संगीतमा जम्दै रामु

काठमाडौं । भेला, घाँसपात तथा गाउँघरमा गाइने लोकभाकामा गीत गाउँदै हुर्केका संगीतकार रामु खडका पछिल्लो समय नेपाली संगीत क्षेत्रमा परिचित अनुहार हुन् ।

सल्यान जिल्लाको अन्यन्तै विकट गाउँ ढाकाडाम, भालुखोलामा जन्मिएका खड्का नेपाली गीत संगीतका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि योगदान दिइरहेका छन् । उनले सयौँ गीतमा संगीत गर्दै पारखीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

मेलापात, घाँसदाउरा, गाईवस्तु हेर्न जंगल जाँदा गुनगुनाउने गीतले पछि उनलाई सांगीतिक क्षेत्रमा डोर्यायो । गरिब परिवार तथा विकट क्षेत्रमा हुर्किएका रामु त्यो गाउँबाट एसएलसी पास गर्ने पहिलो र पहिलोपटक काठमाडौं प्रवेश गर्ने व्यक्ति हुन् ।

सांगीतिक यात्रामा उनले हजार ठक्कर खाइसकेका छन् । जीवन संघर्ष हो भन्ने भनाइलाई ध्यानमा राख्दै उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाए । यसले उनलाई नेपाली गीत संगीतका क्षेत्रमा परिचित मात्र बनाएन एक कुशल संगीतकारका रूपमा स्थापितसमेत गरायो ।

अहिले रामुद्वारा संगीतबद्ध गीत प्रायः सञ्चारमाध्यममा गुञ्जिन्छन् ।

उनी संगीतका साथै शब्द रचना र गायनमा समेत उत्तिकै सक्रिय छन् । ‘साथी बनेर’ लोक दोहोरी गीतबाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका उनले यसै गीतबाट हाइलाइट्स लोक दोहोरी अवार्ड समेत हात पार्न सफल भए ।

उनले अहिलेसम्म करिब हजारको हाराहारीमा संगीत सिर्जना गरेका बताए । उनले राष्ट्रिय लोक दोहोरी म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्ड, छायाँछवि तीज म्युजिक अवार्डलगायत दर्जनौँ अवार्ड प्राप्त गरिसकेका छन् ।

उनले संगीत गरेका गीतहरू ‘मर्ने मिति,’ ‘नियति,’ ‘रोएर हेर, ‘बरु यसै दुखी छु,’ ‘स्वर्णपदक,’ ‘तिम्लाई पार्दिन्न रुन,’ सधैँ कुरिरहन्छु,’ ‘आजभन्दा भोलि माया,’ ‘म त मगर,’ लगायतका रहेका छन् ।

पहिले–पहिले लोक तथा दोहोरी गीत संगीत गाउँघर तथा संस्कृतिको सेरोफेरोभित्र संकलन हुन्थे तर, पछिल्लो समयमा कोठे सिर्जनाका रूपमा आएको रामुले गुनासो गरे । यस्ता गीत बजारमा आइरहँदा उनी भने गीत सिर्जना गर्दा त्यही गाउँबस्ती र कुनाकन्दरामा पुग्नुपर्छ भन्ने मान्यता राख्छन् ।

वेलावेलामा उनी आफू पनि त्यस स्थानमा पुग्छन् र लोकभाकाको मौलिकता टिपेर ल्याउँछन् । उनी भन्छन्, ‘आफू जहाँ नै रहे पनि आफ्नो गाउँ ठाउँ र सामाजिक परिवेशलाई छातीमा राखेर हिँडेको खण्डमा जुनसुकै स्थानमा रहेर पनि मौलिक गीत सिर्जना गर्न सकिन्छ ।’

प्रतिक्रिया