पर्यटन विकास र चुनौती

हाम्रा अगाडि गुणस्तरीय पर्यटन प्रवद्र्धनका थप चुनौतीहरू छन् । यी चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय बजारीकरण सञ्जाल तथा व्यावसायिक प्रवद्र्धनको क्षमता र कार्य कुशलताले मात्रै सकिन्छ ।

विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो सेवाजन्य उद्योगका रूपमा विगत लामो समयदेखि पर्यटनक्षेत्रले छाप बनाएको छ । विदेशी मुद्रा आर्जन र रोजगारीको सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ ।

सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्योगलाई आर्थिक सवलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रूपमा विकास गर्न सकिन्छ ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रलाई महत्व दिएर यसको दीर्घकालीन विकासका लागि साझेदारी विकासका अवधारणालाई अघि सारेको छ ।

आगामी दुई वर्षभित्रमा नेपालमा २० लाख पर्यटक भित्र्याउने केही महत्वाकांक्षी कार्यक्रमका साथ नेपाल भ्रमण वर्ष २०२० ल्याएको छ । यो लक्ष्य पूरा गर्ने सन्दर्भमा निकै काम गर्नुपर्ने देखिन्छ ।

पहिलो र महत्वपूर्ण कुरा प्रतिवद्धता र सबैले सामूहिक जिम्मेवारी बोधका साथ काम भएमा लक्ष्य हासिल गर्न त्यति हम्मेहम्मे नपर्ला । किनकि, नेपालमा प्रतिवर्ष पर्यटनको आवागमनको प्रवृत्तिलाई हेरेको खण्डमा गत वर्ष १० लाखको हाराहारीमा पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाउँछ ।

नेपाल भ्रमण वर्ष २०२० तथा पर्यटन विस्तार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले सुझबुझका साथ नवीन पर्यटकीय सेवाका कार्यक्रमहरू तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय बजारीकरण तथा भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा विभिन्न देशमा कार्यरत नेपालका दूतावास, वाणिज्य दूतावास तथा गैरआवासीय नेपाली संघका देशीय निकायबाट समन्वयात्मक सहकार्य गरिनुपर्दछ ।

यसका साथै, सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता पाएको प्रदेश तथा स्थानीय तहसँगको साझोदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि कम्तीमा पनि १ सय नयाँ पर्यटन गन्तव्य पहिचान र ती गन्तव्य स्थलहरूको विकासका लागि बजेट र कार्यक्रम समावेश गर्ने लक्ष्यका साथ कार्यान्वयन पक्ष सवल हुनुपर्दछ ।

सबै याममा चलायमान पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याइनुपर्दछ । अबको कार्यगत आवश्यकता भनेको ‘सबै समय सबै याम पर्यटनसेवा’ भन्ने मान्यताअनुसार पर्यटन प्रवद्र्धन र पर्यटकीय सेवाका क्रियाकलाहरू अझ विस्तार गर्नु हो ।

यसो गर्न सकिएमा आगामी नेपाल भ्रमण वर्षको लक्ष्यसम्म पुग्न सकिन्थ्यो कि ? बेलायती नागरिक थोमस कुकले आजभन्दा १ सय ७८ वर्षअघि आन्तरिक पर्यटकलाई लक्षित पर्यटन बिजनेस सुरु गरेपछि नै यसको संस्थागत विकासको जग बस्न गयो ।

आज विश्वका विभिन्न देशहरूले पर्यटन उद्योगबाट विदेशी मुद्रा र असंख्य रोजगारी सिर्जना गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको दरिलो योगदानलाई स्थापित गर्न सकेका छन् । ३९औँ विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालमा पनि केही तामझामको कार्यक्रम तथा प्रचारप्रसार भएको छ ।

दिगो र गुणस्तरीय पर्यटन प्रवद्र्धनको सन्देश यस दिवसका सन्दर्भमा विश्वमञ्चमा दिन सकिएमा सन् २०२० को लक्ष्य २० लाख विदेशी पर्यटक भित्र्याउने केही महत्वाकांक्षी लक्ष्यमा अवश्य पनि सहयोग पुग्ने थियो । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य यथाशीघ्र सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्नुपर्छ ।

साथै पर्यटकको प्रमुख गन्तव्य तथा आकर्षणका केन्द्रमा रहेका विमानस्थलहरूको प्राविधिक तथा भौतिक स्तरोन्नति गरी भरपर्दो तथा सुरक्षित विमानसेवा दिने दिशामा कार्य गरिनुपर्दछ । पर्यटकीय सेवाका लागि हाम्रा होटल तथा रिसोर्टहरूको स्तरोन्नति र गुणस्तरीय सेवा दिने दिशामा चासो र सकारात्मक परिवर्तन गरिनु सान्दर्भिक रहन्छ ।

यसका साथै, घरबास पर्यटनका क्षेत्रलाई थप आकर्षक र गुणात्मक सेवाको ग्यारेन्टी सम्बन्धित पर्यटन व्यवसायीको जिम्मेवारी हो । पर्यटन प्रवद्र्धन र समयानुकूल विकासका सवालमा विश्वका विभिन्न देशमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रूपमा लिने बानीको थालनी हामीले कहिले गर्ने ?

उदाहरणका रूपमा सन् ८० को दशकदेखि २ दशकभन्दा बढी गृहयुद्धको भयावह अवस्थाबाट गुज्रिएको कम्बोडियाले पछिल्लो समयमा राजनीतिक स्थिरता, योजनावद्ध पर्यटन प्रवद्र्धन र विकासका रणनीतिक कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । जसका कारण पछिल्लो समयमा पर्यटनक्षेत्रमा आश्चर्यजनक रूपमा संख्यात्मक र गुणात्मक विकासले फड्को मारेको छ ।

हालका समयमा कम्बोडियामा प्रतिवर्ष ५० लाख विदेशी पर्यटकले भ्रमण गर्छन् । पर्यटन गन्तव्यका दृष्टिकोणले निकै फड्को मारिसकेका दक्षिणपूर्वी एसियाका देशहरू थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया तथा सिंगापुर समृद्ध बनेका छन् । छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा सरकारको पर्यटन विकाससम्बन्धी दरिलो नीतिका कारण विदेशी पर्यटकहरूको ओइरो लागि रहेको छ ।

विशेषतः धार्मिक पर्यटन तथा साहसिक पर्यटनका क्षेत्रमा तिब्बत स्वशासित क्षेत्रले हासिल गरेको प्रगति आफैँमा उदाहरणीय छ । यसका साथै, उल्लेखित देशहरूले पर्यटनको संस्थागत विकासमा फड्को मारी सकेको अवस्थामा हाम्रो पर्यटनक्षेत्र सुषुप्त अवस्थामा रहनु गम्भीर सोचनीय विषय छ ।

यस्ता उदाहरणीय पर्यटन प्रवद्र्धन र विकासका कार्यबाट सकारात्मक सन्देश लिएर हामीले पनि संस्थागत विकासका आयामलाई किन व्यवस्थित रूपमा अघि नबढाउने ? हाम्रा पर्यटनसम्बन्धी नीतिगत कुराहरूमा थप ऊर्जा र लगानीको प्रतिफलरूपी गणनाअनुसारका कार्यमा तदारुकता आजको आवश्यकता हो ।

एकीकृत ग्रामीण पर्यटन विकासका कार्यकक्रमलाई समन्वयात्मक ढंगबाट ग्रामीण पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादन र कृषिजन्य उद्यमशीलता विकासका कार्यक्रमसँग जोड्दै अघि बढाइनुपर्दछ । जसले गर्दा महाभूकम्प पछिको ग्रामीण पर्यटन र आर्थिक विकासका आयाम अघि बढाउन सकिनेछ ।

पछिल्लो समयमा घरबास ग्रामीण पर्यटनको विकास र विस्तारले केही संस्थागत पाइला चालेको छ । यस सन्दर्भमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि अझ प्रभावकारी तथा पर्यटकमैत्री वातावरण निमार्णका दिशामा पहलकदमी आवश्यक छ ।

पर्या–पर्यटकीय गन्तव्यस्थलहरूमा पर्यटकका लागि सेवा र आतिथ्यता प्रदान गर्ने व्यवसायी तथा स्थानीय ग्रामीण जनताले तत् अनुकूलका पर्यटकमैत्री सेवा दिने दिशामा सचेत र इमानदारी साथ सेवासुविधाको वातावरणका लागि सोचौँ र गराै‌ । पर्या–पर्यटन, हिमाल आरोहण, पदयात्रा पर्यटन विश्वकै अति उत्कृष्ट गन्तव्य स्थल भएको तथ्य छर्लङ्ग नै छ ।

तसर्थ, यस्ता उत्कृष्ट गन्तव्यस्थलहरूको प्रचुर पर्यटकीय सम्भाव्यतालाई आत्मसात् गरी गुणात्मक र परिणाममुखी परिवर्तनका लागि पहल गरौँ । पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न निकायहरूको समन्वयात्मक कार्यले यसमा निकै महत्व राख्दछ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा सरकारी निकायले आफ्नो कार्यशैलीमा सामूहिक सुधार गरी अन्तर्राष्ट्रिय बजारीकरण र प्रवद्र्धनात्मक कार्यक्रम गर्नु आजको आवश्यकता हो । ग्रामीण पर्यटन तथा पर्या—पर्यटनका गन्तव्यस्थलहरूमा हाल पुर्याइ आएको सेवासुविधामा मौलिकपना दिने दिशामा पर्यटन व्यवसायीहरूले आकर्षक भ्रमण प्याकेज ल्याउन सक्नुपर्दछ ।

जस्तैः पर्यटकीय गाउँहरूमा स्थानीय जनताकै घरआँगनमा आतिथ्य सत्कारका कार्यक्रमलाई आकर्षक प्याकेज, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वाद पस्केर आतिथ्य सत्कारमा निखारता दिन सकिन्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन तथा घरबास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमुना लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, अन्नपूर्ण पदमार्ग सर्किटका विभिन्न बस्तीहरूलगायतका क्षेत्रमा विकास र प्रवद्र्धनका आयामलाई अझ फराकिलो गर्न सकिएको खण्डमा राम्रो हुने थियो ।

हाम्रा अगाडि गुणस्तरीय पर्यटन प्रवद्र्धनका थप चुनौतीहरू छन् । यी चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय बजारीकरण सञ्जाल तथा व्यावसायिक प्रवद्र्धनको क्षमता र कार्य कुशलताले मात्रै सकिन्छ ।

गुणस्तरीय सेवाको ग्यारेन्टी तथा पर्यटकहरूको चाहनालाई आत्मसात् गर्न सक्ने खालका भ्रमण प्याकेजहरू दिने दिशामा ट्राभल्स तथा टे्किङ एजेन्सीहरूले आफ्नो अधिकतम् क्षमताका साथ काम गरेको खण्डमा अवश्य पनि उत्साहजनक परिणाम हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया