दुई सयभन्दा बढी यात्रुले प्रयोग गर्ने गरेको स्थानीयवासी हर्कबहादुर योङहाङले बताए ।
स्थानीयवासीले सार्वजनिक शौचालयको संरक्षण र सरसफाईका लागि स्थानीय दुई परिवारलाई जिम्मा दिएका छन् ।

आफ्नै शौचालय नभएका मोहन बस्नेत लगायतको दुई परिवारले शौचालयको प्रयोगसँगै सरसफाई र संरक्षणसमेत गर्ने गरेको स्थानीयवासी योङहाङको भनाइ छ । अन्य स्थानमा सार्वजनिक शौचालयको प्रयोग गरेबापत शुल्कसमेत लिने गरिए पनि यहाँ कुनै पनि शुल्क नलिइएको योङहाङको भनाइ छ ।

प्रतिक्रिया