किसान मर्कामा


दाङ । हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन ।

तुलसीपुर बजारमा आलुको बीउ किन्न आएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले आफू पाँचवटा पसलमा गएको र प्रत्येक पसलमा आलुको बीउको मूल्यमा फरक पाएको बताईन । ‘एउटै आलुको पसलैपिच्छे फरक छ, उनले भनिन, ‘उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरू चर्को मूल्य तिर्न बाध्य भएका छौं ।’

त्यसैगरी दङ्गीशरण गाउँपालिका ३ रावत गाउँका शोभा अधिकारीले एउटै आलुको फरक÷फरक मूल्य पाएपछि बीउ किन्न अन्योल भएको बताईन । अहिले तुलसीपुर बजारमा मात्र होइन नारायणपुर, घोराही, लमही, भालुबाङ लगायतका बजारमा फरक÷फरक मूल्यमा आलुको बीउ बिक्री हुने गरेको छ ।

उपभोक्ताले मूल्यमा एकरुपता ल्याउन सरोकारवाला निकायसंग माग गरेका छन । तुलसीपुर बजारमा आलुको बीउ लिन आएका तुलसीपुर ४ खर्चबाका तिलक चौधरी सम्बन्धित निकाय मौन बसेपछि मारमा परेको बताउछन । उनले भने, ‘कालाबजारी गर्नेलाई कारवाही गरिनुपर्छ ।’

सरोकारवाला निकायले प्रभावकारी रूपमा अनुगमन नगर्दा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दुई हजार २ सय हेक्टर जमीनमा आलुखेती हँुदै आएको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया