भव्यताका साथ मनाइयो चौदश मेला

बाजुरा । जिल्लाको स्वामीकार्तिक गाउँपालिकाको वाईमा गत सोमबारबाट सुरु भएको मेला आइतबार भव्य समारोहका साथ सम्पन्न भएको छ ।

सोमबार बेलुकाबाट मनाइने चौदश मेलामा विशेष गरी राती मोटे ढुंगा अर्थात् लाटोबाहुनको थानमा पूजा आरधाना गरेर रातभरि डेउडा खेलेर सुरुआत गरिएको थियो । एक साता लामो मेला लाटो बाहुनलगायत एक दर्जन बढी देवीदेवताको पूजा गरी मनाउने गरिन्छ ।

विश्यस गरी चौदशमा लाटोबाहुनको पूजा गरी भव्यताका साथ मनाइन्छ । तत्कालीन मुगु जिल्लाको गुम्था गाविस र हालको खत्याड गाउँपालिकामा पर्ने राउतडीमा एक परिवारमा एक लाटो छोराको जन्म भएको थियो । त्यतिवेलामा वाईमा बस्ने विश्वहुरी सञ्ज्यालको छोरा नभएका कारण उनले त्यो लाटो छोरालाई आफ्नो धर्मपुत्र बनाउने भन्दै घरमा ल्याएर धर्मपुत्रका रूपमा पालेका थिए ।

पछि छोरा भएपछि धर्मपुत्रका रूपमा रहेको लाटोलाई पनि सम्पत्ति लाग्ने भयो भन्नेमा पिर लाग्न थालेपछि उनले गाउँका जानमानसँग लाटोलाई मार्ने सल्लाह गरेका थिए । गाउँका जानमानकै सल्लाहअनुसार हालको लाटोबाहुन मन्दिर रहेको दायाँतिर रहेको ढुंगामा लाटोको हत्या गरिएको थियोे । सो लासलाई भागविलो हाल्न थाल्दा त्यो ढुंगा फुट्यो र विभिन्न ठाउँमा टुक्राटुक्रा भएर छरिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीको भनाइ छ ।

जहाँजहाँ त्यो ढुंगा खसेको छ, त्यहाँ त्यहाँ हालसम्म पनि लाटोबाहुनको जग्गा छ । धर्मपुत्रका रूपमा ल्याएर त्यसरी हत्या गरेपछि धर्मवान् लाटोबाहुनको आत्मा देववृत्तमा परिणत भई लाटोबाहुन देवताका रूपमा रहेको किंवदन्ती छ । राणाकालीन समयमा पद्मशमशेर र जुद्धशमशेरको पालमा लाटोबाहुन देवताले आफ्नो जग्गाको गुठी छुट्याई ल्याएको देखिन्छ ।

तत्कालीन राजदरबारमा आतंक मच्चाई वाई बाहेकका अन्य चार ठाउँ वाँधु, जेरा, गुम्था र बज्याडीमा गुठी छुट्याइएको र त्यहीँको उत्पादनबाट नित्य पूजाआजा हुँदै आएको पुजारी नवानन्द सञ्ज्यालले बताएका छन् ।

लाटोबाहुनको मन्दिरमा हरेक वर्षको अनन्त पूर्णिमामा भव्य मेला लाग्ने र अन्य बाह्रै पूर्णिमामा पूजाआजा हुने गर्दछ । लाटोबाहुनलाई न्यायनिसाफ दिने देवताको रूपमा बाजुरा, मुगु, अछाम, बझाङ, डोटी, कालिकोटका स्थानीयले समेत पूजा गरी भेटी चढाउने गर्दछन् । कसैले अन्याय गरेमा लाटोबाहुनको मन्दिरमा भाकलसमेत गर्दछन् ।

बाजुरा जिल्लाकै चर्चित तथा धार्मिक पर्यटकीय स्थल रहेको स्वामीकार्तिकमा साउन पूर्णिमापछिको अनन्त पूर्णिमादेखि लाटोबाहुनको मन्दिरमा पूजा सुरु गरेर लगातार एक हप्तासम्म वाईका विभिन्न देवताका थानहरूमा पूजाआजा गरी खेलमालसमेत गरिँदै आएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

गाउँपालिकाले विगतका दिनहरूभन्दा भव्य र सभ्य बनाएर चौदश मेला बनाउन मेला व्यवस्थापन समितिसमेत गठन गरी जाँडरक्सीसमेत निषेधित गरेको थियो भने चौदश मेलाभर इलाका प्रहरी कार्यालय स्वमीकार्तिकलाईसमेत परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको गाउँपालिकाका सूचना अधिकारी कुमेर शाहीले बताएका छन् ।

मेलाका सहभागीहरूलाई वाईवासीहरूले एक हप्तासम्म विशेष सत्कारका साथ खानपिन गराउने प्रचलनअनुसार सम्पूर्ण भक्तजनहरूलाई सेवा सत्कारका साथ खानपिन गराइएको थियो । धार्मिक आस्थाको धरोहरका रूपमा मनाइने पर्वलाई स्थानीय युवाहरूले समेत यो वर्ष व्यवस्थित गरेका थिए ।

प्रतिक्रिया