प्रधानमन्त्री छिट्टै निवास फर्कने

काठमाडौं । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएपछि डिस्चार्जको तयारी भएको छ ।  छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगन्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई एक/दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न छ ।

यसैबीच, बिहीबार अस्पतालमै प्रधानमन्त्री ओलीले नेकपाका शीर्ष नेता र ३ नम्बर प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न साँझ नेकपाका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल पुगेका छन् ।

उनीहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ । त्यस्तै, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल, कृषिमन्त्री दोर्जे लामा, कानुनमन्त्री शालिकराम जमरकट्टेल लगायतले प्रधानमन्त्री ओलीसँग स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया