अझै परम्परागत कुवाकै भर

संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीमा साना सहरी खानेपानी आयोजना सम्पन्न भएको छ । पटक–पटक समय थप गरेर करिब ४३ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न भयो र पनि खादबारीका बासिन्दा कुवा र धाराको पानीमा निर्भर छन् भन्दा अनौठो लाग्न सक्छ । यो वास्तविकता हो । खादबारीवासी वर्षौदेखि कुवा र धाराको पानीको भरमा रहेका छन् ।

मुलुकका धेरै ठाउँमा खानेपानीको अभाव भनेर समाचार आउने गरेका छन् । तर, खाँदबारीमा त्यो समस्या भने छैन । आयोजनाबाट पानी त आयो होला नि ? भन्ने खुल्दुली लाग्न सक्छ । हो ! आयोजनाको पानी खाँदबारीमा आयो र उपभोग पनि भई रहेको छ । तर स्थानीय शुद्ध खानेपानीको लागि कुवा र धारा नै धाउने गर्छन् । आयोजनाको पानी शुद्ध नभएकोले स्थानीय कुवा र धाराको भरमा रहेका छन् ।

खाँदबारीमा सञ्चालित खानेपानी आयोजनाको लाइनबाट कहिलेकाहीँ लेदोसमेत आउने गरेका कारण स्थानीय धारा र कुवा नै प्रयोग गरिरहेका छन् । सदरमुकाम खाँदबारी वरीपरी करिब १५ भन्दा बढी धारा र कुवा रहेका छन् । खाँदबारीमा बढी भिडभाड हुने कुवा तथा धारा मध्ये दर्शने धारा, सातकुवा, टिके धारा, ढोलबाजे धारा, विष्ने धारा, आकासे कुवा, र ढुंगे धारा प्रमुख हुन् । खाँदबारीका स्थानीय यिनै धारा तथा कुवाको पानी प्रयोग गर्दै आएका छन् ।

आयोजनाको पानीले कपडा धुन नुहाउन साथै अन्य दैनिक उपभोग्य काम मात्रै हुने र सीधै पिउन नहुने भएकोले धारा तथा कुवाको भरपर्नु परेको खाँदबारीका स्थानीय सन्तोष चापागाईले बताए । उनले भने, ‘आयोजनाको पानीमा कहिलेकाहीँ कोलिफर्म भेटिएको पनि सुनेका छाँै, त्यसैले लाइनको पानी सीधै पिउनलाई प्रयोग गर्दैनौँ ।’

पानीको मुहान सुक्दै

तीव्र जनसंख्या वृद्धि र सहरिया जीवनशैलीमा आकर्षण भएका कारण खाँदबारीमा दिनानुदिन सहरीकण बढिरहेको छ । दिनानुदिन सहरीकरण बढ्दा पानीको मुहानमा प्रत्यक्ष असर परेको छ । सदरमुकाम खाँदबारीमा धेरैवटा पानीका मुहान सुकिसकेका छन् ।

खाँदबारी बजारमा पहिले धेरै पानीका मुहानहरू भए पनि केही सुकिसकेको र भएका मुहानमा पनि पानीको मात्रा घट्दै गएको स्थानीय अर्जुन चापागाईंले बताए ।

उनले भने, ‘खाँदबारी नगरपालिकाको गेटअगाडि एउटा कुवा थियो, त्यसको आजभोलि नामोनिशान छैन, दर्शने धारो पनि पहिले धेरै ठूलो थियो, अहिले त्यो पनि घटिसकेको छ’ उनी थप्छन् ‘पहिले खादबारीमा यतिधेरै घरहरू थिएनन्, तर अहिले सहर भइसकेको छ, पानीको मुहान संरक्षणमा कसैले चासो दिएनन् ।’

स्थानीय फडिन्द्र निरौला भन्छन्, ‘खाँदबारीको सनसाइन बोर्डिङ तलतिर निकै ठूलो धारा थियो, तर अहिले बाटो विस्तार भएका कारण त्यो धारामा मात्रै सीमित भएको छ, धारो त छ तर पानी भने सुकिसक्यो । हाम्रा पालामा यो निकै ठूलो थियो, त्यसैको माथिबाट बाटो खनियो, तलमाथि घरहरू बने अहिले पानी नै सुक्योे । पानीको मुहान संरक्षणमा ध्यान नै नदिई बाटो खनियो घर बनाइयो, अहिले मुहान नै सुक्यो ।’

गुणस्तर अनुमगन भएन

सदरमुकाम खाँदबारीका स्थानीय धारा तथा कुवाको भरमा हँुदा समेत गुणस्तर कस्तो छ भनेर खासै अनुगमन भने भएको छैन् । सिंगै बजार धारा तथा कुवाको पानीको भरमा हुँदासमेत कुन धाराको पानी कति गुणस्तरीय छ भन्ने कुरा न स्थानीयलाई थाहा छ न त सरोकारवाला निकायलाई नै । पानीको गुणस्तर कस्तो छ भनेर स्थानीयले पनि खोजी गरेका छैनन् ।

स्थानीयस्तरमा भएका पानीको स्रोतको गुणस्तरीयता मापन भएन नै तर खाँदबारीमा सञ्चालित खानेपानी आयोजनाको पानीसमेत कस्तो छ भनेर स्थानीयले जानकारी पाउन सकेका छैनन् । आयोजना निर्माण समितिका अध्यक्षले नै केही दिनअघि खाँदबारी नगरपालिकाकै मेयरको घरमा कोलिफर्म भेटिएको बताए पनि समितिले त्यो पानीको लाइन बन्द भने गरेनन् ।

समितिले दिएको जानकारीअनुसार पानीको गुणस्तर परीक्षण नापेको भने पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक गरेर स्थानीयलाई जानकारी गराइएको छैन । कोलिफर्म भेटिएको पानी भनेर समितिका अध्यक्षले नै सार्वजनिक कार्यक्रममा बोल्दा किन धारा बन्द गर्न लगाइएन भनेर स्थानीय उपभोक्ताले खोजेका पनि छैनन् । उपभोक्ताहरू पानीको गुणस्तर कस्तो छ भन्ने जानकारी पाउने कुराबाट समेत वञ्चित भएका छन् ।

प्रतिक्रिया