जगदीशको स्मृति

रामेछाप । साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको पाँचौँ वार्षिक स्मृति उनको जन्मथलो मन्थलीमा साहित्यिक कार्यक्रम गरी मनाइएको छ ।

६८ वर्षको उमेरमा ०७० साल कात्तिक १४ गते क्यान्सरका घिमिरेको निधन भएको थियो । आख्यान विधामा कलम चलाउँदै आएका घिमिरेको ‘अन्तरमनको कथा’ ले मदन पुरस्कार पाएको थियो । उनका आधा दर्जन बढी कृति निकै लोकप्रिय छन् ।

विभिन्न पत्रपत्रिकामा स्तम्भसमेत लेखेका घिमिरेले साहित्यका साथै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका थिए । उनी गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष समेत थिए । उनले मन्थलीमा ०४५ सालमा तामाकोसी सेवा समिति नामको गैरसरकारी संस्था स्थापना गरी रामेछापमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, शौचालय निर्माण लगायतका काम गरेका थिए ।

त्यस्तै, जनस्तरमा आयआर्जन बढाउन उनले गाउँगाउँमा समूह निर्माण गरी सहकारीको खोल्न अभिप्ररित गरेका थिए । सहकारीमार्फत गाउँलेमा बचत गर्ने बानी बसालेर सामाजिक तथा रामेछापको सहकारीको क्षेत्रमा नै क्रान्ति ल्याएका थिए ।

उनले स्थापना गरेको मन्थलीको तामाकोसी सहकारी अस्पतालले स्थानीयलाई निकै ठूलो सेवाको साथै राहतसमेत दिएको छ ।

घिमिरेको स्मृतिसभा तामाकोसी सेवा समितिले गरेको थियो । स्मृतिसभामा संस्थाका उपाध्यक्ष नारायण सुवेदीले जगदीश घिमिरेले रामेछापमा जनचेतनाका साथै सामाजिक रूपमा निकै ठूलो जागरण ल्याएको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जगदीश जस्ता सामाजिक अभियन्ताले रामेछापमा महत्वपूर्ण योगदान दिएको भनाइ व्यक्त गरे ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अगुवाले घिमिरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया