साँच्चै अनुपम रहेछ खप्तड


पश्चिम नेपालमा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज घुम्ने र त्यहाँको सुन्दर दृश्यको अवलोकन गर्ने वर्षोंदेखिको अभिलाषा यो पटक पूरा भयो । खप्तड क्षेत्रमा पर्ने बझाङ जिल्लासँग मेरो नाता जोडिएका कारण पनि खप्तडका बारेमा केही सुन्ने र त्यहाँका सुन्दर तस्बिर हेर्ने अवसर भने यसअघि नै पाएकी थिएँ ।

तर, खप्तडलाई आफ्नै आँखाले हेरेर मनोरम अनुभूति गर्नु र सुन्नु फरक रहेछ, खप्तड पुगेर थाहा पाएँ । तराईमा जन्मे हुर्केकीलाई पहाडी जिल्लाको रहनसहन, त्यहाँका रमणीय दृश्यको वर्णन लेखेर वा भनेर अपूरो हुने रहेछ । यसलाई छोटो शब्दमा भन्ने हो भने ‘खप्तड एकपटक हेर्र्नै पर्ने धर्तीको स्वर्ग रहेछ, साँच्चै अनुपम सुन्दर रहेछ खप्तड ।’

यो पटक मेरा लागि बझाङको यात्रा दोस्रो र अति अविस्मरणीय रह्यो । साविकको सेती अञ्चलको चार जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज सुन्दा मात्रै होइन हेर्दा पनि उत्तिकै मनमोहक रहेछ । खप्तड एकपटक हेर्नैपर्ने सुन्दर दृश्य र फाँटहरूले भरिएको स्थान रहेछ । निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा छ ।

०२२ सालमा स्थापना भएको निकुञ्जको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर छ । यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्नेमा कसैले शंका नगर्दा हुने रहेछ । हामी नेपालीका लागि यो प्रकृतिले दिएको अनुपम दृश्य हो । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक, जुन अर्को महत्वपूर्ण स्थान हो ।

खप्तड धार्मिक दृष्टिका साथै मनोरञ्जनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेछ । धार्मिक दृष्किकोणले हेर्दा ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र भूमि हो, खप्तड । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर रहेका २२ वटा पाटनले जो कोहीको मन लोभ्याउने रहेछ ।

त्रिवेनी

त्यहाँ पुगेपछि बसीरहुँजस्तो लाग्ने हरिया सुन्दर ठुल्ठूला तरेली परेको पाटन छोडेर आउनै मन नलाग्ने रहेछ । हरिया पाटनमा फूलेका ससाना सेता फूल कुनै कालीगढले फूलबुट्टा भरेर बनाएको कृत्रिम कार्पेटभन्दा कम लाग्दैन । यस प्राकृतिक कार्पेटमा आकाशतिर फर्की लमतन्न सुत्दा जस्तोसुकै थकाई पनि बिर्संदोरहेछ ।

त्यतिखेरको आनन्द शव्दमा वर्णन गर्न सकिँदैन । खप्तड घुमाइ वैशाख÷जेठमा हुने हो भने त्यहाँको अनेकन रंगीबिरंगी फूलले अझै आकर्षण थप्ने रहेछ । बैमौसमी भए पनि जंगलको बाटो हिँड्दा आउने फूलको मन्द सुगन्ध, स्वच्छ हावा, पानी, हल्का बादलले ढाकेको नीलो आकाश, पाटनमा फाट्टफुट्ट भेटिने चरिरहेका घोडा, बाटोमा भेटिने फाट्टफुट्ट यात्री ।

खप्तड बाबाकाे अाश्रम

साँच्चै जति वर्णन गरे पनि कम लाग्ने रहेछ । खप्तड क्षेत्रमा रहेका बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिकस्थलले यात्रुलाई आफूतिर तानिरहेका हुन्छन् । यी स्थल त्यहाँको निकै प्रख्यात धार्मिकस्थलभित्र पर्दछन् ।

 

 

सहस्त्र लिंग

धर्ममा आस्था नराख्ने मानिस पनि यहाँ गएपछि वास्तवमै स्वर्गको अनुभव गर्न थाल्दछ । यहाँको प्राकृतिक सुन्दरतामा मख्ख परेर आफू लाई बिर्सन वाध्य हुन्छ । दुई दिनको खप्तड बसाइँले यी सबै मनोरम स्थानको अवलोकन र दर्शन गर्दा भ्याइयो । खप्तड क्षेत्रमा लाग्ने विविध सांस्कृतिक मेला मध्ये गंगा दशहरा मेला पनि एक हो ।

उक्त मेला भर्न हजारौँ तीर्थयात्री भेला हुने रहेछन् । त्रिवेणी नदीमा स्नान गर्न र सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीय र वरपरका जम्मा हुने गर्दा रहेछन् । खापर दहमा फूल्ने सुन्दर फूल हेर्न नपाए पनि दह हेर्ने मौका गुमाइएन । दहमा पुग्दापुग्दै आकाशबाट वर्षेको पानीले जोडले स्वागत गर्न थालेपछि भने मुटु काप्न थाल्यो ।

पाटन

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समयलाई उपयुक्त मानिँदो रहेछ । खप्तडका २५ मैदानका साथै, वरिपरि ५३ वटा थुम्काहरूले घेरेको छ । जसलाई स्थानीय भाषामा ‘झोती’ भनिन्छ । किंवदन्तीअनुसार पाण्डव मध्येका भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेको मानिँदो रहेछ । जे भए पनि ती थुम्का र पाटन दक्ष कालीगढको मिहिनेत गरेर बनाएको भन्दा कम रहेनछ । खप्तड घुम्नका लागि मनोरञ्जन र धार्मिक दुवै दृष्टिले उपयोग गर्न सकिने रहेछ । यस्तो कमै स्थानमा पाइन्छ । हामीले खप्तडको यात्रा काठमाडौंबाट धनगढी हुँदै बझाङको तमेलबाट तय गरेका थियौँ ।

काठमाडौंबाट पति र म मात्रै भए पनि बझाङबाट हामीलाई अरू १० जना आफन्तले साथ दिएका थिए । घर बझाङको खप्तड छान्ना गाउँपालिकामा भएका कारण पहिलो दिनको बसाइँ घरमा भयो । असोजको पाँच गते त्यहाँबाट सुरु भएको हाम्रो यात्रा पाँच घण्टाको पैदल हिँडाइपछि खप्तडको पुलपुला पाटन पुग्दा त्यहाँको दृश्यले हिँडाइको सबै थकान एकैपटक मेटी दियो ।

पाटन

‘वाहा ! त्यहाँ पुग्दा मैले खप्तड यति सुन्दर होला भन्ने कल्पना पनि गरेकी थिइनँ ।’ त्यति राम्रो दृश्य हेर्न सजिलै त कहाँ पो पाइन्थ्यो र भन्ने अनुभूति गरायो, त्यहाँको हरियो पाटनले । त्यहाँबाट दुई घण्टाको हिँडाइपछि छोटी पाटनमा त्यो दिनको वास बसियो । घरबाट लगेको अर्गानिक दाल चामललाई सहजै खप्तडमा पाइने दाउरामा पकाएर खाँदाको स्वाद सहरमा खाएको विषादीले भरिएका खाना पूरै बिर्साइदियो ।

पाटन

हाम्रो गाँस र वास खप्तडका आवास गृहमा थिएन । घरबाट लगेका म्याट्रिस ओछ्यान घरकै खाना सहरिया आधुनिक पिकनिक नभए पनि वनभोजभन्दा कम थिएन । दोस्रो दिनको हाम्रो यात्रा बिहानै त्यहाँबाट सहस्रलिंगको थियो । यो धार्मिक रूपमा अति महत्वपूर्ण मानिँदो रहेछ ।

सहस्रलिंग

वर्षौंदेखि पारिवारिक चाहना पूरा गर्न सहस्रलिंगको दर्शन र पूजा गर्न त्यहाँबाट साढे दुई घण्टाको यात्रामा पुगियो । अछाम जिल्लामा पर्ने उक्त ठाउँ ढुंगैढुंगाले घेरिएको स्थानमा रहेछ । एक ढुंगाबाट अर्को ढुंगामा पुग्न बनाइएको ससाना काठका साँघु प्रयोग गर्नुपर्ने । करिब ६ घण्टाको त्यहाँको बसाइँ र पूजा पनि रमाइलो नै रह्यो ।

सहरमा कंक्रिटले बनेका गगनचुम्बी महल जत्तिकै ठूला ढुंगा हेर्दा कसैले ल्याएर थुपारेजस्तै लाग्दोरहेछ । सहस्रलिंगको धार्मिक मान्यताका बारेमा खप्तड छान्न गाउँपालिकाका पण्डित देवीदत्त उपाध्यायले भने, ‘यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास छ, यो निकै चर्चित र यसमा आस्था राख्नेका लागि ठूलो धार्मिकस्थल हो । कतिपय मान्छे भाकल बुझाउन यहाँ आउँछन् ।

यहाँ आएर पूजा गर्न सजिलो छैन, सबै सामान बोकेर ल्याउनुपर्छ जोडोमा त आउनै सकिन्न हिउँ पर्छ अरू वेला पनि निकै चिसो हुन्छ । ठूलो पदमा भएका मान्छे पनि यहाँ आउँछन् । आउन नसक्नेले अछेता फूल भए पनि पठाउँछन् ।’ उनले भनेजस्तै त्यहाँ हामी बस्दा बस्दै चारैतिरबाट कुहिरोले घेर्यो र निकै चिसो हावा चल्न थाल्यो ।

ध्वजापताकाले सजिएको उक्त मन्दिरमा कमै मान्छे पुग्ने भएकाले होला सफा पनि उत्तिकै थियो । पहिलोपटक खप्तड पुग्नेका लागि कहाँबाट यात्रा सुरु गर्ने ? कहाँ पुग्ने ? पत्तै नहुँदो रहेछ । एउटा पाटनबाट अघि बढ्यो उस्तै अर्को भेटिन्छ । जंगलमा पुग्यो भर्खर खेती लगाउन कोदालाले खनेजस्तै भालुले खनेका जोतिएका खेतबारीजस्तो माटो भेटिन्थ्यो ।

बाटोमा भएका डोब देखाउँदै भर्खर बाघ यहाँबाट गएछ भनेर सँगैका यात्रीले सुनाउँदा मन झसंग हुँदोरहेछ । यात्रामा यस्ता कैयौँ बाघका पाइला भेटियो । संगीतका आवाज जस्तै सुनीरहुँजस्तो सुन्दर चराचुरुंगीको आवाजले ध्यान तान्दा मनमा हर्षको सीमा नै नहुने रहेछ ।

खप्तड निकुञ्जमा सबैजसो जनावर पाइनुका साथै कहीँ नपाइने सयौँ फूल र जडीबुटी पाइँदो रहेछ । यात्रामा भेटिएका हरेकजसो पात र झार कुनै न कुनै जडीबुटी भएको थाहा पाउँदा मेरो देश कति समृद्ध रहेछ भन्ने लाग्थ्यो । मात्र यसलाई कसरी उपयोग गर्ने सोचको कमी छ भन्ने ठानेँ ।

त्यसलाई सही रूपमा प्रयोग गर्नसके मेरो देशको माटो यहाँको भूगोल र हावापानी विश्वका सबै देशभन्दा धनी छ भन्ने खप्तड घुमाइपछि अझ दह्रो रूपमा मनमा लाग्यो । बुढाबुढीले भनेजस्तो, ‘माल पाएर चाल नपाएपछि के गर्नु’ भन्ने ठानेँ । खप्तड यात्रामा सँगै रहेका खप्तड छान्न गाउँपालिकाका सुरेन्द्र सिंहले भने, ‘हामी गाईभैँसी घोडा चराउन यहीँ ल्याउँछौँ, निकुञ्जले वैशाखदेखि भदौसम्म यहाँ वस्तु चराउन दिन्छ ।

गाउँबाट तीन घण्टामा हिँडेर आइपुग्छौँ धेरैजसो बिहान आएर साँझ घर फर्कन्छौँ ।’ त्यस भेगका धेरै जसोको खप्तडमा गोठ रहेको र कैयौँ वस्तु लिएर त्यहीँ पनि बस्ने गरेको उनले सुनाए ।

खप्तडका पाटनमा सिंहले भनेजस्तै धेरै गोठ देख्न पाइयो । ‘ऊ ती गोठहरू हाम्रै गाउँको हो, यहाँ हामी धेरैपटक सुतेका पनि छौँ, कहिलेकाहीँ बाघले गाईभै‌ंसी र घोडा खाइदिन्छ ।’

उनले केही पर रहेको गोठ देखाउँदै भने । त्यस्ता गोठ बग्रेल्ती देख्न पाइयो । खप्तड यात्राका लागि बझाङको तमेलबाट कालुखेतीसम्म गाडीमा जान सकिने र छान्ना हुँदै गरिने यात्रा सबैभन्दा छोटो र सहज भएको स्थानीय जया सिंहले बताए ।

उनले भने, ‘यहाँ आउने अन्य बाटाहरू पनि छन्, तर दुरीका हिसाबले छोटो र सजिलो बाटो यही हो । यो बाटो आउँदा रातमा कतै वास बस्नु पर्दैन ।

तर, बाटोमा केही नपाइने हुँदा सामान्य खाजा बोक्दा राम्रो हुन्छ ।’ उनले भनेको बाटोबाट यात्रा गर्दा रमाइलो पनि हुने उनले बताए । खप्तडमा सरकारी स्तरमा बनेका आवास गृह पनि रहेछन् ।

अर्डर गरेमा त्यहाँ खाना र वासको व्यवस्था रहेको सिंहले बताए । खप्तडबाट नजिकको सहर भनेको बझाङ सदरमुकाम चैनपुर रहेछ ।

घुम्नका लागि लाखौँ खर्चेर विदेश जानेहरूका लागि खप्तड आर्थिक रूपमा कम बोझिलो र मनोरञ्जनाका दृष्टिले धेरै राम्रो रहेछ । खप्तडको यात्रा सहज बनाउने र प्रचारप्रसार गर्न सकिने हो भने यसले आन्तरिक र बाह्य पर्यटनको विकासमा ठूलो भूमिका खेल्ने देखिन्छ ।

प्रतिक्रिया