नेकपाभित्रै प्रदेश नामाकरण र केन्द्रमा विवाद

विराटनगर । प्रदेश एकको नाम र स्थायी राजधानीको बारेमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद देखिएको छ । नाम र स्थायी राजधानीमा सहमति जुटाउन बसेको नेकपाको संसदीय दलको बैठकमा विवाद भएपछि बैठक स्थगित भएको छ ।

फन एन्ड फुड रिसोर्टमा दुई दिनसम्म चलेको बैठकमा सांसदहरूबीच नाम र राजधानीमा फरक–फरक मत आएको छ । सांसदहरूको बोल्ने क्रम सकिए पनि ५ जना मन्त्रीसहित उपनेताले बोल्न बाँकी रहेकोले बैठक स्थगित भएको छ ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अनुपस्थित भएका बाहेक ५६ जना सांसदले आफ्नो धारणा राखेको जानकारी दिए । अर्को कुनै दिन संसदीय दलको बैठक बोलाउने र त्यो बैठकमा मन्त्रीहरू सबैले र उपनेतासहित छुटेका सांसदले आप्mनो धारणा राखेपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने उनले जानकारी दिए ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कार्यपालिका र व्यवस्थापिका विकेन्द्रित गर्ने बताइरहँदा बैठकमा सहभागी दुई जनाबाहेक सबै सांसदहरू विकेन्द्रीकरणको विपक्षमा देखिएका छन् ।

उनीहरूले राजधानी जहाँ तोकिन्छ त्यहीँ नै कार्यपालिका र व्यवस्थापिका बनाउनुपर्ने बताए । बैठकमा पहिलो नम्बरमा सांसदले प्रदेशको नाम सगरमाथा राख्नुपर्नेमा आफ्नो धारणा राखेका छन् ।

त्यस्तै, दोस्रो नम्बरमा सांसदले किराँत प्रदेश नाम राख्न भनेका छन् । त्यस्तै, सांसदहरूले किराँत–सगरमाथा वा सगरमाथा–किराँत, कोसी, लिम्बूवान राख्नुपर्ने सुझाब पनि आएको छ । यस्तै, राजधानीको नाम इटहरी, विराटनगर, धरान र धनकुटाको राख्नुपर्ने आवाज सांसदहरूले उठाएका छन् ।

प्रतिक्रिया