डिएनए परीक्षणमै आशंका

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसँग सम्बन्धित डिएनए परीक्षणमा गम्भीर आशंका देखिएको छ ।

निर्मलाको ‘भेजाइनल स्वाब’ को डिएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा गरेको थियो । तर, शंकास्पद भनिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएर गरिएको हो ।

किन सबैको डिएनए परीक्षण राष्ट्रिय विधि विज्ञानमै गरिएन ? यो प्रश्न गम्भीर बनेर तेर्सिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्रोतका अनुसार, निर्मला पन्तको ‘भेजाइनल स्वाब’ नल्याइएकोले त्यसको परीक्षण नगरिएको हो ।

यो काम प्रहरीले आफ्नै ल्याबमा गर्यो, यो गम्भीर आशंकाको विषय हो, स्रोतले भन्यो । घटनाको दुवै पक्षको डिएनए परीक्षण राष्ट्रिय विधि विज्ञानमै भएको भए डिएनए मिलेको-नमिलेको भन्न सकिने एक चिकित्सकले बताए । प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाहेक नेपालमा अरू ठाउँमा डिएनए टेस्ट हुँदैन ।

३० वर्षअघि सरकारले स्वतन्त्र प्रयोगशाला पनि आवश्यक रहेको निर्णय गरेर विधि विज्ञान प्रयोगशाला बनाएको हो । सोहीअनुरूप बनेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला हाल स्वतन्त्र निकायको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ ।

के हो भेजाइनल स्वाब ?

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अनुसार ‘भेजाइनल स्वाब’ भनेको महिलाहरूको योनिमा हुने तरल पदार्थ हो । बलात्कारमा भेजाइनल स्वाब संकलन गर्दा पुरुषको शुक्रकिट मिसिएको हुन्छ । भेजाइनल स्वाब प्रयोगशालामा लगेर टेस्ट गर्दा भेजाइनल स्वाबले कुन पुरुषको शुक्रकिट हो लगायतका बारेमा संकेत दिन्छ । बलात्कार मुद्दामा भेजाइनल स्वाबको डिएनए टेस्ट प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया