खोजखबर

सुदूरप्रदेशमा खाद्यान्न ढुवानी भएन

सौर्य अनलाइन २०७५ असोज २४ गते ७:४६ मा प्रकाशित

डडेल्धुरा । नेपालीको महान पर्व दसैँ नजिकए पनि सुदूरपश्चिम प्रदेशका भोकमरीग्रस्त विकट पहाडी जिल्लाहरूमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।

टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । सो कार्यालयले हालसम्म अछाममा ५ सय ६१ क्विन्टल, बाजुरामा पाँच सय र दार्चुलाको खण्डेश्वरीका लागि दुई सय क्विन्टल चामल पठाउनबाहेक अन्य जिल्लामा पठाउन नसकेको जनाएको छ ।

चामल पठाउन बाँकी रहेको ठाउँका लागि दसैं अगाडि नै चाडपर्वलाई पुग्ने चामल पठाउने प्रयास गरिरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले टेलिफोनमा बताए । ‘हामीले चामल पठाउन नसके पनि समस्या भएको छैन’, उनले भने, ‘तर, सकेसम्म दसैंअगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास गरिरहेका छैँ ।’

प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको बाजुराको मार्तडीको लागि वार्षिक सात हजार क्विन्टल चामल पठाउने कोटा रहेको छ । बाजुराकै कोल्टी डिपोको वार्षिक कोटा १० हजार क्विन्टल चामल रहेको छ । वार्षिक तीन हजार कोटा रहेको दार्चुलाको खण्डेश्वरीमा दुई सय क्विन्टल चामल पुगेको छ । सुनसेरा र पारिबगरको लागि भने चामल गएको छैन । दुवै ठाउँको वार्षिक कोटा दुई÷दुई हजार क्विन्टल चामल रहेको छ ।

अछामको विनायक र कमल बजारका लागि पनि चालु आवमा चामल गएको छैन । दुवै ठाउँको लागि वार्षिक तीन हजार क्विन्टल चामल आवश्यक हुने कोटा निर्धारण गरिएको छ । बैतडीको पुलाउ, पुर्चौडी र मेलौलीका लागि पनि चामल ढुवानी हुन सकेको छैन ।

खाद्य संकटमा रहेको बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्विन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमा समेत मागअनुसार चामल ढुवानी नहुँदा आपूर्तिमा कठिनाई भइरहेको सदरमुकामस्थित खाद्य संस्थानको डिपोले जनाएको छ ।

प्रतिक्रिया