घेराबन्दीमा देउवा

काठमाडौं । कांग्रेसमा सभापतिको अधिकार र भावी सभापतिको उम्मेदवारका विषयमा संस्थापनइत्तर पक्ष एकजुट हुन थालेको छ ।

संस्थापन पक्षले सभापतिको अधिकार थप शक्तिशाली बनाउने तयारी गरेपछि रुष्ट बनेको नेता रामचन्द्र पौडेल पक्षीय समूह छलफलमा जुटेको छ ।

बालाजुको धौलागिरि सहकारीको कार्यालयमा भएको भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेल सहितका नेता उपस्थित थिए ।

शुक्रबारबाट विधान मस्यौदामा आएका सुझाबमाथि छलफल गर्न शुक्रबारबाट केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि उनीहरू एकजुट भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । १४ औँ महाधिवेशनमा उठ्ने सभापतिको उम्मेदवारका विषयमा कुरा नमिलेपछि त्यसलाई थाती राखेर विधानमै एकजुट भएर सभापतिको अधिकार कटौती गर्नेमा सबै नेता सहमत भएका छन् ।

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजिरहेका वेला संस्थापनइत्तर पक्ष छिन्नभिन्न बन्दा उनको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । नेविसंघ अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेल पक्षको आरोप छ ।

महाधिवेशन तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेल पक्षीय नेता सहमत भएका छन् । सो पक्षबाट सभापतिमा उम्मेदवार बन्न पौडेल आफैँ इच्छुक छन् भने महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन् । सभापतिको उम्मेदवारको नाम तय गर्ने छलफल चलाएमा पुन समूह छरपष्ट हुने भएकाले त्यसविषयमा तत्काल छलफल गर्ने निर्णय गरेका हुन् ।

संस्थापन इत्तरपक्षले सभापतिलाई बलियो बनाउने गरी विधान संशोधन मस्यौदा आए त्यसलाई नमान्ने निर्णय गरेको छ । देउवापक्षीय नेताहरूले सभापतिलाई थप शक्तिशाली बनाउने गरी विधान संशोधनको तयारी अघि बढाएपछि पौडेल पक्ष त्यसविरुद्ध उभिएको हो ।

विधान संशोधनको प्रस्तावमा सभापति मात्र निर्वाचनबाट चुन्ने तथा सबै मनोनयनको अधिकार सभापतिलाई दिने उल्लेख छ । देउवाइत्तर समूहले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने वैकल्पिक प्रस्ताव राखेको छ । ‘अहिलेको विधानबाट पछाडि फर्कन नमिल्ने ठहरसहित सभापतिलाई शक्तिशाली बनाउने प्रस्ताव अस्वीकार गर्ने सहमति भएको छ,’ बैठकपछि एक नेताले जानकारी दिएका छन् ।

यसैगरी, प्रदेश र केन्द्रका लागि छुट्टाछुट्टै प्रतिनिधि चयन गर्ने प्रस्ताव पनि नमान्ने सो समूहको निर्णय छ । संशोधन मस्यौदामा वडा तहबाटै प्रदेश र केन्द्रका लागि फरक–फरक प्रतिनिधि चयन गर्ने प्रस्ताव राखिएको छ । संस्थापन पक्षले १४ औँ महाधिवेशनमा पनि देउवा नै निर्वाचित हुने अनुमानका आधारमा सभापतिलाई थप अधिकार दिने गरी विधान संशोधन गर्न लागेको छ ।

विधानबाट आएका सुझावमाथि छलफल गर्न शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाब र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया