पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

पोखरा । सेवाग्राहीसग ५ लाख घुसको रकम लिँदै गरेका सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित समाएको अख्तियारले १२ घण्टा नबित्दै बुधबार मोटो रकमसहित सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । टोलीले उनलाई पाँच लाख रुपैयाँ नगद घुस लिँदै गर्दा बुधबार बिहान पौने नौ बजे पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ । ठगी मुद्दा सर्वोच्चमा पुनरावेदन नगरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए । उनी शंकास्पद तरिकाले कार्यालय गएको वेला अख्तियारको टोली पछि लागेको थियो । यस्तै, अख्तियार आयोग पोखराले लामो समयदेखि जनताको धेरै गुनासो आउने गरेको मालपोत कार्यालय कास्कीबाट मंगलबार साँझ दुईजना कर्मचारी ५० हजारसहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्माले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । जग्गाको लालपुर्जा मिलाइदिने भन्दै उनीहरूले घुस लिएका थिए ।

यो घटनामा संलग्न एकजना फरार छन् । नायब सुब्बा रामचन्द्र पौडेल अख्तियार टोली आएको थाहा पाएपछि भागेका हुन् । उनको खोजी भइरहेको छ । ‘घुसको डिजाइनर पौडेल भएको बताइएको छ । उनैले सेवाग्राहीसँग मोलमोलाई गरेका थिए’, स्रोतले भन्यो, ‘सबै सेटिङ भएपछि पनि अख्तियार आएको थाहा पाएर उनी भागेका हुन् । अहिलेसम्म उनी सम्पर्कमा छैनन् ।’

तीनै जनालाई सेवाग्राहीको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए । ‘हामी अहिले स्ट्रिङ अप्रेसनलाई चुस्त रूपमा लगेका छौँ’, ढकालले भने, ‘हामीले सूचना पाएकै आधारमा अनुसन्धान थालेका थियौँ ।’

प्रतिक्रिया