मौलाघर एक बलिस्थल

गोरखा । सिरानचोक, मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विकस्थलको रूपमा परिचित रहेको छ । नेपाल एकीकरणको प्रारम्भिक थलो र पुरातात्विक महत्वले विशेष नाम कमाएको ऐतिहासिकस्थल हो सिरानचोक ।

सिरानचोकको प्रसिद्ध ठाउँहरूमध्ये सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको शिरमा घनाजंगलको बीचमा अवस्थित श्रीनाथ मण्डलीको दक्षिण–पूर्वी भागमा मौलाघर (बलि स्थल) रहेको छ । यसको छुट्टै विशेषता रहेको छ ।

श्रीनाथ र मण्डलीमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनले चढाउन लिएर आएका बलि यही मौलाघर (बलि स्थल) मा दिइन्छ । उहिले सिरानचोकका पाखाहरूमा गुरुङहरूले खर्कहरू राख्ने गर्दथे ।

पछि गएर अरू जातिले पनि त्यस ठाउँमा खर्क, खर्चरीहरू राख्न थाले । गुरुङ समुदायको आफ्नो स्वामित्वमा रहेको खर्कहरूमाथि अन्य जातिले आक्रमण गरेका थिए । अन्य जातिले गुरुङ समुदायको स्वामित्वमा रहेको खर्कहरूमाथि जबरजस्ती रूपमा कब्जा जमाएको हुँदा तिनीहरूलाई जफती भनिन्थ्यो ।

खर्क राख्नेहरूले हरेक वर्ष दसैँको नवमीका दिन अनिवार्य रूपमा बलि चढाउने प्रचलन रहेको थियो । त्यही परापूर्व कालदेखि चलिआएको परम्परा आजसम्म पनि रही आएको छ । मुख्य रूपमा चढाइने बलिको प्रसाद घरघरमा वितरण गर्ने चलन रहेको छ ।

प्रत्येक वडादसैँको घटस्थापनाका दिन मौलाघर (बलि स्थल) मा जौ वा मकैको जमरा राखिन्छ । फूलपातीका दिन भएसम्म बेलपत्र नभए कुनै फल दिने रुखको फेदमा पूजा पाठ गरी बोका काट्ने चलन रहेको छ । रुखका हागामा विभिन्न रंगका ध्वजाहरू बाँधी उक्त हाँगा काटेर मौलाघर (बलि स्थल) ल्याई फूलपाती भित्र्याउने गरिन्छ ।

अस्टमीको मध्यरात ११ बजेर ५९ मिनेटमा कालरात्रि जगाउन कालो बोकाको भोग चढाउने रित चलिआएको छ । नवमीका दिन राँगा, बोका, कुखुराको बलि चढाइन्छ भने श्रदालु भक्तजनहरु भाकल गरेबापत् बलि चढाउन र आफ्नो मनको इच्छा पूरा होस् भनी वरदान माग्न आउने गर्दछन् । भक्तजनहरूले लिएर आएका राँगा, बोका, कुखुरा, हाँस, परेवा आदि मौलाघरमा बलि चढाइन्छ ।

दशमीका दिन नजिकै रहेका नदी वा नालामा फूलपाती लगेर सेलाउने प्रचलन रहेको छ । ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सौन्दर्य, धार्मिक महत्वले इतिहास बोकेको मौलाघरको संरक्षण, सम्वर्धन र विकास गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया