‘पिपिएल’ प्रति सबैको आकर्षण 

पोखरा । शरद ऋतु, गर्मीको समाप्ति र चिसो मौसमको सुरुआत । बिहान हल्का ओसिलो, दिउँसो घमाइलो । खुल्ला आकाश, आँखै अगाडि चम्किलो माछापुच्छ्र्र्रे  दायाँ–बायाँ अन्नपूर्ण । बिहानीको मिर्मिरेसँगै सुर्यास्तसम्म माछापुच्छ्र्र्रे र अन्नपूर्णको अनेकौं रूप । काखमा शोभा बढाउने फेवाताल । फेवातालको किनारा नजिकै पोखरा क्रिकेट रंगशाला ।

त्यहि मैदानमा ‘ब्याटिङ र बलिङ’ । समर्थनको हुटिङ । क्रिकेट खेलको प्रतिस्पर्धा । यो कुनै एनिमेसन (काल्पनिक) खेलको पृष्ठभूमि हैन । यो पोखरामा जारी पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको वास्तविकता हो ।

यहि वास्तविकतामा ६ क्रिकेट टिम प्रतिस्पर्धामा रमाइरहेका छन् । प्रकृतिको सुन्दर अनुपममा खेलाडीले ब्याट र बल उठाइरहेका छन् । काल्पनिक मैदानमा खेलेजसरी ।

यस अवसर क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जुराइदिएको हो । पिपिएल आयोजनाका लागि क्विन्सले लामो प्रयत्नपछि सुन्दर मैदानलाई खेल्न योग्य बनाएको हो । सबैको मन लोभ्याउने बनाएको हो ।

पिपिएलकै कारण खेलाडीले सुन्दर मैदानमा खेल्ने अवसर पाएका छन् । क्रिकेट समर्थकले सुन्दर मैदानमा क्रिकेटको मज्जा लुटिरहेका छन् । पिपिएलले देशी विदेशी खेलाडी र समर्थकको मन लोभ्याएको छ ।

पिपिएलको लोभ्याइमा पर्नेमा युएईका कप्तान रोहन मुस्ताफा पनि एक हुन् । पिपिएल टिम बुटवल ब्लासटर्सबाट खेलिरहेका मुस्तफा भन्छन्, ‘यो निकै ठूलो प्रतियोगिताको हो र यहाँको मैदान निकै सुन्दर छ । विशेषगरी यहाँ भव्य दर्शकको सहभागिता छ । पोखरामा आएर खेल्न पाउनु ठूलो कुरा हो ।’

पिपिएल र मैदानको सुन्दरताले लट्ठिएका मुस्तफालाई यस ठाउँमा अन्तर्राष्ट्रिय खेल खेल्न मनसमेत छ । मौका पाउनेमा उनी आशावादी पनि छन् । ‘यो उत्कृष्ट मैदान हो । यहाँ खेल्ने मौका पाए हामी आउनेछौं,’ मुस्तफाले भने ।

पिपिएलअन्तर्गत पहिलो चरणको सकिएको छ । पहिलो चरण खेल सकिदा बुटवल ब्लासटर्स शीर्ष स्थानमा र पोखरा पल्टन दोस्रो स्थानमा छ । हुलास काठमाडौं रोयल्स तेस्रो र एक्स्पर्ट धनगढी ब्लुज चौथो स्थानमा रहदा विराटनगर टाइटन्स पाँचौ र चितवन राइनोज पुछारमा छ । पहिलो चरणको खेल सकिँदा धनगढीका पिटर ट्रेग्रो पिपिएल र मैदानको सुन्दरताबाट प्रभावित छन् ।

‘नेपालमा उत्कृष्ट अनुभव रह्यो । यहाँ हिमालहरूको अगाडि क्रिकेट खेल्दा निकै रमाइलो लागेको छ,’ पहिलो श्रेणीको क्रिकेट खेलिसकेका ट्रेग्रो भन्छन्, मेरो लागि यो सुन्दर मौका हो ।’

पहिलो संस्करणको पिपिएल आयोजनाबाट आयोजकहरू समेत निकै सन्तुष्ट छन् । खेलाडी र समर्थकहरूबाट सकारात्मक प्रतिक्रियाले आयोजकको मनोबल उच्च बनाएको छ ।

‘यस्तो प्राकृतिक र सुन्दर मैदानमा खेल्ने मौका पहिले नपाएको खेलाडीको भनाइ छ,’ आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, ‘खेलाडी र समर्थक सबैबाट धेरै राम्रो प्रतिक्रियाहरू आएको छ ।’

आयोजकले यस क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि वैकल्पिक मैदानको रूपमा स्थापित गराउने योजना नै बनाएको छ ।

‘यस मैदानलाई पिपिएलका लागि मात्र हैन । नेपालमा क्रिकेट मैदानको अभाव खड्किरहेको अवस्थामा यस मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाउन मिल्ने बनाउने तयारी छ,’ प्रबन्ध निर्देशक लामाले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस मैदानलाई अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा विकास गर्ने योजना बनाएको बताएका छन् । मन्त्री गुरुङले यस मैदानमा भारत र पकिस्तानबीचको खेल हेर्ने चाहना भएको बताए ।

प्रतियोगिताको उद्घाटन दौरान मन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेशमा पनि क्रिकेटको सम्भावना छ । हामी यस मैदानमा भारत र पकिस्तानबीचको खेल खेलाउन योग्य मैदान बनाउन जोड दिनेछौँ । त्यसका लागि हामीले गृहकार्य थालिसकेका छौँ ।’

यहिबीचमा आइसिसी विश्वकप ट्रफी पोखरामा प्रदर्शनी गरियो । विश्व टुरअन्तर्गत चारदिने नेपाल भ्रमणको क्रममा माछापुच्छ र अन्नपूर्णको आगनीमा विश्वकप ट्रफी आउनु आफैँमा ठूलो उपलब्धि हो ।

प्रतियोगिता दौरान राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बलर सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेसँगै पिपिएलको शोभा थप उच्च बनेको थियो ।

प्रतिक्रिया