धर्म–संस्कृतिको गलत व्याख्या गर्दै पितृसत्ता

करिब दुई सय वर्षको अंग्रेज शासनका कारण विदेशी भाषा तथा संस्कृतिले हामी भारतीयहरूको मौलिकतालाई समाप्त पारे पनि सधैं स्वतन्त्र रहेका कारण नेपालमा वैद्धिक भाषा तथा संस्कृति संरक्षित रह्यो हामी भारतीयहरूले वैद्धिक भाषा, लिपी तथा संस्कृति गुमायौँ तर नेपालले जीवित राखेको छ, नेपाल भनेको संसारका हिन्दूहरूको पवित्र भूमि हो ।

गत मंगलबार महात्मा गान्धीको जन्मजयन्तीका अवसरमा राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टीका प्रवक्ता तरुण विजयले भावुक हुँदै भने, ‘हामी भारतीयहरूले वैद्धिक भाषा, लिपी तथा संस्कृति गुमायौँ तर नेपालले जीवित राखेको छ, नेपाल भनेको संसारका हिन्दूहरूको पवित्र भूमि हो ।’

उनले भारतमा देवनागरी लिपीका अंकहरू लोप भएर अंग्रेजी अंकहरू प्रचलनमा रहेको उदाहरण दिए । साथै, वैद्धिक सनातन संस्कृतिअन्तर्गतमा महिनाका नामहरू भारतमा लोप भई अंग्रेजी महिनाका नामहरू प्रचलनमा रहेको उदाहरण दिए ।

वरिष्ठ पत्रकारसमेत रहेका उनले भने, ‘करिब दुई सय वर्षको अंग्रेज शासनका कारण विदेशी भाषा तथा संस्कृतिले हामी भारतीयहरूको मौलिकतालाई समाप्त पारे पनि सधैं स्वतन्त्र रहेका कारण नेपालमा वैद्धिक भाषा तथा संस्कृति संरक्षित रह्यो ।’ देवनागरी लिपीको उद्गम भगवान् शिवले डम्मरू बजाउँदा निस्केको नादबाट भएको विश्वास गरिन्छ ।

देवताले आविष्कार गरेकोले यसलाई देवनागरी लिपी भनिएको हो । नेपालको संविधानमै देवनागरी लिपीको नेपाली भाषा राष्ट्र भाषा हुनेछ भनेर उल्लेखित गरिएको छ । नेपालको संस्कृतिप्रति भारतीयहरूले मात्रै होइन विश्वका समग्र हिन्दूहरूले गर्व गरिरहेको वर्तमान अवस्थामा हामी के गर्दैछौँ ? भन्नेतर्फ सोच्नु जरुरी भइसकेको छ ।

पछिल्ला दिनमा हाम्रा संस्कृतिहरूलाई हामी आफै‌ंले विकृत पार्दै लगेका त छैनाैं ? भन्ने प्रश्न खडा भएका छन् । तिज हामी धुमधामका साथ मनाउँछौँ तर तिज मनाउने नाममा एक महिना अघिदेखि नै पार्टी प्यालेसमा गएर डिस्को नाच्दै मदिरा पिउने संस्कृति हामीले सुरु गर्यौ । दसैँ आउनु कता हो कता शुभकामनाको बाढी आउन थालेको छ ।

सोह्र श्राद्ध सुरु नहुँदै दसैँको शुभकामना दिन के को हतार ? एकातिर हामी आफैं आफ्ना संस्कृति तथा चाडपर्वको गरिमा संरक्षणमा उदासिन हुँदै छौँ भने अर्कोतर्फ पश्चिमाहरूले हाम्रो मौलिकता ध्वस्त गर्न डलरको खोलो बगाएको जगजाहेर छ। हिन्दू धर्म संस्कृतिले महिलालाई शोषण गर्यो, दलितलाई शोषण गर्यो, जनजातिलाई शोषण गर्यो भन्ने नारा अघि सारिएको छ ।

कुनै पनि धर्म संस्कृतिले यसरी विभेद गर्दैन तर धर्म संस्कृतिका अगुवाहरूको क्रियाकलापले विभेद गर्छ ।  हाम्रो समस्या भनेको यही हो । धर्म संस्कृतिलाई गलत व्याख्या गरी त्यही गलत व्याख्याका आडमा विभेद गरिएको छ । निरंकुश पितृसत्ता हाम्रो संस्कृति होइन तर संस्कृतिका नाममा पितृसत्ता हामी भयौँ ।

उदाहरणका लागि महिलामाथिको भेदभावको प्रसंग आउना साथ पितृसत्ताले गर्ने एउटा साझा प्रश्न हो, ‘हाम्रा धार्मिक ग्रन्थ र कथाहरूमा देवताले दैत्यसंँग युद्ध गर्न नसकेपछि देवीको आराधना गरेको हामी पढ्छौैँ । त्यस्तो वास्तविकता हुँदाहुँदै हिन्दू धर्मले महिलालाई धर्मले शोषण गर्यो भन्न सकिएला र ?’

धर्म ग्रन्थ र कथाहरूको वैज्ञानिक प्रमाण पुष्टि हुँदैन । वैज्ञानिक दृष्किोणले मात्रै होइन, मानवशास्त्रीय तथा समाज शास्त्रीय दृष्टिकोणले पनि यस्ता पौराणिक ग्रन्थ दन्त्य कथाजस्तै हुन् । संसारमा धर्मले कोही कसैलाई शोषण गर्दैन र मानव मुक्ति नै धर्म हो भन्ने विचारको सञ्चार गर्छ ।

धर्मका नाममा महिलामाथि शोषण भएको जताततै देख्न सकिन्छ । तसर्थ, २१आै‌ं शताब्दीमा आइपुग्दा सबै धर्मका ग्रन्थहरू पुनः लेखन गर्नुपर्ने हुन्छ । धर्मको परिभाषा नै परिवर्तन भएको हुँदा धर्मका नाममा रहेका रीतिरिवाजहरू क्रमशः परिवर्तन भइरहेका छन् र हुनु पनि पर्छ ।

हामी किताब पढ्छाैं, ज्ञान आर्जन गर्नका लागि । किताबबाहेक हामी हाम्रा अवलोकनबाट प्राप्त सूचनालाई बेवास्ता गर्छौँ । जीवन अनुभव, घटना, दृश्य, संगीत, गीत, उखान–टुक्का, डकुमेन्ट्री इत्यादिले पनि सम्बन्धित विषयमा ज्ञान दिन्छ भन्ने कुरा हामी ख्याल गर्दैनौँ ।

हामी किताब पढेर र पढाएर ज्ञान आर्जन गर्न तल्लिन छौँ ।  हाम्रा आँखाले, मस्तिष्कले अनुभव र अनुभूति गरेका कुराले अनुसन्धान गर्दैनौँ ।आँखा खोलेर हाम्रो अगाडि देखिएका वस्तु, घटना, दृश्य, संगीत, गीत, चलचित्रले पनि केही न केही ज्ञान दिन खोजेको हन्छ ।

सो विषयमा अनुसन्धान सुरु गरौँ ।परिवर्तनको नाममा धार्मिक–सांस्कृतिक परम्परालाई ध्वस्तै पार्नुपर्छ भन्नेहरू पनि छन्। तर, समाज गतिशील छ भन्ने वित्तिकै सबै पुराना मान्यताहरू परिवर्तन गर्नैपर्छ र परिवर्तन हुन्छन् भन्ने होइन । यो त सामाजिक–सांस्कृतिक आवश्यकताले निर्धारण गर्दछ ।

विना आधारका जतिसुकै धनी र सुसंस्कृत सांस्कृतिक मान्यता र परम्परा पनि समय सापेक्ष र मानिसको जीवनशैली सापेक्ष भइरहन सक्दैनन् । प्रसिद्घ दार्शनिक कार्ल माक्र्सले त परिवार र निजी सम्पत्तिलाई ध्वस्त नपारी सामाजिक शोषणको अन्त्य हुँदैन भनेका छन् ।

उनले यसो भन्दैगर्दा परिवार विनाको समाज र पुँजीविनाको विनिमय कल्पना गर्न सकिन्छ र ? भन्ने प्रश्न पनि छ । सामाजिक विचारकहरूलाई हेर्दा दुई वर्गका देखिन्छन् । पहिलो भएको अवस्था संरचनालाई सुधार गर्दै जाने । दोश्रो, भएको अवस्था संरचनालाई ध्वस्त पारेर नयाँ संरचना गर्ने ।

कुन उत्तम भन्ने कुरा वस्तुस्थिति र वातावरणले नै निर्धारण गर्दछ । एउटा महत्वपूर्ण कुरा के हो भने यस्ता धार्मिक–सामाजिक सांस्कृतिक संस्कारहरू न त चाहनेले नै पूर्णरूपले ध्वस्त पार्न सक्छ न त नयाँ पूर्ण सिर्जना नै गर्न सक्छ । कुनै न कुनै रूपमा यसको अवशेष देखिइरहन्छ ।

अर्को कुरा शून्यतामा समाज रहन सक्दैन । त्यसैले नयाँ संस्कार, नयाँ मान्यताले पुरानालाई कि त परिमार्जन गर्दछ, कि त विस्थापित गर्दछ । धर्म र संस्कृतिले कुनै पनि समाजमा व्यक्तिलाई नियन्त्रणको प्रयास गरेको हुन्छ । नेपाली समाज पनि त्यसबाट अलग हुनै सक्दैन । धर्म तथ्यपरक हुन पनि सक्छ र नहुन पनि ।

धर्म प्रमाणिक आधार नभएको हुन्छ भने संस्कृति त्यस समयसँग सापेक्ष रूपमा प्रकट भएको हुन्छ । तसर्थ, धर्मको वैज्ञानिक आधार भेटिँदैन भने संस्कृतिको वैज्ञानिक आधार पुष्टि हुन्छ । नेपाली संस्कृतिको इतिहास हेर्दा राजनीतिक रूपले, आर्थिक रूपले महिलाहरूले लिच्छवीकाल, मल्लकाल र शाहकालमा पनि कुशल नेतृत्व दिएका प्रमाणहरू छन् ।

त्यतिवेला कला–कौशलमा निपूर्ण महिलाहरू भएको इतिहास पढ्दा भेटिन्छ भने अर्कोतिर सती प्रथा, बहुविवाह, बाल विवाहलगायतका महिलाहरूलाई सामाजिक–सांस्कृतिक शोषण गरी संस्थागत रूपमा शोषणलाई प्रश्रय दिएको पनि पाइन्छ ।

कुन कालखण्डमा कुन समाजमा, कस्तो वस्तुस्थितिमा, कस्तो उद्देश्यले कुरा गरिएको थियो भनी इतिहास पुनः लेखन नगरी तत्कालीन राजा–रजौटाका पुरुषार्थको इतिहासले मात्र हाम्रोजस्तो सामाजिक–सांस्कृतिक रूपले जटिल समाजको अध्ययन अपुरो हुने देखिन्छ।

धार्मिक–सांस्कृतिक रूपमा महिलाहरूलाई अनेक बहानामा विभेद गरिएको हाम्रो समाजमा त्यस्तो देखिन्छ । कतिपय बाध्यकारी, कतिपय सिर्जित देखिन्छ । जैविक रूपले महिलाले प्रजननमा र आर्थिक रूपले पुनः उत्पादनमा सामाजिक र सांस्कृतिक रूपले उत्पादन, वितरण र उपभोगमा विभेद देख्न सकिन्छ ।

हाम्रो समाजको प्रारूप नै त्यस्तै छ र क्रमशः परिवर्तन हुँदै छ । तर, बदलिँदो परिवेशमा सहरी क्षेत्रका महिलाबाट मानसिक र सामाजिक रूपमा पुरुष पनि त शोषित भएका घटना छन् । यस्ता घटनाहरू यत्रतत्र सुनिन थालेको छ । हाम्रो समाजमा मनोवैज्ञानिक लैंगिक समस्याहरू धेरै देखिन्छन् ।

पारपाचुकेको संख्या बढ्दै गएका छन् । महिला र पुरुषको सम्बन्धको आधार जैविकीय तत्व हो र सामाजिक–सांस्कृतिक आधार जैविकीय सम्बन्धको उपज हो । जति पनि असमानता र शोषण छन्, यही पृष्ठ भूमिमा भएका छन् ।

प्रतिक्रिया