अल्लोको माग बढ्दा व्यापारीको लर्को

संखुवासभा । कोसेलीका रूपमा लोकप्रिय अल्लोको कपडाको विदेशमा समेत माग हुन थालेपछि अल्लो व्यवसायतर्फ व्यापारीहरू आकर्षित भएका छन् । अन्य नगदेबाली तथा कृषि पेसामा सोचेअनुसार कमाइ नभएकाले निराश बनेका व्यवसायीको अल्लोतर्फ आकर्षण बढेको हो ।

बजार मूल्य पनि राम्रो भएको र जिल्लाबाहिर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पनि अल्लोको कपडाको निर्यात हुन थालेका कारण यसको व्यवसायमा लागेको व्यपारीहरू बताउँछन् ।

जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने प्रमुख जिल्ला अधिकारीलगायत सरकारी तथा गैरसरकारी सघंसंस्थाका कर्मचारीले समेत कोसेलीका रूपमा अल्लोको कपडा लैजाने गरेका छन् । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषता पनि रहेको व्यापारी सभापोखरी गाउँपालिकाका विश्व लिम्बूले बताए । लिम्बूले अल्लोको झोला, लेडिज ब्याग, पर्सजस्ता विभिन्न सामग्रीहरू बनाएर बिक्री गर्ने गरेका छन् ।

संखुवासभामा अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलनले पनि व्यापार बढेको र यसको व्यपारतर्फ आकर्षित भएको लिम्बूले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले दिएको जानकारीअनुसार जिल्लामा २९ वटा अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा छन् । सिलिचोङ गाउँपालिकामा १६, खाँदबारी नगरपालिकामा चार, चैनपुरमा दुई, धर्मदेवीमा तीन, मादी नगरपालिकामा दुई, चिचिला र मकालु गाउँपालिकामा एक÷एक वटा उद्योग छन् । ०४६ सालदेखि व्यावसायिक रूपमा अल्लो खेती गर्न थालिएको हो ।

साबिक बाला, सिसुवाखोला, ताम्कु, मातेवा, याफू, पाथिभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे, तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइन्छ ।

अल्लोको कोट तीन हजार, टोपी पाँच सय, सल सात सय, स्यान्डल पाँच सय, स्टकोट १ हजार ५ सय रुपैयाँमा बिक्री हुन्छ । मफलर, पर्स, चस्मा ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड ब्याग बनाउन अल्लो प्रयोग गरिन्छ । यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने गरिन्छ ।

अल्लो उद्योगमा ६० घर परिवार आश्रित रहेको पाइएको छ भने दुई सयभन्दा बढीले रोजगारी पाएका छन् । यीमध्ये, काठमाडौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिद बिक्री र कपडा उत्पादन गर्न ४५, गाविसका टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्ने परिवारको संख्या ४ सय ३० छ । यी सबैको मुख्य पेसा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकासी गर्नु हो । गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगरदेखि काठमाडौंसम्मका डिपार्टमेन्टल, मिनी र सुपर मार्केटहरूमा पर्याप्त पाइन्छन् ।

जिल्लाका बाला र सिसुवा गाविसका सबै घरको मुख्य पेसा अल्लोबाट कपडा उत्पादन गर्नु हो । यहाँका ४ सय ५० परिवारको मुख्य पेसा र आयस्रोत अल्लो नै भएको छ । यहाँका केटाकेटीदेखि वृद्धासम्म बिहान उठेदेखि हाट बजार जाँदा होस् या सबै प्रकारका काम गर्दा हातमा कुरुस र अल्लोको जाखिल्मा (कच्चा धागो) बोकेर कपडा बुन्नमा व्यस्त भेटिन्छन् । जिल्लामा २५ वटा अल्लो आश्रित उद्योग सञ्चालित छन् । यी उद्योगले मासिक तलब दिएर झन्डै नौ सय जनालाई रोजगारी दिएका छन् ।

अल्लो एक वर्षे बुट्यान हो । यो एक÷दुई मिटर उचाइको भएपछि काटेर ल्याउने र बोक्रा निकालेर पाट बनाइन्छ । यसरी काटेपछि पुनः रोपण नगर्दा अल्लो जंगल मासिने क्रममा छ । यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको हो ।

सामुदायिक र राष्ट्रिय वनमा अल्लो संकलनमा रोक लगाएपछि ती वनमा पर्याप्त रहे पनि प्रयोगविहीन भएको र अन्यत्र मासिने क्रममा रहेको हो । अधिकांश गाविसमा यसको रोपण भएको छैन । अहिले जिल्लाका मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकी गाविसमा सामुदायिक वनको माध्यमले यसको संरक्षण सुरु गरिएको छ । यहाँ ०४६ देखि अल्लोको व्यावसायिक खेती थालिएको हो ।

प्रतिक्रिया