नर्सिङ नाउ क्याम्पेन’ सुरु

काठमाडौं । नर्सलाई अझै थप सशक्त बनाउन नेपालमा ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु भएको छ । उत्कृष्ट स्वास्थ्य सेवा बनाउनका निम्ति नर्सहरूको सशक्तीकरण भन्ने नारासहित नर्सिङ क्याम्पेन नामक अभियान सुरु भएको हो ।

नेपाल नर्सिङ संघ तथा जनसंख्या मन्त्रालयअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको समन्वयमा बिहीबारबाट सुरु भएको ‘नर्सिङ नाउ क्याम्पेन’ को शुुभारम्भ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गरेका थिए ।

अन्तर्राष्ट्रिय नर्सिङ परिषद् र विश्व स्वास्थ्य संगठनको अगुवाइमा नर्सिङ अभियान सुरु भएसँगै नेपालमा पनि उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानमा सहभागिता जनाउने नेपाल १७औँ देश हो । २०१८ देखि २०२० सम्म अभियान चल्ने नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौलाले जानकारी दिइन् । उनले भनिन्, ‘यो विश्वव्यापी अभियान हो । सरकारसँगको समन्वयमा सुरु गरेका हौँ । यसले राम्रो प्रतिक्रिया दिन्छ ।’

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधारको जरुरी रहेको भन्दै नर्सिङ क्षेत्रमा पनि सुधारको खाँचो रहेको बताए । ‘परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ । सबैले आप्mनो प्रवृत्तिमा परिवर्तन ल्याएपछि राज्यले के–के योगदान गर्नुपर्छ, त्यो सबै कुरामा सहयोग हुन्छ’, उनले भने ।

नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष निरौलाले स्वास्थ्यसम्बन्धी पाठ्यक्रममा परिमार्जन गर्नुपर्नेमा जोड बताइन् । ‘समयानुकूल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय शिक्षा दिन सकियो भने मात्र दक्ष नर्स उत्पादन गर्न सकिन्छ उनले भनिन् ।’ अभियानमा नर्सहरूलाई गुणस्तरीय शिक्षा ज्ञान, सीप दिएर नेतृत्व र निर्णायक तहसम्म पु¥याउने लक्ष्य राखिएको उनले बताइन् ।

प्रतिक्रिया