कामनपाद्वारा थप ५ करोड हस्तान्तरण

काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ ।

महानगरले शनिबार आयोजित एक कार्यक्रममा पुनर्निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

३१ वैशाखमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए । गत २९ जेठमा काष्ठमाण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो ।

काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ । कामपाका मेयर शाक्यले भने, ‘आफ्नै खर्चमा सम्पन्न गर्छाै ,कसैसँग सहयोग माग्दैनौँ । भौतिक रूपमा देखिने प्रगति अबको प्रतीक्षा हो’ मेयर शाक्यले थपे, ‘पुनर्निर्माण समितिबाट आउँदो असार मसान्तभित्र भौतिक काम देखिने कार्ययोजना सुनेको छु ।’ कम्तीमा पहिलो तल्ला सम्पन्न गर्ने शाक्यको भनाइ छ ।

काष्ठमण्डपको मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामाग्री सहज उपलब्ध छैन । यसका बाबजुद पनि कार्ययोजनाबमोजिम काम गर्नुपर्छ । मेयर शाक्यले सम्पदा पुननिर्माणमा प्राप्त उपलब्धिलाई उद्धृत गर्दै भने, ‘वसन्तपुरका अन्य सम्पदा पुनर्निर्माणको प्रगति पनि राम्रो छ । माजुः देगः पुननिर्माणका लागि कार्यादेश दिन बाँकी छ । कुमारी घरको पुनर्निर्माण गर्ने विषयमा प्राविधिक परीक्षण भइरहेको छ ।’

सोही अवसरमा बोल्दै वडा २३ का अध्यक्ष मचाराजा महर्जनले, बसन्तपुर क्षेत्रमा सम्पदा पुननिर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाए ।, काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्धार, पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको उनले जानकारी दिए ।

दरबार क्षेत्रसँग १९, २०, २३ र २४ गरी ४ वटा वडाको जोडिएका छन् । यी ४ वटा वडाका ७३ वटा योजनाका विषयमा जानकारी गराउँदै वडाध्यक्ष महर्जनले १८ वटा योजना सम्पन्न भएको, १२ वटा काम हुँदै गरेको, ६ वटाको काम हुन बाँकी, ५ वटा खरिद प्रक्रियामा रहेको, ७ वटा परातत्व विभागसँग समन्वय भइरहेको, १६ वटाको लगत अनुमान र नक्सा तयार हुँदै गरेका जानकारी गराए ।

महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचिन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरूपमा क्षति भएको थियो । यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरूप, शैली र संरचनाअनुसार पुुननिर्माण गर्ने÷गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो ।

यसैबीच, गएको २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ (क) का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुनर्निर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेठ २४ गते समितिको प्रस्तावबमोजिम पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया