टिकट काउन्टरमा ‘सुराकी’

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नजिकिँदै गरेको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

नागरिकको सुरक्षाका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकरी दिए ।

बाँके जिल्लाबाट र जिल्लामा प्रवेश गरेर बाहिरिने सवारीमा सवार नागरिक (यात्रु) लाई सहजताका लागि नेपालगञ्ज र कोहलपुर बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गर्ने भएको उनले बताए । उनका अनुसार नेपालगञ्ज बसपार्कमा सहायता कक्ष स्थापना भइसकेको छ । कोहलपुरमा उक्त कक्ष स्थापनाको तयारी भइरहेको छ ।

उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरिनेछ । यसैगरी बसपार्क क्षेत्रमा यात्रुको जानकारीका लागि माइकिङ गर्ने र जिँगल बजाउने तयारी पनि भइरहेको उनले जानकारी दिए ।

‘यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरै वटा सिटको टिकट काट्ने, आवश्यकताभन्दा बढी रकम लिने गरिएको जस्ता गुनासा यसअघि आउने गरेकाले अहिले हामीले त्यसको सुराकीका लागि काउन्टरहरूमा सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेका छौँ’, ट्राफिक प्रहरी प्रमुख रोकायले भने, ‘उनीहरूले काउन्टरमा भइरहेको गतिविधिबारे सुक्ष्म निगरानी गर्नेछन् । कानुन विपरीत कार्य भएको पाइए कारबाही हुनेछ ।’

नेपालगञ्ज र कोहलपुर बसपार्कमा रहने सहायता कक्षबाट यात्रुहरूको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रूपमा अनुसन्धान गरी आवश्यक व्यवस्थापन गरिने उनले बताए । ‘नागरिक सहायता कक्ष र टिकट काउन्टरहरूमा देखिने गरी भाडा दररेट राखेर अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाउन पनि यातायात समितिलाई आग्रह गरिएको उनले जानकारी दिए ।

दसैँ, तिहार र छठ पर्वका वेला टिकट सकिएको अवस्थामा यातायात व्यवसायीसँगको सहकार्यमा थप गाडीको व्यवस्था गर्नका लागि केही दिनमा यातायात व्यवसायीसँग छलफल गर्ने योजना पनि रहेको उनले बताए ।

यस अवधिमा रातीको समय १० बजेपछि नेपालगञ्ज, कोहलपुर लगायतका विभिन्न क्षेत्रमा जनपथ प्रहरीसँगको सहकार्यमा मापसे लगायतका चेकजाँच कडा रूपमा गरिने भएको छ ।

यसैबीच चाडबाडलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले सीमामा कडा सुरक्षाको प्रबन्ध मिलाउने भएको छ । दसैँलाई लक्षित गरेर उनीहरूको परिचालनलाई व्यापक बनाउँदै नियमित चेकिङमा थप कडाइ गरिनेछ । प्रहरीका अनुसार नेपालगञ्ज भित्रिने र बाहिरिने नाका जमुनाहमा मापसे सहितको चेकजाँच राखिने भएको छ ।

चालकले मादकपदार्थ सेवन गरेको पाइए सम्बन्धित व्यावसायिक कम्पनीसँग समन्वय गरेर अर्को चालकको व्यवस्था गरी यात्रुलाई गन्तव्यसम्म सहज रूपमा जान व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया