यस्ता छन् भारतका पाँच युवा अर्बपति

दिल्ली ।फाेर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन् ।

फोब्र्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७ दशमलव तीन अर्ब डलर बराबरको छ । दोस्रो स्थानमा अजिम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दूजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन् ।

भारतका यी शीर्षस्थ पाँच अर्बपतिहरूको उमेर ६१ देखि ८९ वर्ष बीचको रहेको छ । ठूला सय जना अर्बपतिहरूको सूचीमा कैयौँ युवा पनि समेटिएका छन् ।

यी हुन् भारतका पाँच युवा अर्बपतिः

भाविन र दिव्यांग तुराखियाः ३६ वर्षीय दिव्यांग तुराखिया र ३८ वर्षीय भाविन तुराखिया डाइरेक्ट–आई कम्पनीका सहसंस्थापक हुन् । डाइरेक्ट–आई विभिन्न प्रविधि कम्पनीहरूको समूह हो, जसको स्थापनमा सन् १९९८ मा २५ हजार भारु लागतमा गरिएको थियो ।

फोब्र्सका अनुसार सो कम्पनीको सम्पत्ति अहिले १ अर्ब ५५ करोड डलर अर्थात् ११ हजार ४ सय ३३ करोड भारु बराबरको छ । भारतका ठूला सयजना अर्बपतिको सूचीमा यी दाजुभाइ ९७औँ स्थानमा रहेका छन् ।

खेलकुदसम्बन्धी व्यवसायबाट थालनी गरेका मुम्बईका यी दाजुभाइले अनलाइन विज्ञापनदेखि एप जगतमा सफलता हासिल गरेका छन् । भारतका साथै अमेरिका र संयुक्त अरब एमिरेट्सबाट पनि यी दाजुभाइको कम्पनी सञ्चालनमा छ ।

विजय शेखर शर्मा, पेटिएमः भारतमा ‘नोटबन्दी’ पछि पेटिएमले अभूतपूर्व सफलता हासिल गरेको छ । डिजिटल बिल कारोबारबाट थालिएको उसको यात्रा अहिले ई–कमर्सको दुनियाँमा पुगेको छ ।

विजय शेखर शर्माले सन् २०१० मा पेटिएमको स्थापना गरेका थिए । भारतका ठूला एक सय धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४औँ स्थानमा रहेका छन् ।

पेटिएमको अहिलेको सम्पत्ति दुई अर्ब १५ करोड डलर अर्थात् १५ हजार ८ सय ५५ करोड भारु बराबरको छ । अलिगढका विजय शेखरले प्रारम्भिक दिनमा आफ्नो अंग्रे्रेजी भाषा राम्रो नभएका कारण समस्या झेल्नुपरेको थियो । स्नातक पढ्दै गर्दा उनले आफ्नो व्यवसायको थालनी गरेका थिए ।

शमशीर भायलील, भिपिएस हेल्थ केयरः युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भिपिएस हेल्थ केयरका सञ्चालक हुन् । उनी फोब्र्सको सूचीमा ९८औँ स्थानमा छन् ।

फोब्र्सका अनुसार उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३ सय ६९ करोड भारु बराबरको छ । सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् ।

केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए । एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे । हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए ।

समीर गहलोत, इन्डियाबुल्स ग्रुपः दिल्लीको हौजखास क्षेत्रमा जस्ताको छाना भएको घरबाट कार्यालयबाट व्यवसाय थालेका समीर गहलोत भारतका सबैभन्दा सम्पन्न युवा हुन् ।

४४ वर्षीय समीर इन्डियाबुल्स ग्रुपका संस्थापक अध्यक्ष हुन् । फोब्र्सका अनुसार उनको सम्पत्ति चार अर्ब दुई करोड डलर अर्थात् ३० हजार ९ सय २५ करोड भारु बराबरको छ । भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९औँ स्थानमा परेका छन् ।

मेकानिकल इन्जिनियरिङ पढेका हरियाणाका समीर जागिर खान विदेश गए । दुई वर्षपछि स्वदेश फर्केर एउटा ‘ब्रोकरिङ’ कम्पनी सस्तोमा किने । त्यससँगै उनले घरजग्गा कारोबारलाई पनि अगाडि बढाए र सफलता पाउँदै गए ।

डा. रञ्जन पई, मणिपाल ग्रुपः डा. रञ्जन पई भारतको चिकित्साक्षेत्रको चिरपरिचित नाम हो । मणिपाल एडुकेसन एन्ड मेडिकल ग्रुपका अध्यक्ष भारतीय अर्बपतिहरूको सूचीमा ८६औँ स्थानमा रहेका छन् ।

फाेर्ब्सका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३ हजार ७ सय ५ करोड भारु बराबरको छ । मलेसियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए ।

मणिपाल ग्रुपअन्तर्गत ६ वटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा छन् । भारतबाहेक नेपाल, मलेसिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज छन् ।

प्रतिक्रिया