विश्व

साउदी पत्रकारको टर्कीमा हत्या

एजेन्सी २०७५ असोज २२ गते ७:४८ मा प्रकाशित

टर्की । यहाँको प्रहरीले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीलाई इस्तानबुलस्थित उनकै देशको वाणिज्य दूतावासमा हत्या गरिएको आफूहरूको विश्वास रहेको बताएको छ ।

हुन त प्रहरीले त्यस्तो निष्कर्षमा पुग्नुको पछाडि कुनै प्रमाण प्रस्तुत गरेको छैन, तर गत मंगलवार साउदी वाणिज्य दूतावास गएपछि खशोग्गी बेपत्ता भएका थिए ।

साउदी अरेबियाका अधिकारीहरूले टर्कीको प्रहरीको आरोपलाई आधारहीन भनेको छ । साउदी अधिकारीहरूले खशोग्गी त्यो दिन दूतावास भवनबाट निस्किसकेको बताउने गरेका छन्, तर टर्कीले उनको हत्या गरिएको र त्यसपछि शव हटाइएको जनाएको छ ।

टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा पत्रकारको हत्या गराइएको पुष्टि भए दुई देशबीचको सम्बन्ध नाटकीय रूपमा चिसिन सक्ने बताइएको छ । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्ट पत्रिकाले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले पत्रकार खशोग्गीको बेपत्ता प्रकरणबारे थप सूचना सङ्कलन गरिरहेको बताएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।
खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणज्य दूतावास गएकी थिइन्, तर उनलाई वाणिज्य दूतावास छिर्न दिइनन् ।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको बताइएको थियो । साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको उनी आलोचक रहिआएका थिए ।
यसअघि अल–वतन पत्रिका र केही समय चलेको साउदी टीभी न्यूज च्यानलका सम्पादक रहिसकेका खशोग्गीले साउदी अरेबिया र मध्यपूर्वबारे बीबीसी कार्यक्रमका लागि पनि काम गरेका थिए ।

साउदी राजपरिवारका सल्लाहकार रहिसकेका खशोग्गीले प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि साउदी छाड्नुअघि कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा पनि हेर्ने गरिन्थ्यो ।

किशोर ओसामा बिन लादेनसँग नजिकको सम्बन्ध रहेकोमा पनि चिनिएका खशोग्गीले उनीसँग सन् १९८० को दशकमा अफगानिस्तानको व्यापक भ्रमण गरेका थिए । यद्यपि उनले सार्वजनिक रूपमै ओसामा बिन लादेनका दर्शनहरूको आलोचना गरे । र, सन् २००१ मा अमेरिकामा गरिएको हमलाभन्दा पहिल्यैदेखि नै उनी ओसामा बिन लादेनको सम्पर्कमा थिएनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय