राष्ट्रकविलाई ‘शिखर सर्वोच्च शताब्दी सम्मान’


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘शिखर सर्वोच्च शताब्दी सम्मान’ बाट सम्मानित गरिएको छ । शिखर नेपालको १५ औँ वार्षिकोत्सवको अवसर पारेर फुलारा लिटरेचर फाउन्डेसन नेपालको संयोजकत्वमा राष्ट्रकवि घिमिरेलगायत कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), साहित्यकार तथा उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, लेखक भीष्मराज फुलारा, वृत्तचित्र सम्पादक लव प्याकुरेल, गीतकार गणेश सुवेदी लगायतलाई सम्मान गरिएको छ ।
शिखर नेपालका अध्यक्ष शेखर खनालले सम्मान कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘व्यक्तिमा अन्तरनिहित दक्षता, क्षमता र योगदानको कदरले मानिसलाई थप उत्तरदायी बनाउँछ, सामाजिक सेवाभावप्रति उत्प्रेरणा जगाउँछ र सकारात्मक उद्देश्यप्रति अठोट र साहस बढाउँछ’, यो अभिप्राय पूरा गर्न पनि सम्मानको आयोजना गरिएको हो ।’

त्यस्तै, लोक गीत तथा देउडा गायिका चाँदनीकुमारी मल्ल (विष्ट) लाई ‘शिखर सम्मान २०७५’ बाट सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले चाँदनीसहित दर्जनभन्दा बढी समाजसेवीलाई सम्मान गरे ।

डोटीमा जन्मिएकी चाँदनीले भाषा, साहित्य, कला र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतसम्म नेपाल र नेपालीलाई चिनाउन उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको आयोजकले जनाएको छ ।

सञ्चारमाध्यममा समेत कार्यरत उनले संगीत विषयमा स्नातकोत्तर गरेकी छन् । देउडा गीतको क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

प्रतिक्रिया