चेलीको क्रन्दन सुनिदिने कसले ?

नेपाललगायत विश्वका जुनसुकै मुलुकको सभ्य समाजमा रहन चाहने व्यक्ति चाहे नारी हुन् वा पुरुष निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अस्तित्व कायम गर्दै सम्बद्ध मुलुकको मूल कानुन संविधानद्वारा प्रदान गरिएको विभिन्न प्रकारका मौलिक हकको अधीनमा रही जीवन यापन गर्दै आएका हुन्छन् । यसै परिवेशमा विशेषगरी पुरुष सम्प्रदायको तुलनामा राज्यपक्षद्वारा नारी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कार्यहरू गर्दै नआएको पनि होइन ।

सम्पूर्ण नारी वर्गको प्रतिनिधित्व बोध मूलक शब्दको रूपमा यहाँ चेली शब्दको उल्लेखित गरिएको हो । मुलुकको वर्तमान अवस्थालाई नजिकबाट नियालेर अध्ययन गर्ने हो भने दिनहुँ जसो नेपाली चेलीको अस्मितामाथि खेलवाड गर्दै मानवताविरोधी गतिविधिले उग्रता हासिल गर्नुको साथै बलात्कारजन्य आपराधिक क्रियाकलापको अभिवृद्धिले आमनेपाली नागरिक समाजलगायत सम्पूर्ण राज्यपक्षसमेत शोकाकुल भएको वर्तमान अवस्था हो ।

मूलतः नारी अस्मितामाथिको जघन्य अपराधमा अन्य उमेर समूहका चेलीको तुलनामा बालिकाहरू नै विशेषगरी बलात्कारीेको चपेटामा पर्न गएको वर्तमान घटनाक्रमले औँल्याएको छ । यसैलाई तथ्यगत आधारमा हेर्दा मुलुकको प्रदेश नम्बर–७ कञ्चनपुर जिल्लाको महेन्द्रनगरकी निर्मला पन्त प्रकरण होस् वा अन्य कुनै स्थान अथवा घटना विशेष नै किन नहोस् यसै प्रवृत्तिका प्रकरणहरूमा नाबालिका चेली सम्प्रदायले बलात्कारजन्य घटना पूर्व वा सो पश्चात् सहज रूपमा प्रतिकार गर्न नसक्ने प्रवृत्ति नै यौनहिंसाको प्रमुख कारकतत्वको रूपमा लिन सकिन्छ ।

परिणामतः अन्य समूहको चेलीको तुलनामा यस समूहमा पर्नेहरू अत्यधिक यौनहिंसाको मारमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन । यसका साथै नाबालिक चेलीको समूहलाई सहज रूपमा विश्वासमा लिन सफल हुने हुँदा अपराध अभिवृद्धिमा अत्यधिकता रहेको हो कि ?

तसर्थ, चेलीको रक्षा राज्यको चुनौतीसमेत भएको छ । यसका अलावा सामाजिक लोकलाजको भयले उजागरण हुनुपर्ने कतिपय अवस्थामा पनि सहज रूपमा उजागरण हुन नसक्ने प्रवृत्तिले अन्ततः आपराधिक मनस्थिस्ति भएका समूहको आपराधिक मनोवल बढ्न गई जघन्य अपराधको दरहरूमा वृद्धि गराउन थप मद्दत पुग्ने देखिन्छ । तसर्थ, राज्यका जिम्मेवार पक्षले मूल चुरोको रूपमा रहेको प्रस्तुत तथ्यलाई मनन् गर्दै सतर्कतापूर्वक सुरक्षा अवधारणालाई अंगाल्नु वर्तमान परिवेशमा अतिआवश्यक भई सकेको छ ।

यसका अतिरिक्त लागुऔषधको दुव्र्यसनको कारण गुण र दोष समयमा नै निक्र्योल गर्न नसक्दा आपराधिक कार्यमा लाग्नसक्ने सम्भावनालाई सहजै इन्कार गर्न मिल्दैन । यसै सन्दर्भमा संवेदनशील भएर अध्ययन गर्ने हो भने नाबालिका चेलीहरू विशेषगरी अन्य समूहको चेलीको तुलनामा आफ्नो घरपरिवार, छरछिमेक, विद्यालयमा रहेका पुरुष सम्प्रदायबाट वेलावखतमा असुरक्षित रहने हुन् कि भन्ने थप चिन्ता वर्तमान समाजमा उब्जिएको छ ।

किनकि, कतिपय अवस्था आफ्नै नजिकका विश्वासी पात्रको यौन हिंसाको चपेटामा पर्न गएको घटनाक्रमले नऔँल्याएको पनि होइन । तर, त्यसो भन्दैमा सम्पूर्ण पुरुष सम्प्रदायलाई शंकाको घेरामा समाहित गर्न खोजेको भने पक्कै पनि होइन । हालै समाजमा घटेका र घटनसक्ने यौन विकृत्ति मूलक आपराधिक क्रियाकलापलाई उजागर गर्न खोजिएको मात्र हो ।

तसर्थ, सभ्य समाजका व्यक्तित्वले यस प्रकारका मानवताविरोधी जघन्य अपराधलाई नग्याउनु नै सही अर्थमा समाजबाट यौन कुण्ठाका दरलाई न्यून गर्न प्रत्यक्ष वा परोक्ष सहयोग गरेको मान्न सकिन्छ । प्रकृतिको अनुपम उपहारको रूपमा रहेको सदाशय युक्त यौनका गतिविधिहरू मानव सम्प्रदायलगायत यावत् जीवात्माहरूको प्रमुख जैविक आवश्यकताको प्रस्तुत क्रियाकलापलाई गलत सोच एवं प्रयोगका कारण भविष्यमा आइपर्ने सम्भावित नकारात्मक प्रभावको दुष्परिणामबाट आफू स्वयं, सम्बद्ध परिवार एवं पीडित चेलीको पीडालाई कुनै पनि हालतमा भुल्न सकिँदैन ।

सामाजिक न्यायको कसीमा बलात्कारजस्तो जघन्य अपराध अर्को कुनै पनि छैन । किनकि यसको दुष्प्रभाव भन्नु नै पीडक पक्षबाट पीडित पक्षको हत्यासम्म हुनसक्ने खतरा रहन्छ । यदि, पीडक पक्षबाट कुनै प्रकारले मुक्ति पाए पनि सम्बद्ध पीडित पक्षले जघन्य अपराधको पीडालाई भुल्न नसकि आत्महत्याजस्तो मानव सभ्यता विराधी बाटोलाई अवलम्बन गर्नसक्ने सम्भावनालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । हुन त आज २१औँ शताब्दीको नेपाली चेलीहरूको अदम्य साहसका कारण यौनहिंसाको विरुद्ध लाग्ने प्रवृत्ति नदेखाएका पनि होइनन् ।

यसै सन्दर्भमा सयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित गरिएको महिला भेद्भाव विरुद्धको महासन्धिलाई नेपालले विनासर्त अनुमोदन गरेबाट नेपाल महिला भेद्भाव एवं हिंसाविरुद्ध रहेको तथ्यलाई प्रमाणित गर्दछ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा भए गरेका महिला हिसांविरुद्धका क्रियाकलापहरूमा त्यतिवेला न्यूनता छाउने छ, जुन वेला त्यही समाजमा रहने पुरुष सम्प्रदायले महिलावर्गलाई हेर्ने सोचाइमा सकारात्मक सोचको अभिवृद्धि गर्नेछन् ।

अन्यथा कुनै पनि हालतमा चेलीको क्रन्दनमा कमी आउने छाँटकाट देखिँदैन । महिला यौनहिंसाको प्रमुख कारक तत्वको रूपमा नारी संवेदनशीलतालाई लिन सकिन्छ, जसको प्रत्यक्ष फाइदा गलत प्रवृत्तिका समुदायले लिएकै कारण समाजमा यौनजन्य हिंसा सहजै विस्तापित हुन नसकेको मात्र हो । प्रस्तुत समाजविरोधी कार्यको अन्त्यका लागि राज्यको तर्फबाट विशेष पहलकदमी अपनाउँदै सचेतामूलक कार्यलार्ई अगाडि बढाउन सकिए अवश्य पनि अपराधका दरहरूमा कमी आउने नै छ ।

शैक्षिक जनचेतनाको अभावको कारण विशेषगरी विश्वका अन्य मुलुकको तुलनामा नेपाल एवं समस्त दक्षिण एसियामै मुलुकको साझा समस्याको रूपमा रहेको महिलाहिंसा यस क्षेत्रबाट मुक्त गराउन सम्बन्धित क्षेत्रका सरकारलगायत गैरसरकारी संस्था एवं मानवअधिकार कर्मीहरू नलागेका पनि होइनन् । तथापि, यस कार्यमा पूर्ण सफलता भने हालका दिनसम्ममा पनि हासिल गर्न सकेको पाइँदैन।

अझ नेपालजस्तो यौनिक चेतनाको अभावमा दिनहुँ जसो चेलीको क्रन्दनमा न्यूनीकरण हुनुको साटो अत्यधिक रूपमा बढोत्तरी हुँदै गएको छ । छापाहरूका मुख्य समाचारमा यस विषयले प्राथमिकता पाउनु पक्कै पनि चिन्तन मनन्का साथै निन्दनीय कार्यसमेत हो । आज २१औँ शताब्दीको युगमासमेत महिला वर्गलाई समाजमा द्रोस्रो दर्जाको नागरिकको रूपमा हेरिने पुरुष प्रदान सामाजिक मनस्थिति नै सम्बद्ध पक्षलाई मनोवैज्ञानिक रूपमा कमजोर तुलाउने कारण बन्न सक्छ ।

तसर्थ, यिनै मनोवैज्ञानिक हिनतामुखी ग्रन्थीकै कारण भित्रभित्रै पिल्सिई यदि मानसिक रूपमै महिला वर्ग कमजोर भए भने अर्को पक्षले त्यसको सहज रूपमा फाइदा उठाउन सक्ने भएको हुँदा महिला स्वयं जागरुक हुनसक्ने परिस्थितिको निर्माण गर्न हौसला मूलक कार्यको थालनी गर्नुपर्ने हुन्छ । जसको सकारात्मक प्रभावले महिला हिंसालगायत यौन दुव्र्यवहारमा कमी आई नैतिक रूपमा आदर्श समाजको परिकल्पना गर्न सहयोग पुग्ने देखिन्छ ।

तर, यसका लागि जुनसुकै तह र तप्काका मानिसको पहिलो पाठशाला भनेको उसको घर र गुरु भनेका उसका अभिभावकहरू नै हुन् ती सम्बद्ध पक्षबाट मानव सम्प्रदायमाथि के गर्न हुन्छ र के गर्न हुँदैन भनी न्यून रूपमा भए पनि सम्बन्धित विषयका नैतिक पक्षलाई आफ्ना सन्ततिमा सामान्य बोध गराउने चेष्टा मात्रै राख्ने हो भने पनि नेपालजस्तो यौन शैक्षिक चेतनाको अभाव रहेको मुलुकमा अवश्य पनि गम्भीर अपराधको क्षेत्रमा आशा लाग्दो परिवर्तनको अनुभूति गर्न कोशेढुंगा सावित हुनेछ ।

कतिपय अवस्थामा यस प्रकारको नैतिक शिक्षाको कमी कमजोरीबाट अपराधले मौलाउने अवसर पाएको हो कि भन्ने प्रश्नसमेत उठ्नसक्ने देखिन्छ ।  समाजमा घट्ने यौनहिंसाको सन्दर्भमा सहज रूपमा महिला वर्ग वर्तमान परिवेशमा समेत खुल्न नसक्नु नै पीडकद्वारा पीडितपक्षलाई अझ बढी मात्रामा प्रताडित गराउन मद्दत पुग्ने देखिन्छ ।

यस क्रममा महिला वर्गले साहसिक तवरबाट बुद्धिमता पूर्वक ढंगले कार्य गर्नु नै अपराध न्यूनीकरण गर्नु हो । जसको प्रत्यक्ष प्रभाव स्वरूप चेलीको क्रन्दनमा पनि न्यूनता छाउने प्रष्ट छ ।

प्रतिक्रिया