एक ‘पुरुष गृहिणी’


म ससुरालीमा थिएँ, अवसर थियो सालीको बिहे । म र मेरी पत्नी सोनालीसँगै परिवारको नयाँ सदस्य थिई, हाम्री छोरी । मेरी पत्नी वैवाहिक कार्यक्रममा व्यस्त थिइन् र छोरी मसँग थिई । छोरी मसँगै बस्न मन पराउँथी । हामी गफमा व्यस्त रहेका वेला छोरीले दिसा गरी । छोरीको दिसा सफा गर्न म जानै लाग्दा मेरी सासूआमाले रोक्नुभयो । घरको एउटा कुनामा लगेर मलाई भन्नुभयो, ‘हजुर त घरको ज्वाइँ हुनुहुन्छ ।

यो के गर्न लाग्नुभएको ? अरू पाहुनाले देखे भने के भन्लान् ? सोनालीलाई बोलाऊनू । उसले सफा गरेर डाइपर लगाइदिन्छे ।’ त्यो काम त म पनि गर्न सक्छु भनेर मैले भन्नुअघि नै सासूआमाले सोनालीलाई बोलाइसक्नुभयो र भन्नुभयो, ‘आउ सोनाली तिम्री छोरीको दिसा सफा गरिहालौँ ।’

दुवैजनाले छोरीलाई शौचालयमा लगे । म आश्चर्यमा परेँ । किनकि, त्यो काम मेरो लागि नयाँ थिएन, जुन उहाँले मेरा लागि असहज सम्झनुभयो । म एक ‘हाउस हजब्यान्ड’ अर्थात् पुरुष गृहिणी हुँ भनेर मेरा सासूससुरालाई पनि थाहा थियो । तर, सायद अरूका कारण उहाँहरूले लाज मानेको हुनुपर्छ।

छोरीको दिसा सफा गर्न जान लागेको देखेर केही मान्छेहरू मुस्कुराइरहेका पनि थिए । बिहेबारीको होहल्लाबीच मेरो कानमा कैयौँपटक यो कुरा ठोक्कियो, ‘ऊ त पुरुष गृहिणी हो ।’ मेरा सासूससुराले यो कुरा अरूले थाहा नपाऊन् भन्ने चाहनुहुन्थ्यो । मलाई थाहा थियो, मान्छेले मजाक उडाउँछन्, ता कि म लज्जित महसुस गरूँ ।

तर, मैले पनि मनमनै एउटा प्रण गरिसकेको थिएँ, न त लज्जित महसुस गर्छु, न त आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउँछु ।
हामीले अन्तरजातीय बिहे गरेका थियौँ । हामीले पहिल्यै सल्लाह गरिसकेका थियौँ, जसले राम्रो जागिर पाउँछ, उसले जागिरलाई अगाडि बढाउने । र, सुरुदेखि नै मेरो जागिर सन्तोषजनक थिएन । यसबीचमा सोनाली सफलताको भ¥याङ उक्लिँदै गइन् ।

अनि हामीले निधो गर्यौँ, सोनालीले जागिर खाने र मैले घरबार हेर्ने । घरको काममा सघाउन मेरो अरू कोही छैन । म नै घर सफा गर्छु, भाँडाकुँडा माझ्छु, तरकारी किनेर ल्याउँछु र खाना पकाउँछु । सायद उहाँहरूलाई मैले घरको काम गर्दा अनौठो लाग्थ्यो । तर, मेरो लागि त्यो सामान्य थियो । म तीन दाजुभाइमध्ये कान्छो हुँ ।

म आमालाई पनि घरको काममा सघाउँथेँ । त्यो वेला मेरा साथीहरूले गृहिणी भनेर मलाई जिस्काउँथे । दिल्लीका मेरा पढेलेखेका साथीहरूले मेरो रोजाइलाई बुझ्न थालेका छन् । तर, म आफ्नो गृहनगर भोपाल जाँदा मेरा साथीहरू अझै मलाई उडाउँछन् । राजनीतिक वा गम्भीर मुद्दामाथिको बहसमा मेरा साथीहरूले बीचमै मलाई रोकेर भन्छन्, ‘यो ठूलो विषय हो, तिमीलाई थाहा हुन्न ।’

मलाई केवल घरेलु काममा सीमित पुरुषको रूपमा देखाउने प्रयत्न गरिन्छ । एकपटक त साथीहरूले बहस गरिरहेका वेला मैले केही बोल्न खोजेपछि एकजना साथीले भने, ‘तिमी बरु चिया बनाएर ल्याऊ ।’ मैले पनि मुस्कुराउँदै भने, ‘चिया मात्रै किन, पकौडा पनि बनाएर ल्याउँछु नि ।’ मेरा केही साथीहरू अहिले पनि फोन गरेर मजाक गर्छन्, ‘के छ, साथी के पकाउँदै छौ त ?’
मानिसहरू घरको कामलाई काम नै ठान्दैनन् । कतिपय साथीले त मलाई घरमा बसेर मोज गर्छ भनेर पनि भन्छन् । तर, उनीहरूलाई थाहा छैन कि म पनि जागिरमा जाने अरू पुरुषजस्तै बिहानै उठ्छु । र, घरभित्र र बाहिरका सबै काम भ्याउँछु । ‘गृहिणी’ लाई कति हेय दृष्टिले हेरिन्छ र घरमा उनीहरूले गर्ने मिहिनेतको सम्मान गरिँदैन भन्ने कुरा मैले राम्रोसँग अनुभूत गरेको छु ।
हाम्रो बिहेको चार वर्षपछि छोरीको जन्म भएको हो । त्योसँगै मेरो काँधमा जिम्मेवारी पनि थपियो । छोरीको हेरचार गर्ने, नुहाइदिने, खुवाइदिने र उसलाई डुल्न लाने सबै मेरो जिम्मेवारी थियो । सुरुमा पार्क लैजाँदा महिलाहरू मेरी छोरीलाई माया गर्न आउँथे । तर, पछि उनीहरूले ‘नानीको आमा किन आउनुहुन्न, उहाँलाई के भयो ?’ आदि प्रश्न गर्न थाले ।

मैले उसकी आमा जागिर गर्छिन् र छोरीको हेरचार म गर्छु भनेपछि मैले अनेकौँ प्रश्नको सामना गर्नुपर्यो । ‘तपाईं यति सानो बच्चालाई कसरी सम्हाल्नुहुन्छ ? तपाईंसँग बस्न मान्छिन् ? उसलाई खाना कसले खुवाइदिन्छ ?’ मैले जागिर नगर्ने भएर बेकम्मा भनेर मेरो कुरा पनि काटिन्थ्यो । बिहेपछि पहिलोपटक मेरा आमाबुबाले मैले घरको काम गरेको देखेर मन पराउनुभएन ।

भारतमा गाई बढी सुरक्षित कि महिला हुन् त ? मेरी आमाले केही भन्नुहुन्थेन । तर, उहाँले सहज रूपमा त्यसलाई नलिएको मैले सजिलै अनुमान लगाउन सक्थेँ । लाग्थ्यो उहाँका आँखाले मलाई सोध्ने गर्छन्, तिमी बाहिर जागिर खान किन जाँदैनौँ, बुहारीले जागिर खाने भए पनि घरको कामचाहिँ किन गर्न सक्दिनन् ?

आमाको असहजतालाई महसुस गरी मेरी पत्नीले पनि घरको काम गर्न थालिन् । तर, उनले सकिनन् । पछि मैले नै नगर्नू भनेँ । मेरी आमाले पनि यो कुरा बुझ्नुभयो । तर, केही बोल्नुभएन र पछि यो विषयमा सधैँका लागि मौन हुनुभयो । छोरी स्कुल जान थालेकी छ । गृहकार्यमा उसलाई ‘फ्यामिली ट्री’ बनाउन भनिएको रहेछ ।

म घरमा थिइनँ । पत्नीले छोरीलाई सहयोग गरिन्, ‘फ्यामिली ट्री’ मा मेरो नाम घरमूलीको रूपमा राखिएको रहेछ । मैले त्यो देखेपछि विमति जनाएँ । मैले सोनालीले जागिर खाएर घरमा पैसा ल्याउने भएकोले घरमूलीको रूपमा उसको नाम राख्नुपर्ने तर्क गरेँ । तर, सोनाली मानिनन् ।

उनले भनिन्, ‘पुरुष होस् या महिला, घरमुली त्यो हुन्छ, जसले घरबार चलाउँछ ।’ उनले मेरो नाम हटाइनन् । म एक ‘फ्रिलान्सर’ हुँ र लेख्ने काम पनि गर्छु । मेरा दुई वटा किताब प्रकाशित भइसकेका छन् र तेस्रो प्रकाशनको क्रममा छ । मेरी पत्नीले पनि कार्यालयमा अनेकौँ प्रश्नको सामना गर्नुपर्छ ।

तर, हामी दुईबीच यति माया छ कि त्यस्ता कुराको हामीलाई असर पर्दैन । मेरा दाइहरूले मैले घरमा काम गर्ने भएर केही भन्नु त हुन्न । तर, उहाँहरूले मेरो प्रशंसा पनि गर्नुहुन्न । घरका महिलाहरूले चाहिँ मेरो निकै इज्जत गर्छन् ।

मलाई थाहा छ, तपाईंले केही फरक काम गर्दा मानिसहरूले मजाक उडाउँछन्, आलोचना गर्छन् र अन्त्यमा त्यसलाई स्विकार्छन् । (बिबिसी)

प्रतिक्रिया