आर्थिक र राजनीतिक वातावरण सुधारे बाह्य लगानी सम्भव

काठमाडौं । विश्व बैंकले मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन नेपालले निरन्तर ठूलो र दिगो आर्थिक विकास गर्नुपर्ने बताएको छ । सरकारले विकासका लागि नीतिगत रूपमा गरेका सुधार राम्रा भएपनि अपेक्षा गरिएजस्तो सकारात्मक नभएको पनि जनाएको छ ।

विश्व बैंकले तयार गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै मध्यम आयस्तरको बनाउनका लागि आर्थिक र राजनीतिक वातावरण सुध्रिन आवश्यक रहेको उल्लेख गरेको छ । नेपाल सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित भएको देखिएको बताएको छ ।

सहज विद्युत् आपूर्ति, राजनीतिक स्थिरता र समष्टिगत अर्थतन्त्रमा स्थायित्वका कारण नेपालले उच्च आर्थिक वृद्धि गर्न सक्ने सम्भावना रहेको भन्दै विश्व बैंकले त्यसलाई चुनौतीपूर्ण भनेको छ । आगामी पाँच वर्ष (मध्यकालीन अवधि)मा नेपालले औसतमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भन्दै उसले त्यस अवधिमा औसत ५ प्रतिशतको मुद्रास्फिति रहने अनुमान पनि गरेको छ ।

सो अवधिमा सातदेखि आठ प्रतिशत आर्थिक वृद्धिदर हुनसक्ने प्रतिवेदनले देखाएको छ । ‘सन् २०२२ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्ममा मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुनका लागि स्रोत परिचालन अत्यन्तै चुनौतीपूर्ण छ,’ अर्थमन्त्री डा. युवराज खतिवडासमेत उपस्थित कार्यक्रममा बैंकका नेपाल निर्देशक चिमाओ  फ्यानले भने ।

व्यापार घाटा बढ्दै गएको भए पनि वैदेशिक रोजगारीमा गएका नेपाली युवाले पठाएको विप्रेषणले त्यसलाई परिपूर्ति गर्न सफल भएको, विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएकोसमेत प्रतिवेदनले औँल्याएको छ । यस्तै सो अवधिमा पूँजीगत खर्च ८२ दशमलब चार प्रतिशत भएको, राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको, सार्वजनिक क्षेत्रले कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान गरेको जनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको, विप्रेषण आप्रवाहमा वृद्धि भएको, कृषि तथा कृषिजन्य उद्योगको मात्रामा वृद्धि भएको, मनसुनका कारण समयमा खेती भएकाले आगामी दिनमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ । तर बढ्दो आयात र व्यापार घाटाका कारण समग्र आर्थिक अवस्थामा भने नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।

निर्देशक फ्यानले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाब दिए । लगानी आकर्षित गर्न पूर्वाधार, ठूलो बजार, तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले सरकारले त्यसका लागि काम गर्नुपर्ने बताए ।

विश्व बैंकले नेपाल भूराजनीतिक रूपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै यसैकारण नेपालले हिजोभन्दा राम्रो मात्रै हैन, अरूको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने बताएको छ । ‘सरकारले केही गर्न खोजेको छ । तर, पहिले नै धेरै काम गर्न बाँकी थिए, त्यसैले अहिले भएका काम पर्याप्त छैनन्,’ निर्देशक प्mयानले भने,’ अब नेपालले विकासमा लागि सबै विकल्पहरू प्रयोग गरेर अघि बढ्नुपर्छ ।’

विश्व बैंकको प्रतिवेदन हेरेपछि अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा बेलाबखत देखिने बाह्य झट्काहरूको असर कम गर्न र नेपाली अर्थतन्त्रलाई चलायमान बनाइराख्न संरचनागत सुधार गर्नुपर्ने बताए । ठूला देशले व्यापार युद्धका नाममा व्यापारिक संरक्षणवाद लागू गर्न खोज्दा त्यसको नकारात्मक प्रभावबाट नेपालजस्ता मुलुक गुज्रिएको बताएका हुन् । आयात भइरहेका वस्तु पुँजी निर्माणमा उपयोग हुन सके त्यसले गुणात्मक फाइदा दिने भन्दै खतिवडाले यसका लागि उत्पादनको संरचनाबाटै परिवर्तन सुरु गर्नुपर्ने बताए ।

‘हामीले अर्थतन्त्रको संरचना, उत्पादनको श्रृंखला सबै हेरेर मात्रै बहस गर्नुपर्ने हुन्छ,’ उनले भने । अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानीलाई परिचालन गरेर सरकार अघि बढ्ने पक्षमा रहेको भन्दै त्यसका लागि बाह्य लगानी आकर्षित गर्ने गरी कानुन र नीतिहरू परिमार्जन गर्ने क्रममा रहेको बताए । प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरूको सूचीमा नेपाल १ सय ५ आँै स्थानमा परेको उल्लेख छ ।

प्रतिक्रिया