चीनका ८० लाख वृद्ध विद्यालयमा भर्ना !

बेइजिङ । पछिल्लो समय चीनमा ६० वर्ष भन्दा माथिका वृद्धहरूका लागि खोलिने छुट्टै विद्यालयको संख्या बढ्दै गएको पाइएको छ ।

अहिले नै चीनभरमा ७० हजार यस्ता विद्यालय स्थापित भइसकेका छन् । तर, यसको संख्यामा लगातार वृद्धि भइरहे पनि भर्ना पाउनकै लागि धेरै पेन्सनरहरू विद्यालय बाहिरै क्याम्प लगाएर बस्ने गरेको द इकोनोमिस्टले जनाएको छ ।

यस प्रकारका विद्यालयमा उनीहरूले आफूलाई मन लागेअनुसार विभिन्न विषयमा अध्ययन गर्न पाउँछन् । जसमा अंग्र्रेजीदेखि अनलाइन सपिङ र नृत्यसम्म समावेश गरिएको हुन्छ । यसरी चीनमा वृद्धहरूका लागि विद्यालय खोलिने प्रवृत्तिको सुरुआत १९७० मा भएको थियो ।

तर, त्यसवेला यो सेवा अवकाश लिएका कम्युनिस्टहरूका लागि मात्र उपलब्ध थियो । अहिले भने वृद्धलाई मात्र पढाइने विद्यालयहरू सबै पेन्सनरका लागि खुला गरिएको छ । यसरी सन् २०१७ मा मात्र ८० लाखभन्दा बढी वृद्धहरू भर्ना भएको पाइएको थियो जुन चीनको ६० वर्षमाथि उमेर समूहको ३ प्रतिशत जनसंख्या मात्र हो ।

यसकारण पनि अहिले विभिन्न विषयका कक्षाहरूको मागमा अत्यधिक वृद्धि भइरहेको हुँदा चीनको सबैभन्दा ठूलो सहर सांघाईमा समेत ६ मध्ये एकले मात्र र उता हाङजोउ प्रदेशमा झन् १६ मा एक वृद्ध विद्यार्थीले भर्ना पाउने गरेका छन् ।

यस्तोमा सन् २०५० सम्म चीनमा ६० वर्ष माथि उमेर समूहको जनसंख्या ४८ करोड ७० लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ जुन चीनको ३५ प्रतिशत जनसंख्या हो । त्यसैले, २०२० सम्मकै लागि पर्याप्त कक्षाकोठाको व्यवस्था सुनिश्चित गर्न कठिन देखिएकाले चिनियाँ निकायले सबै प्रदेशमा वृद्धहरूका लागि छुट्टै विद्यालय खोल्ने योजना बनाइसकेको छ ।

यसरी वृद्धहरूलाई विद्यालय पठाउँदा उनीहरू शिक्षित मात्र नभएर यसले उनीहरूलाई एक्लोपनाबाट राहत दिलाउने गरेको पाइएको छ भने स्मरण शक्तिमा पनि प्रभावकारी सुधार ल्याउने बताइएको छ । तर पनि यसले देशभित्रको बढ्दो वृद्ध जनसंख्याको समस्यामा भने कुनै प्रभाव नपार्ने बताइएको छ ।

विशेषगरी, गरिब नागरिकहरूका लागि हाल चीनको महंगो सामाजिक सुरक्षा सेवा निकै कठिन सावित भइरहेको छ । त्यसैगरी, श्रमको अभाव पनि वृद्धहरूले कम गर्न नसक्ने हुँदा चीनले अवकाश उमेर वृद्धि गराउनेबारे सोच्नुपर्ने देखिएको छ । उता वृद्ध विद्यार्थीहरूले चाहिँ माओत्सेतुङको ‘मिहिनेतसाथ पढ अनि तिमीमा दैनिक सुधार आउनेछ’ भन्ने उपदेशलाई पालन गर्न सक्छन् ।

प्रतिक्रिया