बाटोले घर लगेपछि १५ वर्षदेखि पौवामा बास

सल्यान । दुई तलाको पौवा, कुनामा ओड्ने ओछ्याउने कपडा, छेउमा खाना पकाउने चुलो र भाँडाकुडा अनि यत्रतत्र छरिएका कपडा । वर्षा होस् या पुसमाघको जाडो सल्यान शारदा नगरपालिका–१ शान्तिनगरका ६० वर्षीय वीरबहादुर वादी यही प्रतीक्षालयमा विगत १५ वर्षदेखि दुःख काट्दै आइरहेका छन् । १५ वर्षअघि वादीको घरबाटै सडक लगेपछि उनी नजिकैको प्रतिक्षालयमा बस्दै आइरहेका छन् ।

जनता आवास कार्यक्रममार्फत जिल्लाका विभिन्न ठाउँमा धमाधाम घर निर्माण भइरहेका वेला उनी भने घरबारविहीन भएका छन् । शान्ति नगरमा पुख्र्यौली घर भएका उनी अहिले आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन हुनुपरेको छ । ‘यहाँ छरछिमेकमा सबैका पक्की घर बनेका छन् उनले भने, तर मेरो घर भएको ठाउँ अहिले गाउँले हिन्ने बाटोमा परिणत भएको छ । कमाउने मेसो केही छैन न त कमाउने सन्तान नै छन् ।’

घरबारविहीन भएका उनलाई अहिले पुर्खाले गरेको मादल बनाउने पेसाले हात मुख जोर्न सहयोग गरेको छ । उनी भन्छन्, ‘म प्रायःजसो गाउँतिर जाने गर्छु त्यहीँ मादल मोर्ने, मादलमा गोठी हाल्ने, मादल बजाउने, गीत गाउने गरेर छाक टार्ने जोहो गरिरहेको छु ।’

‘बिहे गरेकी पत्नी एउटी छोरी जन्माएर मरी । त्यो छोरीको बिहे पनि भइसकेको छ । वासको ठेगान नभएकाले छोरी पनि आउँदिनँ । आए पनि अरूको घरमा बसेर घर फर्किन्छे रे ! मसँग त भेट नभएको पनि धेरै भइसक्यो म गाउँतिर मादल बनाउने कामका लागि गएको वेला आएर जान्छे भन्ने सुनेको त्यसैले दुःख लाग्छ’, उनले थपे, आफ्नो घर भएको भए छोरी ढुक्कका साथ माइत त आउँदी हुन् ।’

कसैले घर बनाउनका लागि केही सहयोग गरिदिएमा भगवान्सरह मान्ने उनी बताउँछन् । ‘बुढेसकाल भइसक्यो न त बुढेसकालको सहारा छोरा छ न त घर नै छ’, उनले दुःखसुख हुँदै भने ‘जबसम्म आफ्नो हात चल्छ त्यतिन्जेलसम्म त खाना जुटाउँला तर पछि कसले पो हेर्ने होला भनेर चिन्ता लाग्छ ।’ गाउँमा काम सकिएको वेला यहाँ आउन मन लाग्छ । दुःखसुखको साथी यही पौवा बनेको छ । उनले भने, ‘जाडो, गर्मी, बर्खा जहिले र जुनसुकै समयमा पनि पौवामा नै गुजारा गर्ने गरेको छु ।’

वर्षातमा खासै समस्या नभए पनि पुषमाघको चिसोले निकै सताउने गरेको वादीले बताए । उनले भने, ‘१५ वर्षदेखि यही पौवामा रात काट्दै आइरहेको छु । पुसमाघको चिसोका रात काट्न निकै गाह्रो हुन्छ न त कुनै लगाउने न्यानो कपडा नै छ न त ओड्ने सिरक नै ।’ मादल मर्मत गरेको ५÷६ सय रुपैयाँ आउँछ त्यही रुपैयाँबाट घरखर्च चलाउँदै आइरहेको वादीले बताए । ‘मादल बनाउन सधँै आउँदैनन् चाडपर्वमा मात्र हो मादल बजाएर आएको पैसाले दुई छाक टार्दैै आइरहेको छु’, वादीले भने ।

प्रतिक्रिया