पाकिस्तानबाट नेपाललले पनि सिक्ने कि ?

चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको छ । राष्ट्रिय अभियानलाई पूरा गर्न सबैको सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिस्तानी सेनाको भनाइसमेत बाहिर आएको छ । खान सरकारप्रति सेना पूर्णरूपमा बफादार देखिन्छ भन्ने टिप्पणी आइरहेको वेला सेनाले नै चन्दा अभियानलाई महत्वपूर्ण सहयोग गरिरहेको छ

काठमाडौं । चन्दा उठाएर साना र सामान्य काम भएको त आम मानिसलाई थाहा छ । तर, ठूला–ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ ।

तर, पछिल्लोपटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३ सय मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन् । पछिल्ला केही वर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ ।

दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हुँदै आएको छ । निर्माणमा रहेका केही आयोजनामा चरम बेथिति र भ्रष्टाचार व्याप्त छ । राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनामा समस्या परेका छन् ।

बर्सेनि बढिरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ । तर, समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ । त्यो हो राष्ट्रियरूपमा चन्दा अभियान चलाउने र बृहत् परियोजनालाई सार्थक बनाउने । पाकिस्तानमा कुल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ । कुल जडित क्षमता २५ हजार मेगावाट भए पनि ऊर्जाको चरम संकट रहेको छ ।

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । विलासी सवारी साधनको बिक्री–वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यावहारिकरूपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्लो दिनमा चर्चित छन् ।

पाकिस्तानलाई आर्थिकरूपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ । विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन् । तर, दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ । त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि’ ।

जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सुरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिए ।

पाकिस्तानमा चन्दा संकलन अभियान सुरु गरिएको हो । ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि त्यस्तो अभ्यास गरिएको हो । जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको हो निसारलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दाजस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो ।

टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ । तर पाकिस्तानले भने देशभित्रै १२ दशमलव ४ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्बभन्दा बढी हुन जान्छ ।

पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी पाकिस्तानमा ४५ सय मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८ सय मेगावाट क्षमताको मोहम्मद बाँध निर्माण गरिनेछ ।

करिब ३० हजार करोड रुपैयाँ लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ । तर, आर्थिक अनियमितता र भ्रष्टाचारका कारण आयोजननाको कारण सोचेजति प्रगति हुन सकेको छैन । सवा लाख करोड रुपैयाँ लागत रहने ठानिएको दायमर बासाको काम लगानीको अभावमा हालसम्म सुरु हुन सकेको छैन ।

पाकिस्तानका आर्थिक मामलाका जानकार खुर्म हुसैनका अनुसार सरकारले नै परियोजना जिम्मा लिएकाले चन्दा अभियान सफलताको दिशामा अगाडि बढेको छ । धेरै नागरिक उत्साहित भएका छन् । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीव्र गतिमा अभियान थालिएको हो ।

उनले चन्दा उठाएर परियोजना अगाडि बढाउने विषय महत्वपूर्ण भए पनि पैसा जम्मा पार्न सरकारले अन्य विकल्प पनि खोज्नुपर्ने बताए । ‘पैसा जम्मा गर्नका लागि अन्य नयाँ विकल्पमा पनि ध्यान दिनु आवश्यक छ’, खुर्मले भने ‘नागरिकलाई नै विश्वासमा लिएर लगानीका लागि आग्रह गर्नु असाध्यै ठूलो काम हो । तर, यसले मात्रै सबै रकम नजुट्न सक्छ । अन्तर्राष्ट्रिय दाता संगठनसँग पनि सम्पर्कमा रहन र उनीहरूलाई लगानीका लागि आग्रह गर्न सकिन्छ ।’

स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फन्ड’ खाता खोलिएको छ । ६ अक्टोबर, २०१८सम्म सो खातामा चार अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ ।

पाकिस्तानका अधिकाशं सञ्चारमाध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन् । विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गराैँ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन् ।

ती ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताएका छन् । सो अभियानलाई प्रधानमन्त्री–प्रधानन्यायाधीश कोष नाम दिइएको छ ।

उनले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने र अभियान विरुद्ध गए कारबाहीको भागिदार बन्नुपर्ने चेतावनीसमेत दिएका छन् । ती ठूला बाँध बनाउनका लागि सरकारलाई पाकिस्तानको सेनाले पनि ठूलो सहयोग गरेको छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले १ सय करोड पाकिस्तानी मुद्राको चेक हस्तान्तरण गरिसकेका छन् । पाकिस्तानी सरकारसँग सो बाँध बनाउनका लागि १ सय ४३ करोड पाकिस्तानी मुद्रा मात्रै रहेकाले पनि चन्दा उठाउन थालिएको हो ।

चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको छ । राष्ट्रिय अभियानलाई पूरा गर्न सबैको सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिस्तानी सेनाको भनाइसमेत बाहिर आएको छ । खान सरकारप्रति सेना पूर्णरूपमा बफादार देखिन्छ भन्ने टिप्पणी आइरहेको वेला सेनाले नै चन्दा अभियानलाई महत्वपूर्ण सहयोग गरिरहेको छ ।

पाक प्रधानन्यायाधीश निसारले दैनिक रकम जम्मा हुने क्रम बढिरहेको र त्यसले आफूलाई उत्साहित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिए । रकम दिन दिनै बढीरहेको छ । धेरै नागरिक उत्साहित भएका छन् । सरकारले लिएको चन्दाको समेत रेकर्ड राखिएको छ । कुन स्थानबाट कसले कति चन्दा दियो भनेर पारदर्शीरूपमा सार्वजनिक गरिएको छ । यसले सरकारप्रति नागरिकको विश्वाससमेत बढ्दै गएको छ ।

प्रधानमन्त्री इमरान खानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि लामो अपिल गरेका छन् । उनको अपिलमा ‘हामीले हाम्रा लागि गराँै, आफ्नो क्षमतामा गरौँ र आफूलाई विश्वास गराँै’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

चन्दा संकलनका लागि पाकिस्तानको प्रमुख सहर, चोक तथा गल्ली गल्तीमा ठूला ठूला ब्यानर राखिएका छन् । सञ्चारमाध्यममा समेत श्रव्य–दृश्य समग्री प्रसारण गरिएको छ । नागरिकलाई किन चन्दा दिने, सरकारलाई किन सहयोग गर्ने भन्ने आशयका सामग्री प्रकाशन र प्रसारण गरिएको छ । पाकिस्तानमा एक प्रकारको राष्ट्रवादी भावना जागृत भएको छ ।

पाकिस्तानका आर्थिक मामलाका विश्लेषक हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो भएको भन्दै नागरिकमा एक प्रकारको उत्साहको सञ्चार भएको र सरकार हाम्रै लागि काम गर्दैछ भन्ने स्थापित भएको बताए । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीव्र गतिमा अभियान थालिएको हो । यसले सबैले देशलाई लगानी गरौँ, देशले पछि दिनेछ भन्ने भावना जागृत भएको छ ।

पाकिस्तानले चन्दा उठाएर केही ठूला परियोजना सञ्चालन गर्न सक्छ भने नेपालमा पनि त्यस्तो अभियान अगाडि बढाउन सरकारले प्रयास गर्न सक्छ । किनकी पाकिस्तानको खान नेतृत्वको सरकार नवनिर्वाचित हो ।

उसले अगाडि सारेका केही कार्यक्रमले यतिखेर संसारको ध्यान खिचिरहेको छ । के नेपालले पनि खान सरकारजस्तै केही सकारात्म्क अभियान सञ्चालन गर्न सक्छ ? प्रश्न अहं र महत्वपूर्ण रहेको छ । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया