गुन्डा नाइके बस्नेत मुस्ताङ कारागार चलान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई मुस्ताङ कारागार पठाइएको छ ।सुरक्षा खतरा आैँल्याउँदै उनलाई सोमबार बिहान विमानबाट पोखरा हुँदै मुस्ताङ पुर्याएको हो ।

नख्खु कारागार ब्लक ‘ए’ मा रहेका उनलाई चालचलन शंकास्पद देखिएकोले मुस्ताङ पठाइएको कारागार स्रोतले जानकारी दिएको छ ।

काठमाडौंबाट पोखरा विमानस्थल हुदै उनलाई पोखरा–बेनी–कोराला सडकमार्गबाट मुस्ताङ लगिएको छ । कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार कास्की प्रहरीले बस्नेतलाई मुस्ताङ पुराएर मात्र फर्कने जानकारी दिए ।

बस्नेतलाई रातारात मुस्ताङ सार्ने खबर पाएपछि उनकी श्रीमती माया शेरचन राती नै पोखरा आइपुगेकी थिइन् । उनले आइतबार साँझ मात्र बस्नेतलाई सार्ने खबर पाएको जानकारी दिएकी छन् ।

नख्खु कारागारमा शंकास्पद चालचलन देखाएको भनेर हिमालपारिको जिल्ला मुस्ताङमा पठाउँदा त्यसले जिल्लाको सुरक्षा निकायमाथि चुनौती थपिदिएको जिल्लास्थित सुरक्षा निकायको भनाई छ । सुरक्षा अधिकारीका अनुसार निकै नै जिर्ण बनेको मुस्ताङ कारागारमा माटोको पर्खालभित्रको सामान्य कोठा छन् । जहाँ अहिले पनि अप्ठेरो अवस्थामा कैदीले कैद भुक्तान गरिरहेका छन् ।

मुस्ताङ कारागारमा अहिले कर्तव्य ज्यानका २, जर्बजस्ती करणी उद्योगको १, जर्बजस्ती करणीका ३, गौवध (गाई मारेको) २ जनाले कैद भुक्तान गरिरहेका छन् ।

मुस्ताङ कारागारका जेलर अवदेश आचार्यका अनुुसार कारागारको क्षमता बढीमा ८–९ जनाकै हो । अहिले ९ जना त्यहाँ छन् । कैदीका लागि रात कटाउने र दिउँसो बस्ने भिन्दाभिन्दै ठाउँ छन् ।

अहिले पुरुष कैदीको सुरक्षार्थ ६ र महिलाको सुरक्षार्थ २ जना गरि ८ जना सुरक्षाकर्मी कारागारमा खटिन्छन् । त्यसको नेतृत्व एकजना असईले गरेका छन् । गतवर्ष असोज २३ गते व्यवसायी गौचनको हत्या भएपछि त्यसका योजनाकारबस्नेत रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलाई मंसिर १६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया