पदाधिकारीको संख्या नबढ्ने

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या नबढ्ने भएको छ । विधान बनाउने तयारीमा जुटिरहेका वेला केन्द्रीय कार्यसमितिमा पदाधिकारी बढाउने पूर्वतः सहमतिबाट संस्थापन पक्ष पछि हटेको हो ।

विधान मस्यौदा समितिले प्रारम्भिक रूपमा यसअघि तयार गरेको विधानमा १० सदस्यीय पदाधिकारी हुनेमा सबै पक्ष एकमत भएका थिए ।

संस्थापनइतर पक्षले सभापतिबाहेकका अन्य पदाधिकारी निर्वाचित हुनुपर्ने अडान लिएपछि संस्थापन पक्ष एकाएक आफ्नो पूर्व निर्णयबाट पछि हटेको हो । प्रवक्तासहित सात सदस्यीय पदाधिकारी संख्यालाई बढाएर १० मा पुर्याउने यसअघिको निर्णयबाट पछि हट्न गई संस्थापन पक्षले विद्यमान प्रावधानलाई कायम राख्न जोड दिएको छ ।

प्रारम्भिक मस्यौदामा संस्थापन पक्षबाट एक सभापति, तीन उप–सभापति, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष गरी १० सदस्यीय पदाधिकारी हुने मस्यौदामा उल्लेखित गरेका थिए । विद्यमान प्रावधानमा सभापतिले उप–सभापति, महामन्त्री र सह–महामन्त्री एक÷एक मनोनित गर्ने व्यवस्था छ । आइतबार बसेको मस्यौदा समितिको बैठकमा संस्थापन पक्षका सदस्यहरू पूर्व निर्धारित संख्यालाई घटाउने पक्षमा देखिएका थिए ।

चार प्रकारको सदस्यता हुने यसअघिको प्रारम्भिक मस्यौदामा संशोधन गरी सदस्यताको एक प्रकारको मात्रै हुने व्यवस्था गर्न लागिएको छ । साधारण, क्रियाशील, सम्मानित र विशेषगरी चार प्रकारका सदस्य हुने कुरा उल्लेखित गरिएको थियो । नयाँ विधानमा केन्द्रीय कार्यसमिति एक सयभन्दा बढी बनाउनेमा सहमति भए पनि एकिन भने हुन सकेको छैन ।

केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित १ सय १, १ सय २१ र १ सय ३१ को व्यवस्था गर्न सुझाइएको थियो । अर्को विकल्पमा १ सय ३, १ सय २३ र १ सय ३३ समावेश गरिएको थियो । कांग्रेसको संशोधित विधान संघीयताको मोडलअनुरूप संगठन हुने भएको छ ।

गाँउ-टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, प्रादेशिक समिति र केन्द्रीय कार्यसमिति हुनेछ । कम्तीमा पाँच सय जनसंख्या रहेको क्षेत्रभित्र गाँउ-टोल समिति गठन गर्ने कुरा उल्लेखित छ ।

प्रतिक्रिया