पुटिन भारत भ्रमणमा

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् ।

रुससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् ।

दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्धहरू लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको हो । राष्ट्रपति पुटिन १९औं भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।

उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् । वासिंगटन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिना मात्र घोषणा गरेका थिए ।

दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो । तर रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

पुटिन र मोदीबीच अरू पनि सैन्य सामग्रीको आपूर्तिका बारेमा छलफल हुने बताइएको छ । भारत र रुसबीच सैनिक हेलिकोप्टर उत्पादनका बारेमा यसअघि नै सम्झौता भइसकेको छ, जसअन्तर्गत ६० वटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ ।

विज्ञहरूले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन् । चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँ–नयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

भारतीय वायुसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र ३६ वटा फ्रान्सेली लडाकु विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए । भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो र भारतले १ सय अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ । दोस्रो स्थानमा अमेरिका छ ।

अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरू बिक्री गर्दै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ ।

सन् २०१४ यता दुवै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । सोहि कारण भारत र अमेरिकाबीचको तिक्तता बढ्ने खतरा रहेको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया