मन्त्रालयमा समेत नगरपालिकाको डोजर चल्यो

जनकपुर । जनकपुरधाम उपमाहानगरपालिकाले सडकको मापदण्डभित्र परेका प्रदेशको एक मन्त्रालयको भवनमाथि डोजर चलाइएको छ ।

पिराडी चोकदेखि जनकपुर चुरोट कारखानाको बीचमा रहेको प्रदेश–२ का भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको भवनमाथि डोजर चलाइएको हो ।

सडकको मापदण्डमा परेका भवनहरूलाई हटाउन पटकपटक ताकेता गरिए पनि सम्बन्धितले ध्यान नदिएपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह आफैँ गएर भवन तोडाउन लगाएका हुन् । यससँगै स्थानीय सरकारको शक्ति प्रदर्शनसमेत देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सहरलाई सुन्दर बनाउने अभियानलाई सार्थकता दिलाउनका लागि मेयरको आफनै पहलमा गरिएको कामको अधिकांशले प्रशंसासमेत गरेका छन् ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका–९ का वडाध्यक्ष प्रमेश्वर साहको घरमाथि पनि डोजर चलाइएको छ । जनकपुरधामको पिडारीचोक र थापाचोकको बीचमा रहेको वडाध्यक्ष साहको घरमाथि आइतबार बिहान डोजर चलाइएको हो । वडाध्यक्षलगायत त्यहाँका अन्य चार-पाँच जनाको सडकमा पर्ने घरको भाग डोजर लगाएर तोडिएको छ ।

उपमहानगरपालिकाले सडकमा परेको वडाध्यक्षको घर तोड्न पटकपटक आग्रह र परिपत्रसमेत गर्दा नतोडेपछि डोजर चलाएर तोडिएको मेयर लालकिशोर साहले बताएका छन् । जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी एकीकृत सहरी विकास परियोजनाअन्तर्गत भइरहेको सडक निर्माण एवं विस्तारको काममा वडाध्यक्षले घर नतोडेपछि तीन महिनादेखि अवरोध भएको भन्दै डोजर लगाएर तोडिएको मेयर साहको भनाइ छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घर आइतबार बिहान नौ बजे व्यापक प्रहरीको उपस्थितिमा डोजर लगाएर तोडिएको हो । वडाध्यक्ष प्रमेश्वरले सडकमा परेको आफ्नो घरको भाग नतोड्दा जनकपुरको पिडारीचोक र थापाचोकको बीचमा पर्ने अन्य चार÷पाँच जनाले घर तोड्न नमानेपछि त्यहाँ सडक निर्माणको काम अवरुद्ध भएको मेयर साहको तर्क छ ।

घर तोड्ने क्रममा वडाध्यक्ष प्रमेश्वर साहसहित परिवार घर अगाडि अवरोध गरेपछि प्रहरीले बलपूर्वक हटाएका थिए । वडाध्यक्षसहित उनकी पत्नी चाँदा साह, दाई लालबाबु साह र भान्जा वसन्त साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले तीन घण्टा हिरासतमा राखेर छोडेको छ ।

अगामी ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडिबी परियोजनाको काम पिडारीचोकमा वडाध्यक्षको घरले अवरोध भएको भन्दै केही स्थानीयहरूले पटकपटक सडक अवरुद्ध गर्ने गरेका थिए । केही दिनअघि मेयर लालकिशोरलाई स्थानीयहरूले घेराबन्दीसमेत गरेका थिए ।

आइतबार बिहानसमेत त्यहाँका केही स्थानीयहरूले तेस्रोपटक वडाध्यक्ष साहको घर तोड्नुपर्ने र सडक निर्माणको काम गर्नुपर्ने भन्दै चक्कजाम गरेका थिए । चक्कजाम खोल्न पुगेका मेयर लालकिशोर र उपमेयर रीता झालाई घर अहिले नै तोड्नुपर्ने स्थानीयले दबाब दिएपछि प्रहरीको सहयोगमा एकाएक घरमाथि डोजर चलाएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जनकपुरको अन्य दुई÷तीन स्थानमा अवरोध भएको र त्यसको कारणले सडक निर्माण र विस्तारजस्ता विकासको काममा ढिलाई भएकाले अब त्यस्ता घरमाथि पनि डोजर चलाइने मेयर साहले चेतावनी दिए । यता वडाध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दाबी गर्दै मेयर लालकिशोरले पूर्वाग्रही र रिसीइबी साध्न तोडेको आरोप लगाएका छन् ।

०७० सालमा भएको साढे ५२ फिट सडक नापीमा आफ्नो घर नपरेको बताउँदै वडाध्यक्ष प्रमेश्वरले एकाएक मेरो घरमाथि डोजर चलाए, रोक्न खोज्दापुरा परिवारमाथि नै प्रहरी लगाएर ज्यादती गरे । अन्याय गरे, पक्राउ गरेर प्रहरी हिरासतमा राखियो भने ।

सुरुदेखि नै मेयर लालकिशोरको गलत क्रियाकलापको विरोध गर्दा यस्तो दुर्दशा भोग्नुपरेको र आफ्नो घरसमेत त्यही कारणले तोडेको वडाध्यक्ष प्रमेश्वरले आरोप लगाएका छन् ।

प्रतिक्रिया